१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रेममा शंकाले हत्यासम्म

शीतलको हत्याका आरोपी पदम तामाङ र भगिरथ बाँस्तोलालाई सार्वजनिक गर्दै प्रहरी। तस्बिरः गिरिराज/नागरिक

पाँचथर–वैशाख २९ गते साँझको समयमा हिलिहाङ–४ मा १५ वर्षीया किशोरी शीतल योङहाङको हत्यामा संलग्न पदम तामाङ र भगिरथ बाँस्तोलालाई प्रहरीले पक्राउ गरी बयान तथा थप अनुसन्धान गरिरहेको छ। भगिरथ घटनाका भएको भोलिपल्टै पक्राउ परेका थिए भने फरार रहेका पदमलाई २१ दिन लगाएर प्रहरीले झापाको दमकबाट आइतबार पक्राउ गरेको थियो।

पदम हत्याका मुख्य योजनाकार हुन्। प्रहरीले बयान लिने क्रममा पदम र शीतलको प्रेम सम्बन्धमा शंका उत्पन्न भएपछि हत्यासम्मको अपराध भएको खुल्न आएको छ। मुख्य योजनाकार पदम पक्राउ नपर्दा घटनाबारे विस्तृत कुराहरू खुल्न सकिरहेको थिएन।

‘प्रेममा दरार भएर हत्या भएको हुन सक्ने आशंका थियो। अहिले पदमलाई पक्राउ गरिसकेपछि प्रेममा शंका गर्दै हत्यासम्मको जघन्य अपराध भएको पाइएको छ’, पाँचथरका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुवँरले भने, ‘फोन वेटिङ हुने, अरुको पनि फोन आउने जस्ता सामान्य कारणमा जघन्य अपराध भएको छ। समाज र परिवारका सदस्यले केही सचेतता अपनाउने भने यस्तो घटनामा न्यूनीकरण हुन्छ।’

पदम केही समयअगाडि कोसी करिडोर आयोजनामा श्रमिकका रुपमा काम गर्न हिलिहाङ गएको पाइएको छ। काम गर्ने क्रममा शीतलसँग प्रेमिल सम्बन्ध स्थापित भएको उनीहरूको बयानमा खुल्न आएको छ। नयाँ वर्षसम्मको एसएमएस हेर्दा घनिष्ट प्रेम सम्बन्ध भएको पाइएको प्रहरी स्रोतले जनाएको छ। त्यसपछि बिस्तारै दरार आएको पाइएको छ।

पदम र भगिरथ फाल्गुनन्द–३ पाल्तेभञ्ज्याङबाट वैशाख २४ हिँडेको पाइएको छ। घरबाटै छुरी बोकेर हिँडेको खुल्न आएको कुँवरले सुनाए। उनीहरू केही दिन शीतलको घर आसपासमा बसेको खुल्न आएको छ। पदमले साथ लगेका भगिरथसँग भएको एन्ड्रोएड मोबाइल मागेर शीतलसँग साटेको खुल्न आएको छ। मोबाइल साटेपछि शीतलको नम्बरमा आउने गरेका फोनले थप आशंका गरेको अनुमान लगाइएको छ। २६ गते उनीहरूबीचमा मोबाइल साटिएको पाइएको छ।

केही दिन गाँउमा माक्स लगाएर हिँडडुल गर्ने गरेको स्थानीयले बताएका थिए। उनीहरूले चाउचाउ खाँदै जंगलमै बसेको समेत बताएका छन्। साँझ शीतल केही पल्ट भेट्न आएको खुल्न आएको छ। साँझमा छोरी कहाँ जान्छे भन्ने कुरालाई चासो लिएको भए पनि यस्तो घटना नहुन सक्ने प्रहरीको बुझाइ छ। माक्स लगाएर हिँड्ने नौला मान्छेको हुन भनेर खोजीनीति नभएको देखिन्छ। साटेको मोबाइल फिर्ता लिन वैशाख २९ गते साँझ उनीहरूलाई भेट्न जाँदा हत्या भएको पाइएको छ। मान्छे नबस्ने घरमा उनको हत्या भएको थियो। सुरुवातमा बलात्कार त भएन भन्ने किसिमबाट खोजीनीति भएको थियो। बलात्कारको प्रयास नभएको पाइएको प्रहरी जनाएको छ। यो हत्याले जिल्लामा निकै ठूलो त्रास सिर्जना गरेका थियो।

भगिरथले समातेको र पदमले घाँटी रेटेर हत्या गरेको प्रहरीको बयानमा बताएका छन्। हत्या गरेर राति नै उनीहरू फिदिम आएको पाइएको छ। भगिरथलाई सदरमुकाम फिदिममा पक्राउ गरिएको थियो। पदम भने गाडी चढेर दमक पुगेको खुल्न आएको छ।

पदम पक्राउ नपरेपछि प्रहरीलाई टाउको दुखाइको विषय बनेको थियो। विभिन्न ठाउँबाट दबाब सिर्जना भएको थियो। प्रहरीले विभिन्न ठाउँबाट अनुसन्धान गरिरहेको थियो। प्रदेश १ को विशेष प्रहरी ब्यूरो, जिल्ला प्रहरी कार्यालय र विभिन्न ठाँउबाट सादा पोसाकमा प्रहरी परिचालन भएका थिए। मानवीय अनुसन्धान र प्राविधिक अनुसन्धानका आधारमा दमकको न्यू सम्पूर्ण होटलबाट पक्राउ गरिएको डिएसपी कुवँरले बताए।

होटलमा कामदारको रुपमा बसेको खुल्न आएको छ। सामाजिक र पारिवारिक सेचतना, छोराछोरी कता जाँदै छन् भन्ने कुराको ख्याल गर्ने हो भने यता घटना न्यूनीकरण हुन सक्ने डिएसपी कुँवरको भनाइ छ।
 

प्रकाशित: २३ जेष्ठ २०७६ ०५:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App