१० कार्तिक २०८१ शनिबार
image/svg+xml
अर्थ

वीरगञ्ज नाकाबाट सवारीसाधन आयातमा कमी

वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीसाधन आयातमा कमी आएको छ। गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा चारपाङ्ग्रे सवारीसाधनको आयात ६० प्रतिशतले कमी आएको हो। वीरगञ्ज नाका हुँदै पेट्रोलियम पदार्थ र विद्युतीय सवारीसाधन दूवैको आयातमा कमी भएको छ।

चालु आवको असोज मसान्तसम्म  ४० करोड ४७ लाख ६३ हजार मूल्यपर्ने दुई सय १५ वटा जीप, कार र भ्यान आयात भएका छन् । गत आवको सोही अवधिको तुलनामा चालु आवको सोही अवधिमा ६६ दशमलव ०९ प्रतिशतले घटेको हो। राजस्व सङ्कलनका आधारमा भने ४९ दशमलव ९३ प्रतिशतले कमी भएको हो।

वीरगञ्ज भन्सार कार्यालय प्रमुख दीपक लामिछानेले चारपाङ्ग्रे सवारीसाधन वीरगञ्ज नाकाभन्दा अन्य नाकाबाट भित्र्याउने क्रम बढेको बताए।‘व्यवसायीले  जुनसुकै नाकाबाट सवारीसाधन भित्र्याए पनि समग्रमा राजस्व मुलुकभित्रै भित्रिने हो,’’ उहाँले भने, ‘‘चालु आवको साउन र भदौ महिनाको तुलनामा वीरगञ्ज भन्सार कार्यालयले सङ्कलन गर्ने समग्र राजस्वमा वृद्धि भएको छ।’’ 

गत आवको तीन महिनामा ९० करोड ५७ लाख १६ हजार मूल्यपर्ने छ सय ३४ वटा जीप, कार र भ्यान आयात गरिएको थियो । पेट्रोलियम पदार्थबाट चल्ने चारपाङग्रे सवारीसाधन मात्र नभएर गत आवको तीन महिनामा चालु आवको सोही अवधिमा विद्युतीय कार, जीप र भ्यानको आयातमा कमी आएको हो।

चालु आवको तीन महिनामा वीरगञ्ज नाकाहुँदै रु नौ करोड ७७ लाख ९० हजार मूल्यपर्ने ६७ वटा मात्रै विद्युतीय कार, जीप र भ्यान आयात भएको छ। प्रमुख भन्सार प्रशासक लामिछानेले विद्युतीय सवारीसाधन वीरगञ्ज नाकाको तुलनामा उत्तरी नाकाबाट धेरै भित्रिने गरेको बताए।

गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा विद्युतीय सवारीसाधनको आयात परिमाणको हिसाबले ६४ दशमलव ७४ प्रतिशतले घटेको हो । सोही अवधिमा विद्युतीय सवारीसाधनको आयातबाट हुने राजस्व सङ्कलनमा ५९ दशमलव ६७ प्रतिशतले कमी आएको छ। गत आवको सोही अवधिमा रु ३५ करोड नौ लाख ९४ हजार मूल्यपर्ने एक सय ९० वटा विद्युतीय सवारीसाधन आयात भएको थियो।

चालु आवको तीन महिनामा  सात करोड ३२ लाख १७ हजार मूल्य पर्ने ३२ वटा ट्रक र मिनि ट्रक आयात भएको छ। गत आवको तुलनामा ६३ दशमलव ६४ प्रतिशतले आयात घटेको हो। गत आवको सोही अवधिमा ट्रक र मिनि ट्रक  २० करोड १३ लाख १२ हजार मूल्य पर्ने ८८ वटा भित्रिएका थिए । चालु आवको तीन महिनामा पिकअप तथा डेलिभरी भ्यानको आयात पनि घटेको छ। चालु आवको तीन महिनामा  नौ करोड ७५ लाख तीन हजार मूल्य पर्ने ६८ वटा पिकअप तथा डेलिभरी भ्यान आयात भएको छ।

गत आवको सोही अवधिको तुलनामा चालु आवको सोही अवधिमा पिकअप तथा डेलिभरी भ्यानको आयात ६३ दशमलव ६४ प्रतिशतले घटेको हो। गत आवको सोही अवधिमा रु १४ करोड १५ लाख मूल्यपर्ने एक सय ३२ वटा पिकअप तथा डेलिभरी भ्यानको आयात भएको थियो।

प्रकाशित: ९ कार्तिक २०८१ २२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App