६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सम्बन्ध बिच्छेद गर्ने पुरुष बढे, अधिकांश पत्नी पीडित

जुम्ला– पछिल्लो समयमा जिल्ला अदालतमा सम्बन्ध बिच्छेद गर्न उजुरी दिने पुरुषको संख्या बढेको छ। नयाँ मुलुकी ऐनले पुरुषले पनि सम्बन्ध बिच्छेदका लागि अदालतमा उजुरी दिन सकिने व्यवस्था गरेपछि पुरुषले पनि सम्बन्ध बिच्छेदका उजुरी दिन थालेका हुन्।

चन्दननाथ नगरपालिका ८ का २७ बर्षीय हिक्मत रोकायाले जिल्ला अदालत जुम्लामा सोमबार सम्बन्ध बिच्छेदको उजुरी दिए। खान नपकाएको र आफूसँग नबसेको भन्दै उनले पत्नी दुर्गादेबी भण्डारी रोकायासँग सम्बन्ध बिच्छेद गर्न उजुरी दिएका हुन्। पहिले महिलाले मात्रै अदालतमा सम्बन्ध बिच्छेदको उजुरी दिन सक्ने कानुनी ब्यवस्था थियो। पुरुषले सम्बन्ध बिच्छेद गराउन चाहेको खण्डमा गाबिस हुँदै आउनु पर्दथ्यो। तर अहिले अदालतमै उजुरी दिने ब्यवस्था कार्यान्वयनमा आएपछि पुरुष पनि सम्बन्ध बिच्छेदका उजुरी दिन थालेका हुन्। 

नयाँ संहिता कार्यान्वयन भएपछि अदालतमा ६ जना पुरुषले अदालतमा सम्बन्ध बिच्छेदको उजुरी दर्ता गराएका छन्। अहिले उजुरी उपर छानबिन भइरहेको तामेलदार नन्दबहादुर महत बताउँछन्। उनले भने, ‘पहिले पति पीडित महिलाले उजुरी दिँदै आएका थिए। अहिले पत्नी पीडित पुरुषले पनि अदालतमा सम्बन्ध बिच्छेदको उजुरी दिन थाले।’ उनका अनुसार महिलाको उजुरी उपर छिट्टै कारवाही हुने गरेकोमा पुरुषले दर्ता गराएको उजुरी छिन्न न्यूनतम एक बर्षसम्म लाग्ने गर्छ।  

पहिले महिलाले उजुरी दिन पाउँदा पुरुषलाई अन्याय महसुस भइरहेको थियो। अहिले पुरुषले पनि उजुरी दिने व्यवस्था हुँदा पत्नी पीडित पुरुष पनि अदालत सम्म पुग्न सक्ने भएका हुन्। 

‘पुरुषले दिएको उजुरीका आधारमा पति पत्नीलाई झिकाएर मेलमिलापको प्रक्रिया थाल्छौँ। एक बर्ष भित्र गर्नु पर्ने सबै प्रक्रिया अपनाउछौँ’, तामेलदार महतले भने, ‘हर प्रयासले पनि मिल्न नचाहेको खण्डमा मात्रै सम्बन्ध बिच्छेद गर्ने अवस्थामा पुग्छौँ।’ चालु आर्थिक बर्षमा १७ जना महिलाले सम्बन्ध बिच्छेदको उजुरी दर्ता गराएकोमा ८ वटा उजुरी उपर कारबाही भइसकेको छ। बाँकी उजुरी उपर प्रमाण संकलनको काम भइरहेको छ। गत बर्ष २९ वटा सम्बन्ध बिच्छेदको परेकोमा २६ वटा फच्र्यौट भइसकेका छन्। ३ वटा उजुरी छिन्न बाँकी रहेको जिल्ला अदालत जुम्ला जनाउँदै छ। 

नयाँ मुलुकी संहिताले कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा सम्बन्ध बिच्छेद गर्न पाउने ब्यवस्था गरेको छ। तामेलदार महत भन्छन्, ‘पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीले पतिको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा, पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा सम्बन्ध बिच्छेद गर्न पाउँछन्।’

प्रकाशित: २० जेष्ठ २०७६ १०:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App