७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

'निर्मला पन्तको हत्यारा खोजी जारी'

काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको हत्यारालाई कानुनी कठघरामा ल्याउने प्रयास जारी रहेको बताएका छन्। प्रतिनिधिसभामा सांसदको प्रश्नको उत्तर दिँदै गृहमन्त्री थापाले अपराधीको नजिक पुगेको भने अझै संकेत गरेनन्। गत साल साउन १० गते कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। उनले सुन तस्करी रोक्न एअरपोर्टमा तस्करको सञ्जाल तोडिएको पनि दाबी गरे। ‘एअरपोर्टबाट अहिले अवैध सुन आएको छैन,’ उनले भने।

गृहमन्त्री थापाले सिमाना व्यवस्थाका लागि सिमानामा जोडिएका जिल्लाका प्रमुख जिल्ला अधिकारी र छिमेकी अधिकारीसँग सिमा व्यवस्थापनका विषयमा छलफल भइरहेको बताए। सीमा सुरक्षा प्रभावकारी तुल्याउन २० स्थानमा १०७ र थप २५ ‘विओपी’ स्थापना गरिने उनले बताए। उनले सीमा क्षेत्रमा जुम क्यामेराको जडान गरी निगरानी गरिने बताए। मुलुकभर नयाँ प्रहरी चौकी स्थापना गर्न लागिएको र माग र विश्लेषणपश्चात प्रहरी एकाइ बढाउँदै लगिने उनले बताए। नयाँ भवन र पूर्वाधार निर्माण गर्न बजेट प्रस्ताव गरिएको उनको भनाइ थियो। नेपाल प्रहरीतर्फ ३९ करोड ६४ लाख छुट्याइएको उनले बताए। द्वन्द्वपीडितका लागि ६ करोड बजेट छुट्याइएको र नयाँ कारागार भवन निर्माणका लागि ४६ करोड बजेट छुट्याइएको उनले बताए।

संसदमा ‘गलबन्दी’को चर्चा
हालै बजारमा आएको ‘गलबन्दी च्यातियो‘ बोलको गीत करोडौं जनताले मन पराइरहँदा त्यसविरुद्ध मुद्दा हालिएको भन्दै सांसदले आपत्ति जनाएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले गायक प्रकाश सपुत र शान्तिश्री परियारले गाएको ‘गलबन्दी च्यातियो’ बोलको गीतले नेपालको मौलिक संस्कृति समृद्ध बनाउने काम गरेको बताए।

गायक शम्भु राईले ‘गलबन्दी’ को लय आफ्नो एल्बम देउसीभैलोको ‘आउ नाचौं साथी हो...’ बोलको गीतसँग मिलेको दाबी गर्दै आएका छन्। दुईवटा गीतको लय एकअर्कामा मिले नमिलेको विवाद भइरहँदा सांसद विश्वकर्माले ‘गलबन्दी च्यातियो’ राईको गीतसँग नमिलेको दाबी गरेका छन्। उनले भने, ‘लोकभाकाको नक्कल वा चोरी हुँदैन। संसारभरि नेपाली मनले मात्रै होइन विदेशी मनले पनि यही धुन गुनगुनाइरहेका छन्। उनीहरूलाई उच्च सम्मान गर्नुपर्नेमा सत्तारुढ दलकै भातृसंस्थामा आवद्ध कलाकार शम्भु राईले मेरो लय नक्कल गरेको भनी मुद्दा हालेछन्।’ राई र उनका मतियारले सामाजिक सञ्जालको दुरुपयोग गरी प्रकाश सपुतलाई जातीय भेदभावका दृष्टिले अति नीच गालीगलौज गर्ने काम गरेकाले साइबर कानुन, जातीय छुवाछुत तथा कसुर सजाय ऐनबमोजिम कारबाही गर्नुपर्ने उनले माग गरे।

रारामा केवल कारा नियमविपरीत: थापा

यसैगरी नेपाली कांग्रेसका सांसद गगन थापाले रारा तालमा केवलकार सञ्चालन गर्ने कुराले प्रकृति दोहन हुने भन्दै प्रकृति संरक्षण गर्नुपर्ने बताए। कानुनविपरीत मन्त्रीले कार्यविधिमा नयाँ परिभाषा गरेर केवलकार सञ्चालन गर्न लागेको भन्दै त्यसको विरोध गरे। ‘केही साहुको चाहना होला तर, त्यसले समग्रमा राष्ट्रको नोक्सानी हुन्छ,’ उनले भने, ‘संसद्ले बनाएको कानुनमा हस्तक्षेप गर्ने गरी मन्त्रीले कार्यविधि बनाउन मिल्दैन त्यसलाई खारेज गर्नुपर्दछ।’ संसदको अधिकार क्षेत्रमा २४ प्रतिशत असर पर्नेगरी कार्यविधि बनाइएको उनले बताए।

सिरिन्ज आक्रमणकारीमाथि कारबाहीको माग

राजधानीमा महिलामाथि सिरिन्ज रोप्ने जस्ता अपराधिक कार्य भइरहेको भए पनि कुनै कारबाही नभएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा कांग्रेस सांसद डिला संग्रौलाले महिलामाथि सिरिन्ज आक्रमण गर्ने प्रवृति बढेकोले आक्रमणकारीलाई कारबाही गर्न माग गरिन्।

यसैगरी, नेकपाकी सांसद् नवीना लामाले पनि महिलामाथि सिरिन्ज आक्रमण गर्ने कार्य भइरहेकोले यस्ता अपराधीलाई कारबाही गर्न आग्रह गरिन्। उनले बौद्धमा समता अस्पतालमा काम गर्ने विमला लामाको मृत्युको विषयमा पनि सत्य तथ्य बाहिर ल्याउनुपर्ने उनले बताइन्। यसैगरी, सांसद पार्वती डिसि चौधरीले पनि विमला तामाङको मृत्युबारे अनुसन्धान हुनुपर्ने बताइन्।

प्रकाशित: १० असार २०७६ ०१:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App