१० कार्तिक २०८१ शनिबार
image/svg+xml
समाज

निर्मला हत्या अझै रहस्यमै

धनगढी - कञ्चनपुर भीमदत्त पन्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारसबैको ध्यान तानेको सो बलात्कार तथा हत्याकाण्डको रहस्य अझै गर्भमै छ। प्रहरीका विभिन्न अलग–अलग टोलीले निरन्तर र गहिरो ढंगले अनुसन्धान गरे पनि निर्मलाको बलात्कार र हत्या कसले ग¥यो भन्ने ‘क्लु’ नजिक प्रहरी अहिलेसम्म पुग्न सकेको छैन।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी र प्रहरीको टोलीले सो हत्याकाण्डबारे अनुसन्धान गरिरहेको छ। काठमाडौंबाट प्रहरी उपरीक्षक गणेश चन्दको टोलीले पनि अनुसन्धान गरिरहेको छ। ‘प्रहरीको अनुसन्धान शून्य वा एकैपटक शतप्रतिशत हुन्छ,’ सिआइबीका एक उच्चप्रहरी अधिकृतले भने, ‘अनुसन्धान जारी छ, सतप्रतिशत नभई त्यसका बारेमा बोल्नुको कुनै अर्थ हुँदैन।’ सिआइबीको प्रहरी निरीक्षक मदन गुरुङ इन्चार्ज भएर अनुसन्धानका लागि नयाँ टोली गएको उनले बताए।
निर्मला हत्यारा पत्ता लगाउनुपर्छ भन्ने आन्दोलन भने सेलाएको छ। निर्मलाको हत्यारा पत्ता लगाउन महेन्द्रनगरमा चर्किएको आन्दोलनका क्रममा शनी खुनाको मृत्यु भएको थियो भने केही घाइते भएका भएका थिए। निर्मलाका आमा र बुबाले प्रहरी प्रमुख, मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीसम्म भेटेर हत्यारा पत्ता लगाउन बिन्ती गरे। पीडित आमाबुबासहित आफन्तहरू चार महिनासम्म अनवरत धर्नामा पनि बसे। तर निकै चर्चा पाएको र सरकारले धेरै दबाब खेपेको निर्मला पन्तको हत्याको रहस्य भने ज्युँका त्युँ छ।

प्रहरीले आँखामा कालोपट्टी बाँधेर यातना दिएको र गाँजा भरेको चुरोट खान लाएर अपराध कबुल गर्न दबाब दिएको पक्राउ परेका पीडितको गुनासो।

निर्मला हत्याको अनुसन्धानमा लामो समय सक्रिय सिआइबीका एक प्रहरी अधिकारीले निर्मलाको हत्यारा पत्ता लगाउने अनुसन्धान गहनरूपमा भइरहेको बताएका छन्। ‘परिणाम नआउन्जेल त के भन्न सकिन्छ तर अनुसन्धान सन्तोषजनक ढंगले अघि बढिरहेको छ,’ उनले भने, ‘समय लागे पनि हत्यारा पत्ता लाग्छ।’ निर्मलाका वरपरका करिब तीन हजार घरमा गएर विवरण र जानकारी संकलन गर्ने काम भइरहेको उनले बताए। घटनापछि भारततिर गएका र चाडपर्वमा समेत घर नफर्केका व्यक्तिको विवरण संकलन गरेर अनुसन्धान गरिरहेको उनको भनाइ छ।
शंकास्पद व्यक्तिलाई निगरानीमा राखेर गतिविधि अध्ययन गर्ने, शंकास्पद व्यक्तिको डिएनए परीक्षण गर्ने भइरहेको प्रहरीले जनाएको छ। प्रहरीकहाँ पुगेर सूचना भन्न डराउने र देखेजानेको कोहीबाट केही जानकारी पाइन्छ कि भनेर प्रहरीले घरदैलो पनि गरिरहेको छ। कञ्चनपुरका प्रहरी उपरीक्षक दिनेश आचार्यले सबै कोणबाट अनुसन्धान भइरहेको बताए। ‘सबै कोणबाट अनुसन्धान जारी छ,’ उनले भने, ‘तर अहिलेसम्म भन्नलायक कुनै ठोस कुरा खुलेको छैन।’

