२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

पर्यटन प्रवर्द्धनका लागि सांस्कृतिक सङ्ग्रहालयको व्यवस्था गरिने

भक्तपुर – आन्तरिक आम्दानीको प्रमुख स्रोतको रुपमा रहेको पर्यटन उद्योगको प्रवद्र्धनका लागि भक्तपुर नगरपालिकाले सांस्कृतिक सङ्ग्रहालयको स्थापना गर्ने भएको छ। नगरपालिकाको चालू पाँचौँ नगरसभाले आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम पारित गर्दै पर्यटन उद्योगको प्रवद्र्धनको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने नीतिअनुरुप भक्तपुरको जीवनशैली, रहनसहन र संस्कृति झल्किने सांस्कृतिक सङ्ग्रहालयको स्थापना गर्ने नीति लिएको हो।

पारित गरेको नीतिमा भक्तपुरलाई आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्यस्थल बनाउने लक्ष्यसहित भक्तपुर महोत्सवको आयोजना गर्ने उल्लेख गरिएको छ। नगरपालिकाले भक्तपुर आउने पर्यटकको सुविधाको लागि पर्यटकीय क्षेत्रमा स्तरीय शौचालय, हरियाली प्रवद्र्धन, परम्परागत गाईजात्रा मार्गलाई पर्यटन पैदल मार्गको रुपमा विकास गर्न आवश्यक पूर्वाधार तयार गर्ने, पर्यटकको बसाई लम्ब्याउनका लागि साँझको समयमा ठाउँ ठाउँमा सांस्कृतिक गतिविधि सञ्चालनको व्यवस्था मिलाइने र सांस्कृतिक प्रदर्शनी केन्द्र स्थापना गर्ने, पर्यटक प्रहरीको प्रभावकारी परिचालन गरी भक्तपुरलाई सुरक्षित पर्यटकीयस्थल बनाउन पहल गर्ने नीति लिएको छ।

त्यसैगरी भक्तपुरका मौलिक उत्पादन कालो टोपी, जुजु धौ, हाकुपतासी, ताइचिन चिउराजस्ता घरेलु तथा साना उद्योगलाई वातावरणमैत्री ढङ्गबाट प्रोत्साहित गर्न विभिन्न गतिविधि अगाडि बढाइने भएको छ।  स्थानीय युवालाई चिनियाँ, जापानी, अङ्ग्रेजी, फ्रान्सेली, स्पेनिस भाषालगायत विदेशी भाषाको प्रशिक्षण दिने, र नगरवासीलाई घरवास सञ्चालनसम्बन्धी तालीम दिने नीति तथा कार्यक्रममा उल्लेख छ। पर्यटकको सुविधाको लागि उपयुक्त स्थानमा पर्यटक बसपार्कको व्यवस्था गर्ने, सहकारी र स्थानीय जनताको सहभागितामा गुणस्तरीय पर्यटकीय होटल सञ्चालन गर्न सहकारी संस्थालाई उत्साहित गर्ने नीतिसमेत भक्तपुर नगरपालिकाले लिएको छ।

पर्यटन उद्योगलाई टेवा पु-याउन भक्तपुर नगरपालिकाले सम्पदा र संस्कृति संरक्षणमा समेत विशेष जोड दिएको छ। पारित नीति तथा कार्यक्रममा भक्तपुर दरबार क्षेत्र वरिपरिको ऐतिहासिक ९९ चोक तथा जगन्नाथ मन्दिर क्षेत्रको उत्खननको अध्ययन कार्यलाई अगाडि बढाउने, गाईजात्रामा प्रस्तुत हुने घिन्ताङ्घिसी, परम्परागत र आधुनिक विधाका नृत्य, नाटक तथा ख्याली र कुनै पनि सांस्कृतिक विधालाई प्रतियोगितात्मक मूल्याङ्कन गरी पुरस्कारको व्यवस्था गरिने भएको छ।

परम्परागत बाजा तथा विभिन्न सांस्कृतिक विधा नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रशिक्षण दिने टोलीलाई मूल्याङ्कनको आधारमा सहयोग गर्ने, सांस्कृतिक, पुरातात्विक महत्व बोकेका पाटी–पौवा, ढुङ्गेधारा, पोखरी, इनार, सत्तल, द्योछेंलगायतका सम्पदाको संरक्षणलाई निरन्तरता दिँदै ती सम्पदा पुनःनिर्माण वा जीर्णोद्धार गर्दा अध्ययन अनुसन्धानको साथै मौलिक शैलीलाई जोड दिने, सम्पदा संरक्षित क्षेत्रको निश्चित सीमा तोकी सांस्कृतिक क्षेत्र घोषणा गर्ने नीतिसमेत लिएको छ।रासस

प्रकाशित: १० असार २०७६ ०७:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App