४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

माझी बस्तीमा नदीको पानी

माझीबस्ती रहेको घोपाटारमा नदीको पानी जमाउन बनाइएको ट्यांकी। तस्बिर / नागरिक

खोटाङ - माझीबस्ती रहेको खोटाङको बडहरेस्थित घोपाटारमा दूधकोसीको पानी तानेर सिँचाइको प्रयास थालिएको छ। हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेको घोपाटारमा करिब ९० मिटर तल रहेको दूधकोसीको पानी निकालेर सिँचाइको प्रयास थालिएको हो। नगरपालिकाको दुई लाख ४० हजार र समुदायको लगानीमा १० हर्सपावरको डिजेल पम्पले पानी तानेर माझीबस्तीमा निकाल्ने योजनाको काम थालिएको वडाध्यक्ष किशोर बस्नेतले बताए।

एउटा डिजेल पम्पले नदीको पानी ४५ मिटरमाथि तान्ने र रिजर्भ ट्यांकीमा जम्मा गर्ने र सो ट्यांकीबाट अर्को पम्पले पुनः ४५ मिटरमाथि पानी तान्नेगरी काम अघि बढाइएको छ। पहिलो पम्पले एक सय १० एमएमको पाइपमार्फत ट्यांकीसम्म पानी निस्किएको स्थानीयले बताएका छन्। ३५ घर माझी समुदायको बसोबास रहेको घोपाटारमा करिब दुई सय रोपनी जग्गामा सिँचाइ गर्ने लक्ष्यका साथ पानी तान्ने योजना सुरु गरिएको हो। नदीको पानी जमाउनका लागि केही माथि रिजर्भ ट्यांकी निर्माण गरिएको छ। ‘एउटा पम्पले ४५ मिटरमाथि पानी तानिएको छ, बस्तीमा पानी निस्कँदा स्थानीय उत्साहित भएका छन्,’ वडाध्यक्ष बस्नेतले भने, ‘ट्यांकी बनाएर पानी जम्मा गर्दा त्यहाँबाट अर्को पम्पले ४५ मिटर माथि पानी निकाल्नेगरी काम भइरहेको छ। अहिलेसम्मको प्रयोगले हामीलाई उत्साहित गराएको छ।’

सुक्खाग्रस्त क्षेत्र घोषित घोपाटारमा बस्तीमुनि बाह्रैमास दूधकोसीको पानी बग्दा केहीमाथिको गाउँमा भने पानीको हाहाकार छ। दूधकोसी र सुनकोसीको किनारमा भएका अधिकतर बस्तीमा पानी तानेर सिँचाइमा उपयोग गर्ने प्रयासस्वरूप घोपाटारमा पानी तान्ने प्रयास थालिएको नगरपालिकाकी उपमेयर विमला राईले बताइन्। घोपाटारमा पम्पमार्फत तान्न सुरु गरिएको योजना सफल र प्रभावकारी देखिए दूधकोसी र सुनकोसी किनारका अन्य दर्शनौं बस्तीमा समेत पानी तान्ने योजना बिस्तार गर्ने नगरपालिकाको योजना छ। हलेसी तुवाचुङ नगरपालिकाका अधिकांश भाग दूधकोसी र सुनकोसीले घेरेको छ। खानेपानीको विकराल समस्या भएका कारण २०६८ सालमा सुक्खाग्रस्त क्षेत्र घोषित सो नगरपालिकाभित्रका महादेवस्थान, दुर्छिम, मंगलटार, बडहरे, च्यास्मिटार, डिकुवा र बाहुनीडाँडाका तल्लो तटीय क्षेत्रमा सिँचाइ गर्न पानीको समस्या छ। केही मिनेट तल रहेको नदीमा कलकल पानी बग्दा त्यहींमाथिको खेतीयोग्य जमिनमा पानीको अभाव खेप्दै आएका किसानलाई ध्यानमा राखेर पानी तान्ने प्रयास थालिएको हो।

नदी किनारमा रहेका घोपाटार, बाइटार, हैदे, कुर्नेघाट, रातमाटे, चारबोटे, बलुइलगायत खेतीयोग्य ठाउँमा नदीको पानी तान्न सकिने सम्भावना छ। नदीको पानी तानेर सम्भावित क्षेत्रमा उपयोगसम्बन्धी सर्भे गर्न प्रदेश सरकारसमक्ष माग गरिएको युवा नेता सुरेन्द्र राईले बताए।

प्रकाशित: २६ जेष्ठ २०७६ ०२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App