प्रहरीले अहिलेसम्म अभियुक्तको विश्वसनीय ‘स्केच’ समेत बनाउन सकेको छैन। प्रहरीले सात–आठवटा स्केच बनाएको थियो। तर घटनामा एक वा दुई व्यक्तिमात्र संलग्न भएको हुनसक्ने भन्दै प्रहरी आफूले बनाएको स्केचमा विश्वस्त हुन सकेन। ‘हामीले तीन महिनाअघि बनाएको स्केचअनुसार केही व्यक्ति समातेर पनि अनुसन्धान ग¥यौं,’ एक अनुसन्धान अधिकारीले भने, ‘स्थानीयको बयानलगायत आधारमा स्केच बनाए पनि ती संलग्न देखिएनन्।’
निर्मलाका बुबा यज्ञराज पन्त छोरीको हत्या भएको ११ महिना हुँदा पनि हत्यारा पत्ता नलागेको भन्दै निराश छन्। ‘हामी गरिब मान्छे लामो समय संघर्ष गर्दा बिरामी परियो तर न्याय पाइएन,’ उनले भने। छोरीको न्यायका लागि कात्तिक २५ देखि फागुन १० गतेसम्म जिल्ला प्रशासन कार्यालयअगाडि अनवरत रूपमा उनी, निर्मलाकी आमालगायत आफन्त धर्नामा बसेका थिए। निर्मलाका आमा दुर्गादेवी पन्तले छोरीको हत्यारा पत्ता लाग्ने कुराको आशा मारिसकेको बताइन्। ‘११ महिना बितिसक्यो, अब त छोरीको हत्यारा पत्ता लगाउलान् भनेर आस नै मरिसक्यो,’ उनले भनिन्।

नागरिक समाज कञ्चनपुरका अध्यक्ष भवराज रेग्मी निर्मलाको हत्यारा पत्ता लगाउनुपर्छ भन्ने न्यायप्रेमी नेपालीको माग यथावत् रहेको बताउँछन्। निर्मला पन्तको हत्यारा अहिलेसम्म पत्ता नलाग्नुको रहस्यबारे टिप्पणी गर्दै उनले केही व्यक्ति र केही महिला अधिकारकर्मीले निर्मलाको न्यायको आन्दोलनलाई व्यक्तिगत स्वार्थ र राजनीतिक फाइदा उठाउन उपयोग गरेका कारण पछिल्लो दिनमा निर्मलाको हत्यारा पत्ता लगाउनुपर्छ भन्ने आन्दोलन कमजोर भएको बताए।
अनुसन्धानका क्रममा प्रहरीले करिब चार हजार कल–डिटेल अध्ययन र दुई सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ। साउन १० गते घरबाट डेढ किलोमिटर दूरीमा रहेको साथी रोशनी बमको घरमा विज्ञान विषयको गृहकार्य गर्न गएका बेला उनी हराएकी थिइन्। छोरी घरमा नआएपछि त्यसै दिन साँझ खोजी गरिदिन निर्मलाकी आमाले गरेको आग्रह प्रहरीले अटेर गरेको थियो। दोस्रो दिन साउन ११ गते उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो। स्थानीय र आफन्तले सुरुदेखि नै हत्यारा पत्ता लगाउन माग राख्दै प्रदर्शन गरेका छन्। भदौ ४ गते भीमदत्त नगरपालिका–१९ का दिलिपसिंह बिष्टलाई प्रहरीले दोषी भन्दै सार्वजनिक गरेपछि उनी निर्दोष भएको र दोषीलाई बचाउन उनलाई फसाउन लागेको भन्दै स्थानीयले आन्दोलन चर्काउँदा भदौ ७ र भदौ ८ गते प्रहरीले गोली चलेर एकजनाको मृत्यु भएको थियो भने कयौं घाइते भएका थिए। पछि डिएनए मेल नखाएपछि दिलिपसिंह रिहा भएका थिए। घटनालगत्तै प्रहरीले फिंगर प्रिन्ट, फुट प्रिन्ट, रौं, रगत वा कुनै प्रमाण पनि संकलन गरेन। निर्मलाको शरीरमा भएको लुग समेत जलाइएको थियो। निर्मलाको भेजाइनल स्वावमा शुक्रकिटको अवशेष फेला परेर डिएनए प्रोफाइल बनेकाले यो मात्र एक प्रमाण रहेको छ।

