५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

मलेसियामा दिलबहादुरको शव बेपत्ता

खोटाङ – झण्डै चार वर्षअघि मलेसियामा ज्यान गुमाएका एक नेपालीको शव बेपत्ताजस्तै बन्न पुगेको छ। २०७२ भदौ ३० गते मलेसियामा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङ भदौरेका दिलबहादुर मुग्रातीको शव हालसम्म बेपत्ता अवस्थामा छ।

मुग्रातीको शवलाई मलेसियामै ‘सदगद गरिसकिएको वा हालसम्म कुनै अस्पतालमा राखिएको छ’ भन्ने विषयमा परिवार तथा आफन्त बेखबर छन्। मृतकको शव लामो समयसम्म स्वदेश फर्काउने पहल नहुँदा मुग्राती परिवार थप पीडित छन्।

वैदेशिक रोजगारीको सिलसिलामा आयुष मेनपावरमार्फत् २०७० पुसमा मलेसिया गएका उनको अलस्का वातुतिगा भन्ने ठाउँको आइस केलाङ कम्पनी नजिकै काम गर्ने क्रममा मृत्यु भएको आफन्तले बताएका छन्। सम्झौताअनुसारको काम र दाम नपाएपछि अवैध बनेर काम गर्ने क्रममा विश्वकर्माको मृत्यु भएको तथा साथमा परिचय खुल्ने आवश्यक कागजात नभएकाले शव स्वदेश ल्याउन अप्ठ्यारो परेको सुरक्षित वैदेशिक रोजगारका क्षेत्रमा काम गरिरहेको आप्रवासी श्रोत केन्द्र दिक्तेलका परामर्शकर्ता सहरमान राईले बताए।

मृतकको शव स्वदेश फर्काउने पहलका लागि मृतकका आफन्तले २०७२ असोज ११ गते तत्कालीन सुरक्षित आप्रवासन परियोजनाको सूचना केन्द्र (हालको आप्रवासी श्रोत केन्द्र)मा निवेदन दिएका थिए। पीडित परिवारको निवेदनका आधारमा शव ल्याउने पहलका लागि प्रवासी समन्वय समिति समक्ष केस फरवार्ड गरेको भए पनि शवलाई स्वदेश फर्काउने पहल सफल नभएको परामर्शकर्ता राईले बताए।

‘दिलबहादुरको साथमा कुनै पनि डकुमेन्ट रहेनछ, शव अस्पतालमा पु-याए पनि कुन कम्पनीमा काम गर्थे भन्ने खुलेनछ, कुनै कम्पनीले जिम्मा पनि लिएन छ,’ परामर्शकर्ता राईले भने, ‘अस्पतालले दूतावासलाई खबर गरेछ, परिवारसम्म खबर त आइपुग्यो तर शव अहिलेसम्म आइपुगेको छैन।’

आफन्तका अनुसार शव नेपाल फर्काउनका लागि धेरै रकम चाहिने र पठाउने जोहो गर्न भन्दै परिवारलाई खबर आएको थियो। कमजोर आर्थिक अवस्था भएकाले परिवारबाट शव ल्याउन रकम पठाउन सम्भव थिएन। केही समयपछि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले नै दिलबहादुरसहित चार नेपालीको शव ल्याउनका लागि खर्च पठाइदिने खबर मुग्राती परिवारलाई प्राप्त भयो। तर, शव नआउँदा आशा निराशामा परिणत भएको मुग्राती परिवारको गुनासो छ। लामो समयसम्म शव नल्याइएपछि पुनः दूतावासमा सोधखोज गर्दा परिवारको अनुमतिमा शव मलेसियामै सद्गद् गरिसकिएको जवाफ आएको आफन्तको भनाइ छ।

परिवारका अनुसार सुरुमा दिलबहादुर किङ हवा कम्पनीमा गएका थिए। उनको मृत्यु भएको केही समयपछि श्रीमतीले दोस्रो विवाह गरिन्। तीन छोराको बिचल्ली भएको वडा सदस्य अनुप राईले बताए। उनीहरू हाल हजुरबा÷हजुरआमाको आश्रयमा बसिरहेका छन्। उनीहरूको लालनपालन र शिक्षादिक्षामा समस्या परिरहेको मुग्राती परिवारको गुनासो छ।

प्रकाशित: ८ असार २०७६ ०८:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App