६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

गर्मीले जनजीवन प्रभावित

रौतहट - टन्टलापुर घामसँगै तातो हावा चल्न थालेपछि तराईको जनजीवन कष्टपूर्ण बनेको छ । रौतहटको सदरमुकाम गौरको तापक्रम ४३ डिग्रीसम्म पुगेपछि जनजीवन नै अस्तव्यस्त भएको छ । बिहान सबेरैदेखि सुरु हुने गर्मीले खासगरी ज्यालामजदुरी र खेतीकिसानी गर्नेहरू अत्यधिक मारमा परेका छन् । गर्मीका कारण ‘लु’ लाग्ने र बाटामा मानिस बेहोश हुनेजस्ता समस्यासमेत देखिएको छ ।

 गर्मीका कारण गौर नगरपालिकाले नगरक्षेत्रभित्र रहेका सबै विद्यालयलाई असार ६ गतेसम्म बिहान ६.३० देखि १०.३० बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको छ ।

गर्मीका कारण जिल्ला प्रशासन, मालपोत तथा अन्य सरकारी कार्यालयमा सेवाग्राहीको संख्या घटेको छ । अति आवश्यक कामबाहेकको समयमा मानिसहरू घरबाहिर निस्कन छाडेका छन् । जिल्लामा जेठको अन्तिम सातादेखि गर्मी बढेको हो । गर्मीबाट बच्ने उपायतर्फ स्थानीय सचेत नभएकाले ‘हिट स्ट्रक’ हुने सम्भावना बढी देखिने गरेको जिल्ला अस्पताल गौरको आकस्मिक कक्षका इन्चार्ज रवीन्द्र झाले बताए । गर्मीका कारण डायरिया तथा ज्वरोका बिरामी बढेको जिल्ला अस्पताल गौरले जनाएको छ । झाका अनुसार दैनिक ५० देखि ६० जना नयाँ बिरामी अस्पताल आउने गरेका छन् ।

यसैगरी चन्द्रपुर अस्पतालका डा. सुभाष चौधरीले हिट स्ट्रक (गर्मीले लु लाग्नु) भएर मान्छे मूच्र्छित भई उच्च रक्तचाप बढेपछि मस्तिष्कघात, हृदयघात, पक्षघातलगायत रोग लागी एकाएक मान्छे मर्ने सम्भावना बढेको बताए । गर्मीबाट बच्नका लागि झोल पदार्थ बढी खान, घाममा ननिस्कन, शीतलमा बस्न, थोरै खानलगायत घरेलु उपाय अपनाउन उनले सुझाव दिए ।

गर्मीका कारण गौर नगरपालिकाले नगरक्षेत्रभित्र रहेका सबै विद्यालयलाई असार ६ गतेसम्म बिहान ६.३० देखि १०.३० बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । यसैगरी मानिसको चहलपहल कम भएपछि व्यापार व्यवसायमा समेत कमी आएको उद्योग वाणिज्य संघका अध्यक्ष पण्डितप्रसाद जयसवालले बताए । गौर, गरुडा, कटहरिया र चन्दपुरलगायत जिल्लाका मुख्य बजारमा आर्थिक चहलपहल कम भएको अध्यक्ष जयसवालले जानकारी दिए ।

प्रकाशित: १ असार २०७६ ०२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App