प्रमाण नष्ट गरेको भन्दै तत्कालीन एसपी डिल्ली बिष्ट र इन्सेपेक्टर जगदीश भट्ट भविष्यमा अयोग्य नहुने गरी जागिरबाट बर्खास्त गरिएको छ भने अन्य ६ जना निलम्बनमा परेका छन्। तत्कालीन एसपी बिष्टसहित आठ प्रहरीविरुद्ध जिल्ला अदालतमा फौजदारी अपराध संहिता अनुसार प्रमाण नष्ट गरेको मुद्दा भने विचाराधीन छ।
यातनाविरुद्धको उजुरी प्रहरीले दर्ता गरेन

निर्मला हत्याको अनुसन्धानका क्रममा पक्राउ परेका विशाल चौधरीलाई यातना दिएको भन्दै चार प्रहरीविरुद्ध दिइएको जाहेरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दर्ता गरेन। विशालका बुबा वीरबहादुरले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी कुबेर कडायत, डिएसपी कृष्ण ओझा र दुईजना प्रहरी जवानविरुद्ध गत बिहीबार र शुक्रबार जिल्ला प्रहरी कार्यालयमा जोहरी दिएका थिए। प्रहरीले जाहेरी दर्ता नगरेको वीरबहादुर चौधरीले बताए। प्रहरीले जाहेरी दर्ता नगरेपछि फौजदारी अपराध संहिताअनुसार वीरबहादुरले शुक्रबार नै प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै सरकारी वकिल कार्यालयमा उजुरी दिएका थिए।
‘शुक्रबार प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै सक्कल जाहेरीसहित उजुरी निवेदन हामीकहाँ आयो,’ सरकारी वकिल देवराज भारतीले भने, ‘मुलुकी फौजदारी अपराध संहिताअनुसार प्रहरीकहाँ लेखेर पठायौं।’ प्रहरीले शुक्रबार नै ६ महिना अभियोग म्याद नाघेकाले दर्ता गर्न नमिल्ने भन्दै जवाफ फर्काएको उनले बताए। प्रहरीले सो जाहेरी न नियमानुसार दरपिठ गरेको छ, न दर्ता गरेको छ। प्रहरी उपरीक्षक आचार्यले म्याद समाप्त भएको र कुनै आधार नभएकाले जाहेरी दर्ता नगरिएको बताए।

घटनाको अनुसन्धानका क्रममा १६ दिन प्रहरी हिरासतमा रहेका विशाललाई प्रहरीले अपराध कबुल गराउन धेरै यातना दिएको वीरबहादुरको आरोप छ। विशाललाई प्रहरीले मंसिर १९ गते पक्राउ गरी २० गते अनुसन्धानका लागि काठमाडौं पठाएको थियो। पक्राउ परेकै दिन प्रहरीले आँखामा कालोपट्टी बाँधेर यातना दिएको विशालले बताएका छन्। प्रहरीले गाँजा भरेको चुरोटसमेत खान लाएर अपराध कबुल गर्न दबाब दिएको उनले बताए।
केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंमा प्रदीप रावललाई पक्राउ गरेपछि उनकै बयानका आधारमा भीमदत्त नगरपालिका–१८ भगतपुरका विशाल चौधरी र अर्का आरोपित दिनेश चौधरीलाई प्रहरीले पक्राउ गरी काठमाडौं पठाएको थियो।

प्रकाशित: १२ असार २०७६ ०३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App