१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

गौरीशंकर संरक्षण क्षेत्रमा पहिलो हिउँ चितुवा

गौरीशंकर संरक्षण क्षेत्रमा क्यामेरा ट्र्यापिङमा परेको हिउँ चितुवा। तस्बिर:अनुसन्धान टोली

दोलखा - दोलखास्थित गौरीशंकर संरक्षण क्षेत्रभित्र लामाबगर लप्ची वरपरको जंगलमा हिउँ चितुवा रहेको फेला परेको छ। जिल्लाको विगु गाउँपालिका–१ लामाबगरको हिमाली गाउँ लप्चीनजिक जंगलमा गरिएको ट्र्यापिङबाट त्यस क्षेत्रमा हिउँ चितुवा भेटिएको गौरीशंकर संरक्षण क्षेत्रका अधिकारीहरूले बताएका छन्।

योसंगै संरक्षण क्षेत्रभित्र हिउँ चितुवा रहेको घोषण संरक्षण क्षेत्र आयोजनाले गरेको छ। बुधबार वातावरण दिवसका अवसरमा दोलखाको सिंगटीमा क्यामेरा ट्र्यापिङबाट लिइएको हिउँ चितुवाको तस्बिर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै संरक्षण क्षेत्रले आफ्नो क्षेत्रभित्र हिउँ चितुवा रहेको घोषण गरेको हो।

लप्ची गाउँबाट पाँच किलोमिटर दूरीमा रहेको चट्टानले घेरिएको क्षेत्रमा हिउँ चितुवाको टाउको र घाँटी देखिने तस्बिर रेकर्ड भएको छ भने सात किलोमिटर खोलाछेउको क्षेत्रमा टाउकोदेखि ढाडसम्म्म खिच्न भ्याएको तस्बिरमा देखिएको छ। संरक्षण क्षेत्रका आयोजना प्रमुख सत्यनारायण शाहका अनुसार हिमाली गाउँ लप्ची सेरोफेरोका ११ स्थानमा २०७५ असोजदेखि २०७६ वैशाखसम्म इन्फ्रारेड क्यामेरा राखेर अनुसन्धान गरिएको थियो। साो अवधिमा समुद्री सतहबाट चार हजार ८७ मिटरको उचाईमा हिउँ चितुवाका तीनओटा तस्बिर रेकर्ड भएको छ।

क्यामेरा राखिएको स्थान खोला छेउमा सुनपाती र धुपीको मसिना बोटहरू भएको क्षेत्रमा थियो। अनुसन्धानमा खटिएका अधिकारीहरूलाई उद्धृत गर्र्दै शाहले दिएको जानकारी अनुसार उच्च हिमाली घाँसले ढाकेको स्थान र खोला छेउमा केही चिजको चहलपहल देखिनेबित्तिकै क्यामेराले रेकर्ड गर्ने व्यवस्था मिलाइएको थियो।

हिउँ चितुवा मध्य एसिया र हिमालय पर्वतमा मात्र बसोबास गर्ने प्राणी हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को अनुसूची १ मा सूचीकृत हिउँ चितुवालाई अन्तर्राष्ट्रिय संरक्षण संघ (आइयुसिएन) ले दुर्लभ प्रजातिको सूचीमा राखेको छ। हिउँ चितुवा विश्वमा १० हजारभन्दा कम र नेपालमा तीन सयदेखि पाँच सयवटा रहेको अनुमान छ।

११ स्थानमा राखिएका क्यामेराबाट संरक्षण क्षेत्रभित्र अनुसन्धानका क्रममा यसअघि रेकर्ड नभएको सुनौलो बिरालो (गोल्डेन क्याट) समेत रेकर्ड भएको शाहले जानकारी दिए। हालसम्म गौरीशंकर संरक्षण क्षेत्रमा चरिबाघ, कस्तुरीमृग र आसामी (पहरे) बाँदरजस्ता संरक्षित जनावर तथा हिमाली कालो भालु, तिब्बती फ्याउरो, झारल, घोरल, नाउर, चितुवा, रातो फ्याउरो गरी १५ प्रजातिका स्तनधारी जनावरहरू रेकर्ड गरिएका छन्।

राष्ट्रिय प्रकृति संरक्षण कोषबाट स्वीकृत ‘जैविक विविधता अध्ययन अनुसन्धान’ शीर्षकअन्तर्गत संरक्षण अधिकृत विष्णुप्रसाद पाण्डे, स्नातकोत्तर अध्ययन केन्द्रका उपप्रध्यापक डा. नारायणप्रसाद कोजुको संयुक्त नेतृत्वमा प्राकृतिक स्रोत संरक्षण सहायक शंकरमान थामी र स्नातकोत्तर अध्ययनरत विजय बस्यालको समूहले लप्ची उपत्यकामा क्यामेरा ट्र्यापिङ तथा स्थलगत अनुसन्धान गरेको हो।

प्रकाशित: २४ जेष्ठ २०७६ ०३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App