८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

पैसाका लागि हत्या !

हत्या भएकी सुजता तामाङ।

पाँचथर–मंगलबार साँझ युवतीको शव फेला परेको सनसनीपूर्ण खबर फैलियो। हिलिहाङ गाउँपालिका–६, चित्रे भन्ने ठाउँमा युवतीको हत्या गरी शव फालिएको अवस्थामा फेला प-यो। 

हत्या भएकी युवती यही गाउँपालिकाको गोपेटार बजारमा रहेको एनएमबी फाइनान्स शाखाअन्तर्गतकी फिल्ड कर्मचारी सुजता तामाङ भएको खुल्न आयो। कसले मा–यो, किन मा-यो भन्ने विषय निकै पेचिलो बन्न पुग्यो। घटनास्थल आसपासमा हत्यामा संलग्न भएको व्यक्ति पहिचान गर्ने आधारहरू भेट्न गाह्रो भयो। 

बाटोमा युवतीको पर्स र छाता भेटियो भने घाँटी रेटेर हत्यापछि शव खोल्सीजस्तो ठाउँमा फालेको अवस्थामा भेटियो। शंकित गर्ने आधारहरू नभेटिँदा प्रहरीलाई निकै ठूलो टाउको दुखाइको विषय बनेको थियो। पाँचथरका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुँवरको नेतृत्वमा प्रहरीहरू अनुसन्धानमा खटिए। जिल्लाको विभिन्न नाकाहरूमा सुरक्षा व्यवस्था अत्यन्त कडा बन्यो।

प्रहरीले युवतीको फोनमा आएका कल र एसएमएसको विश्लेषण गर्न थाल्यो। प्रहरीले यतिमात्र हेरेन, फाइनान्सबाट धेरै ऋण लिने, गाउँमा रहेका व्यक्तिहरूको पनि मिहीन विश्लेषण गर्न थाल्यो। प्रहरीले पत्ता लगाउला कि नलगाउला भन्ने प्रश्न उब्जिरहेको थियो। 
युवतीले संकलन गरेर ल्याएको पैसा लगे पनि उनको पर्समा रहेको पैसा र उनले लगाएको सुन नलगेकाले अनेकन प्रश्नहरू थिए। कुँवर नेतृत्वको टोली घटनास्थल आसपासमै खटिएको थियो। प्राविधिक विश्लेषण तथा सोधबुझ भइरहेको थियो। 

प्रहरीले हत्यामा संलग्न भएको आरोपमा १९ वर्षीय अस्मीन भनिने घनेन्द्र लावतीलाई प्रहरीले पक्राउ ग-यो। उनी घटना भएकै गाउँका हुन्। गाउँमै रहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो। ‘विभिन्न किसिमका अध्ययनबाट हत्यामा लावतीको संलग्नता भएको पत्ता लगायौँ,’ डिएसपी कुँवरले भने, ‘उनले घर नजिकै लुकाएर राखेको ८१ हजार ७० रुपैयाँ र हत्यामा प्रयोग गरेको खुकुरीसमेत बरामद भयो।’ पैसा लुट्नका लागि हत्या गरेको खुल्न आएको उनले बताए। युवतीलाई रुँगेर बसेको र आइपुग्नेबित्तिकै खुकुरी प्रहार गरी पैसा लुटेको खुल्न आएको उनको भनाइ छ। 
महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा बिबिएस अध्ययन गर्ने तामाङ ६ महिना अगाडिदेखि फाइनान्समा काम गर्न थालेकी थिइन्। 

 

प्रकाशित: ६ असार २०७६ ०७:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App