६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पर्वतारोहण संघको अत्याधुनिक भवन तयार

काठमाडौं–पर्वतारोहणसम्बन्धी व्यवसायीहरुको छाता संगठन नेपाल पर्वतारोहण संघ (एनएमए) को आफ्नै भवन तयार भएको छ। विगत तीन वर्षदेखि मासिक एक लाख ३५ हजार भाडामा कार्यालय सञ्चालन गर्दै आएको संघले नयाँ केन्द्रीय सचिवालयको अत्याधुनिक भवन बनाएको हो।

आगामी साउनदेखि नयाँ भवनमा कार्यालय हुने संस्थाका प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्दुराकारले जानकारी दिए। सङ्घले पुरानो भवन रहेको १४ आना जग्गामा सरकारी मापदण्डअनुरुप सुविधासम्पन्न भवन बनाएको छ। मूल्य अभिवृद्धि करसहित आठ करोड ८१ लाख १६ हजार रुपैयाँ लागतमा बनेको साढे पाँचतले भवनको भुइँतला र पहिलो तला व्यावसायिक प्रयोजनमा दिइने प्रमुख प्रशासकीय अधिकृत सिन्दुराकारको भनाइ छ।

बैठक हल, लाइब्रेरी, पर्वतारोहण प्रशिक्षक हल, सम्मेलन कक्ष रहने भवन अहिले बनिरहेका समकालीन भवनमध्येको उत्कृष्ट भवन बनेको संघले दाबी गरेको छ। आर्थिक रुपमा सबल बनाउने उद्देश्यले भवनका केही तला भाडामा दिन लागिएको जनाइएको छ। पिक व्यवस्थापनमा केही कटौती भएपछि संघले आत्मनिर्भरताका लागि पनि व्यावसायिक प्रयोजनमा भाडामा दिन लागेको जनाएको छ।

अहिले पिकको रोयल्टी ४५ प्रतिशत मात्र खर्च गर्न पाउने प्रावधान छ। संघको पोखरा सचिवालय पनि आफ्नै भवनमा छ। काठमाडौँमा १२ र पोखरामा २२ जना कर्मचारी छन्। संघले पाँच हजार आठ सय मिटरदेखि ६ हजार पाँच सय मिटरसम्मका २७ वटा चुली ‘पिक’ व्यवस्थापन गर्दै आएको छ। थप पिक व्यवस्थापनका लागि पनि पहल गरिएको संस्थाले जनाएको छ। रासस

प्रकाशित: ७ असार २०७६ ०६:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App