७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

भारतीय प्रहरीलाई नियन्त्रणमा लिएर सीमा कटाइयो

अछाम - बिनाअनुमति नेपाल आएको अभियोगमा नियन्त्रणमा लिइएका चारजना भारतीय प्रहरीलाई नेपाल प्रहरीले मंगलबार भारतीय प्रहरीको जिम्मा लगाएको छ। एक भारतीय किशोरीलाई भगाएर नेपाल ल्याउने अछामका केशव टमटालाई पक्राउ गर्न बिनाअनुमति नेपाल आएका ती भारतीय प्रहरीलाई बान्नीगढी जयगढ गाउँपालिका–४ बाट नेपाल प्रहरीले सोमबार नियन्त्रणमा लिएको थियो। ती भारतीय प्रहरीलाई जिल्ला प्रशासन कार्यालय अछामको निर्देशनमा प्रहरी सुरक्षासहित सीमानाका पार गरिएको हो। अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठका अनुसार भारतीय प्रहरीलाई अछामबाट डोटी, डढेलधुरा, कैलाली हुँदै अड्डासार गरी नजिकको भारतीय प्रहरी कार्यालयमा बुझाइको थियो।

नेपाली युवालाई पक्राउ गर्न भारतीय प्रहरी अछाम आएको देखी स्थानीयले प्रहरीलाई खबर गरेका थिए। पूर्वगृहमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य भीम रावल गृह जिल्ला अछाममै रहेका बेला भारतीय प्रहरी गाउँ पसेको र नेपालीलाई पक्राउ गरेर लैजान लागेको थाहा पाएपछि रावलले गृहसचिवलाई फोन गरेर कसको अनुमतिले भारतीय प्रहरी नेपाल आएको भनेर सोधेका थिए।

‘नेपालमा अपराधी लुकेर बसेको भए उसलाई लैजाने कानुनी प्रक्रिया हुन्छ तर भारतीय प्रहरी नेपाल आएर घरबाटै थुतेर लाने कानुनी नीति छैन, उनीहरू किन र कसरी नेपाल आए त्यसको जवाफ चाहियो,’ भनेर पूर्वगृहमन्त्री रावलले गृहसचिवसँग जिज्ञासा राखेपछि गृहसचिव राईले अछामका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर भारतीय प्रहरीलाई नियन्त्रणमा लिन निर्देशन दिएका थिए। त्यसपछि नेपाल प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर सदरमुकाम मंगलसेन पु-याएको थियो।

भारतमा काम गर्दै आएका अछामका केशव टमटाले छत्तीसगढ राज्यअन्तर्गत कोबरा जिल्लाकी १५ वर्षीय किशोरीलाई भगाएर ल्याएको निहुँमा भारतीय प्रहरी नेपाली भूमिमा आएको थियो। भारतीय प्रहरी अफिसर अशोक पाण्डेको नेतृत्वमा सादा पोशाकमा चारजनाको टोली अछाम पुगेको हो। भगाएर ल्याएकी किशोरीलाई सेफ हाउसमा र टमटालाई जिल्ला प्रहरी कार्यालय अछाममा राखिएको जिल्ला प्रहरी कार्यालय अछामका निमित्त जिल्ला प्रहरी प्रमुख कलेन्द्र शाहीले बताए। शाहीका अनुसार भारतबाट केटीका आमाबुबा आएपछि जिम्मा लगाउने वा के गर्ने भन्ने विषयमा छलफल हुनेछ।

प्रकाशित: ४ असार २०७६ ०२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App