३ असार २०८१ सोमबार
image/svg+xml
समाज

कालोपत्रे सडकमा कच्चीको भाडा

आरुघाट (गोरखा)– गोरखा–आरुघाट सडक र गोरखा–भच्चेक सडक कालोपत्रे भइसक्दा पनि यातायात ब्यवसायीले भने कच्ची कै भाडा असुलिरहेका छन्। ग्रामिण भेगमा यातायात संचालन गर्दै आएका ब्यवशायीले सडक कालोपत्रे र ग्राबेल भइसक्दा पनि भाडा भने कच्चीहुँदा अनुसार नै लिएको गुनासो यात्रुहरुको छ।

गोरखा सदरमुकामदेखि आरुघाट बजार सम्म करिब ४२ किलोमिटर सडकको भाडा दुई सय रुपैयाँ छ। यातायात ब्यवसायीले यो भाडा लिन थालेको २०७४ असोजदेखि हो। चार घण्टा लाग्ने आरुघाट सडकको बस यात्रा दुई घण्टामा झरेको छ। फिनाम–झिगटे हुँदै बगुवा सम्म सडक कालोपत्रे छ। तान्द्राङको बिच भागमा पनि कालोपत्रे गरिएको छ। करिब २० किलोमिटर सडक कालोपत्रे भएको छ। बाँकी सडक कालोपत्रेका लागि ठिक्का पारिएजस्तो ग्राबेल गरिएको छ। तर भाडा भने दुई वर्षअघिकै दुई सय छ। 

‘भिमसेन थापा गाउँपालिका बगुवाका स्थानीय कुविर पौडैलले भने ‘सडक पिच भयो, तर खै भाडा घटेन, हामीले ५० प्रतिशत धेरै भाडा तिर्नुपरेको छ।’ यातायात मजदुर र यात्रुबिच पाँच÷१० रुपैयाँ भाडामा पनि बिवाद हुने गरेको छ। मजदुरहरुले भाडादर नयाँ निर्धारण नभएको भन्दै कच्ची सडककै भाडा लिइरहेका छन्। स्थानीय ठाकुर भट्टले छ महिना पहिले र अहिले सडकको अवस्था फेरिएको बताउँदै भने ‘घ्याम्पेशाल पुग्न तीन घण्टा लाग्थ्यो, अहिले एक घण्टामा पुगिन्छ भाडा भने तीन घण्टाकै तिर्नुपर्छ।’

गोरखा–आरुघाट–आर्खेतको ४६ किलोमिटरको भाडा दुई सय ५५ तोकिएको थियो। आरुघाट सम्म दुई सय लिने ब्यवसायीले आरुघाटदेखि आर्खेत र सोतीसम्म एक सय ५० रुपैयाँ सम्म भाडा लिने गरेका छन्। यसअघि निर्धारण भएको भाडा आरुघाट माथि भने लागु भएको छैन। 

गोरखाको अधिकांश ग्रामिण रुटमा यातायात संचालन गर्दै आएको यातायात ब्यवशायी समिति गोरखाले  गोरखा–भच्चेक रुटमा पनि भाडा घटाएको छैन। ५८ किलोमिटर उक्त सडक खण्डको बाह«किलो हुँदै चोरकाटे सम्म कालोपत्रे यस अघि नै भइसकेको छ। अहिले प्रतिब्यक्ती दुई सय ५५ रुपैयाँ भाडा ब्यवसायीले लिँदै आएका छन्। चोरकाटेदेखि चित्रेपोखरी सम्मको करिब १५किलोमिटर सडक बाहेक त्यसमाथिको खण्ड पनि कालोपत्रे भएको छ। धारापानी सम्म पिच सडक छ। त्यहाँदेखि भच्चेक सम्म कालोपत्रे गर्न ठिक्क परिएको ग्राबेल सडक छ । पाँच घण्टा लाग्ने भच्चेक सडकको यात्रा तीन घण्टामा झरेको छ। दिनभरी गाडी फसेर हैरान हुने ब्यवसायीले पहिले जस्तो दुःख झेल्नुपरेको छैन। तर उनीहरुले भाडा कच्ची सडककै लिएर यात्रुलाई ठगिरहेका छन्।

यातायात ब्यवसायी समिति गोरखाले अहिले ग्रामिण रुटमा एक सय ४६ यात्रुबाहक बस संचालन गरिरहेको छ। दैनिक ७० वटा बस ग्रामिण भेगबाट चल्छन्। यात्रुबाहक बसले मात्रै होईन मालबाहक सवारी साधन, बोलेरो जिप, ट्रक, ट्याक्टर ट्रिपर लगायतका साधनले पनि कच्ची सडकै भाडा असुलेका छन्। प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले सडक कालोपत्रे भएपछि कच्ची सडकको भाडा लिनु ठिक नभएको बताए। ‘सर्वसाधारणलाई केही सहज, फाईदा हुनुपर्छ, सडक बनेपछि भाडा पनि समायोजन हुनुपर्छ, म अध्ययन अनुगमन गर्छु।’ 

प्रकाशित: १४ असार २०७६ ११:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App