२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

प्रधानमन्त्री रोजगार कार्यक्रमः युवा वर्गमा अवसर र उत्साह

काभ्रेपलाञ्चोक– दश वर्ष मलेसियामा काम गरी फर्किएका मण्डनदेउपुर नगरपालिका–३ नयाँगाउँका सन्तबहादुर तामाङ यतिबेला गाउँमा नै काम गरिरहेका छन्। मलेसियामा श्रम गरेर फर्किएका उनले भने ‘पैसा कमाउन नसकेको र श्रममात्रै गरेर खालीहात फर्कन बाध्य हुनु भएको थियो।’ हाल उनी नगरपालिकाले तोकिएको मापदण्डअनुसारको सडकको सीमाङ्कन तथा मर्मत गर्ने काममा अवसर पाएपछि यतिबेला सोही काममा व्यस्त रहेका छन्। 

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अभियान सञ्चालन गरेपछि उनी नगरपालिकामा सञ्चालन भएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम, कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना’ अन्तर्गत सो काममा खटिएकम छन्।

‘विदेशमा गएर ५० किलोको बोरा पनि तान्नुपथ्र्यो, ३०० किलोको ड्रम पनि गुडाउनु पथ्र्यौ, गाउँघरमै यस्तो काम पाइनु हाम्रा लागि राम्रो हो। यस्ता कामलाई निरन्तरता दिएमा झनै राम्रो हुन्थ्यो।’, तामाङले भने, ‘विदेशमा भन्दा आफ्नो परिवारसँगै बसेर काम गर्न पाउने अवसर र वातावरण सरकारले गरिदिन आवश्यक छ ।’

अर्का स्थानीयवासी रामबहादुर गुरुङले श्रम गर्नेका लागि कार्यक्रम राम्रो भए पनि आम युवावर्गको लागि आकर्षणको क्षेत्र नदेखिएकाले त्यसलाई अलि परिमार्जन गरेर अभियान सञ्चालन गर्न आवश्यक रहेको बताए। ‘हामी त जे काम गर्न पनि तयार छौँ, तर पछिल्ला समयका युवा पढेर कि जागिर नै खाने कि त विदेश नै जाने भन्ने उनीहरुको लक्ष्य नै हुने भएकाले त्यस्तालाई पनि यही काम गरेर केही गर्न सकिन्छ भन्ने खालको कार्यक्रम पनि ल्याउन आवश्यक छ।’ उनले भने।

उता बेथानचोक गाउँपालिका–४ पार्थलीका अनु श्रेष्ठले आफ्नो गाउँको विकासको लागि सबै साथीहरु मिलेर काम गर्न पाउँदा खुशी लागेको बताए। कक्षा १२ को परीक्षा सकाएर बसेका उनी काम गरेर पैसा पनि पाउने र विकास पनि हुने भएकाले श्रम गर्नुपर्दा पनि निकै खुशी भएको बताउछन्।

अर्का स्थानीयवासी निलम श्रेष्ठले आफ्नै गाउँठाउँमा भएको पर्यटकीय क्षेत्रको विकासको काममा सहभागी हुन पाउँदा काम पनि हुने र रोजगार पनि मिल्ने भएकाले आफूलाई उत्साहित बनाएको बताए। एसएलसी पास गरी गाउँमा खेतीपातीको काम गर्दै आएका उनले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँको पर्यटकीय गुम्बुडाँडामा जाने सिंढी निर्माणको काम पाएका छन्। 

जिल्लाको पाँचखाल नगरपालिका, बेथानचोक गाउँपालिका, नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकामा सो अभियान सञ्चालन भइरहेको छ। बेरोजगार मान्छेलाई छोटो अवधिको लागि रोजगार प्रदान गर्ने गरी सञ्चालन भइरहेको कार्यक्रम अन्तर्गत स्थानीय तहले असार मसान्तभित्रमा सकाउने गरी रोजगारमा लगाउने अभियान सञ्चालन भइरहेको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकामा ६० जना, बेथानचोक गाउँपालिका वडा नं ४ मा १६ जना र नमोबुद्ध नगरपालिकामा ८० जनाले श्रममा आधारित रोजगार कार्यक्रममा सहभागिता जनाइरहेको छन्। जसअन्तर्गत मण्डनदेउपुर नगरपालिकाले तोकिएको मापदण्डअनुसारको सडकको सीमाङ्कन तथा मर्मत, विद्यालय परिसरको काम, सिँचाइ र खानेपानी मुहान मर्मतलगायतका काममा लगाइने जनाएको छ।रासस

प्रकाशित: ९ असार २०७६ ०६:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App