काठमाडौं - समता अस्पताल सञ्चालक उत्तम सञ्जेलले आफूलाई अन्याय भएको बताएका छन्। बौद्धस्थित समता अस्पताल तोडफोड गर्नुका साथै मृतक विमला तामाङका आफन्तले अस्पतालले हत्या गरेको आरोप लगाएपछि आफूमाथि अन्यायमा परेकोे उनले बताएका हुन्।
उक्त अस्पतालकी सरसफाई कर्मचारी रामेछापकी २७ वर्षीया विमला तामाङको शव गत मंगलबार अस्पतालभित्र झुण्डिएको अवस्थामा भेटिएको थियो। मृतकका आफन्तले अस्पतालले मारेको आरोप लगाउँदै मंगलबार अस्पताल तोडफोड गरे। आफन्तले पटक–पटक आन्दोलन गरेपछि अहिले पनि अस्पताल सञ्चालनमा आउन सकेको छैन। शव पोस्ट मार्टममा झुण्डिएर मृत्यु भएको रिपोर्ट आइसकेको छ। तर, पनि आफन्तले भने अस्पताललाई आरोप लगाउँदै दबाब दिइरहेका छन्।
मृतकका आफन्तले अस्पतालले मारेको आरोप लगाएर दबाब दिएपछि अन्यायमा परेको सञ्जेल बताउँछन्। ‘हाम्रै अस्पतालको कर्मचारीलाई कसरी मार्न सक्छौँ। हामीले मार्ने नै भए किन सुसाइड नोट दिन्थ्यौं र ?,’ उनले भने, ‘पोस्टमार्टममा आफै झुण्डिएर मृत्यु भएको भन्ने रिपोर्ट आइसकेको छ। मृतकका आफन्तले अस्पतालले मारेको भनेर आरोप लगाइरहेका छन्। हामीले मार्ने केही कारण छैन। रिपोर्ट आइसक्दा पनि अस्पतालका कर्मचारी प्रहरीको हिरासतमै छन्। सामाजिक सेवा दिँदै आइरहेको अस्पतालमा मृतकका आफन्तले तोडफोड गरेका छन्। लाखौंको क्षति भएको छ। मलाइ अन्याय भएको छ।’
सामाजिक कार्य गर्ने उद्देश्य लिएर अघि बढेकाले कुनै पनि ढंगले अस्पतालले उनलाई मार्न नसक्ने उनले बताए। उनका अनुसार तामाङ झुण्डिएको कोठालगायत अन्य कोठा प्रायः खाली नै हुन्छ। उक्त समयमा त्यहाँकै कर्मचारीहरुले लुगा धुने गर्छन्। सुत्नलाई पनि छुट्टै कोठा छ। ‘कोठाहरु १ देखि २ बजेसम्म खाली नै हुन्छ,’ उनले भने, ‘आफैंभित्र झुण्डिएर मर्दा बाहिरबाट झुक्किएर कर्मचारीले ताल्चा पनि लगाउन सक्छन्। अस्पतालसँग राम्रै सम्बन्ध थियो। आफ्नै स्टाफको मृत्यु हँदा दुःख लाग्छ।’ अस्पतालकै कर्मचारी मर्दा पनि सहानुभूति दिन नपाएको भन्दै उनले दुखेसो पोखे।
‘मृतकको श्रीमानसँग कुरा गर्ने मन छ। उहाँहरुलाई सहयोग गर्ने मेरो मनसाय छ,’ उनले भने, ‘अस्पतालले मारेको भनेर आफन्तले नकारात्मक सोचिरहेका छन्। अस्पतालले केही गलत नगरेकाले मैले न्याय पाउनुपर्छ। गल्ती गरे सजाय भोग्न तयार छु। एक दिन सत्यको जीतको हुन्छ। यही विषयले गर्दा अस्पताल चल्न सकेको छैन। घटनाले गर्दा समता स्कुलको पठनपाठन पनि केही दिन प्रभावित भएके थियो।’ उनका अनुसार मृतकका आफन्तले सञ्जेल पत्नीलाई रिसेप्सनमै थुनेर कुटपिट र आगजनी गर्न खोजेका थिए। मउतकको आफन्तले प्रहार गरेको गमलाले लाग्दा उनी घाइते भएकी छिन्। मृतकले काम गरेको तलब नपाएको हल्ला भए पनि १५ दिनको दिइसकेको र अरु तलब दिने तयारीमा रहेको उनले बताए।
एक सय रुपैयाँमा अंग्रेजी माध्यममा नर्सरीदेखि स्नातकोत्तर तहसम्मको शिक्षा दिने समता स्कुल सञ्चालन गर्दै आएका सञ्जेल २० वर्षदेखि सामाजिक कार्यमा क्रियाशील छन्। सञ्जेल पत्नी कला सञ्जेल, क्लिनर तीर्थकुमारी श्रेष्ठ र रिसेप्सनिस्ट संगिता केसी प्रहरी चौकी गौशालामा छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले पोस्टमार्टममा झुण्डिएको रिपोर्ट आए पनि मृतकका आफन्तले किटानी जाहेरी गरेकाले हिरासतमै राखेको बताए।
‘पोस्टमार्टममा ह्याङगिङ भनेर रिपोर्ट आएको छ,’ उनले भने, ‘सुसाइड नोटमा म्याम र मृतकका आफन्तले किटानी जाहेरी गरेकाले अनुसन्धानको लागि हिरासतमै राखेका छौं। मृतकले अस्पतालले मारेको भनेर आरोप लगाएको छ। तर, अझै प्रमाण जुटेका छैनन्। अनुसन्धान जारी छ।’ उनका अनुसार सबै प्रमाण जुटेमा जिल्ला अदालतमा पेस गर्नुपर्ने भएकाले अदालतले नै यसको फैसला गर्ने देखिएको छ।
प्रकाशित: ९ असार २०७६ ०२:३८ सोमबार