२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उफ गर्मी : पानीको मुहान सुक्दा जनजीवन प्रभावित

काठमाडाैँ - अत्यधिक गर्मीका कारण रौतहटकोे जनजीवन प्रभावित भएको छ।     विगत एक सातादेखि तापक्रम बढेपछि जनजीवन अस्तव्यस्त भएको हो। वायुमण्डलीय तापक्रममा वृद्धि भएसँगै सर्वसाधारण घरबाहिर निस्किन छाडेकाले बजारमा चहलपहल कम देखिएको छ। गर्मीका कारण अधिकांश शैक्षिक संस्था बन्द भएका छन् भने कर्मचारी र मजदूरसमेत प्रभावित भएका छन्।

गर्मी बढ्दै गएपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री ह्वात्तै बढेको छ। यहाँका बासिन्दाले गर्मीयाममा प्रायः काँक्रो, तरबुजा, खरबुजा, लस्सी, आइसक्रिम, कुल्फी अधिक सेवन गर्ने गर्दछन्। जेठको पहिलो सातादेखि बढेको प्रचण्ड गर्मी र तातो हावाका कारण सरुवा रोगका साथै घाउ, खटिरा, एलर्जी, पखालाका बिरामीको चाप पनि स्थानीय अस्पतालमा बढ्न थालेको अस्पतालका चिकित्सक बताउँछन्।

प्रचण्ड गर्मीका कारण रौतहटका पानीका मुहानसमेत सुक्न थालेका छन्। जिल्लाको उत्तरी भेग चन्द्रपुर नगरपालिकास्थित रहेको डावरीको पानीको मुहान सुकेको स्थानीयवासीले बताएका छन्। यसअघि पहिले–पहिले कहिले नसुक्ने डावरीको जरुवा पानी यसपटक सुकेपछि स्थानीयवासी चिन्तित भएका छन्।

जिपी उद्यान केन्द्रको नामले परिचित रहेको डावरीमा यो वर्षभन्दा पहिले हरेक वर्ष स्थानीयवासी गर्मीमा नुहाउने स्थानका रुपमा परिचित रहेको थियो। स्थानीयवासीले वस्तुलाई पानी खुवाउने स्थानका रुपमा परिचित डावरीको यति बेला पानीको मुहान नै सुकेको स्थानीयवासीले बताएका छन्। चन्द्रपुर नगरपालिका–६ मा जङ्गलको बीचमा रहेको डावरीको जरुवा पानीको मुहान सुकेपछि डावरीमा नुहाउन आउने स्थानीयवासीका अलावा पशुपक्षीलाई पानी खुवाउनसमेत कठिनाइ भएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख विनोद सिंहले जानकारी दिए।

यता चन्द्रपुर–३ मा गर्मीकै कारण सिँचाइ पानीका मुहान सुक्न थालेपछि गैँडाटारका किसान मर्कामा परेका छन्। असार महीना लागिसक्दा पनि सिँचाइ हुँदै आएको स्थानीयवासी चाँदीखोला र डुमजोर खोलामा पानी सुकेपछि समस्या भएको हो। असार–साउनमा लगाउँदै आएको धानको ब्याड सुक्न थालेपछि किसानले गाग्रीमा धाराको पानी ओसार्दै बीउ जोगाउन लागिपरेको स्थानीय किसान बमबहादुर वाइवाले बताए।

रौतहटका किसानले हरेक वर्ष हिले धानको ब्याड राख्दै आएका थिए तर यसपालि भने पानीकै समस्याले सबै किसानले धुले ब्याड राखेको र उक्त बीउसमेत जोगाउन हम्मेहम्मे परेको अर्का किसान मानध्वज लामाले बताए। त्यसैगरी वाग्मती सिँचाइ आयोजनाले नहरमा पानी छोडेपछि धानका बीउ सुकेको स्थानीय किसानलाई भने राहत भएको छ।  गर्मी बढेपछि अन्नबालीको उत्पादन गर्न नपाउँदा निराश भएका किसानलाई सिँचाइ आयोजनाले नहरमा पानी छोडेपछि हर्षित भएका छन्।

रासस

प्रकाशित: ५ असार २०७६ ०८:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App