६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

प्रहरी झुक्याएर ५० लाख कमाउन योजना विफल

पसलमा चोरी भएको हल्ला फिँजाई समान लुकाउने हेटौंडा उपमहानगरपालिका हटियाका उमेश घिमिरेलाई सार्वजनिक गर्दै प्रहरी। तस्बिर:अशोकसुजन/नागरिक

मकवानपुर - हेटौंडा बजारस्थित इलेक्ट्रोनिक सेन्टरका सञ्चालक उमेश घिमिरेले सुन्दै अचम्म लाग्नेगरी गरेको चोरीको नाटक विफल भएको छ। आफ्नै पसलको सामान र नगद लुकाएर चोरी भएको भन्दै बिमा असुल्न घिमिरेले रचेको नाटकीय योजना प्रहरीले विफल पारेको हो।

घटना जेठ ८ गतेको हो। हेटौंडा बजारमै रहेको घिमिरे इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक सेन्टरमा अचानक चोरीभन्दै प्रहरीमा उजुरी प-यो। सञ्चालक घिमिरेले पसलमा चोरी भएको भन्ने हल्ला फिँजाई पत्रकार सम्मेलनमार्फत मिडियाबाजीसमेत गरेका थिए। जेठ ११ गते उमेशका दाजु रुद्रप्रसाद घिमिरेले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चोरीको विवरणसहित निवेदन दिए।

निवेदनमा १७ लाख ३० हजारको वाइरिङ तार ३१ बोरा, दुई लाखको एलइडी बत्ती १२ कार्टुन, नौ लाख ३२ हजारको स्विच १४ कार्टुन, एक लाख १८ हजारको सिलिङ पंखा चार कार्टुन र नगद तीन लाख १२ हजारसहित ३२ लाख ९३ हजार रूपैयाँको चोरी भएको उल्लेख थियो।

प्रदेश ३ को अस्थायी राजधानी रहेको हेटौंडाको मुख्य चोकमै ठुलो परिमाणमा सामान चोरी भएको घटनालाई प्रहरीले पनि गम्भीर रूपमा लियो। मकवानपुर प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईको नेतृत्वमा अनुसन्धान सुरु भयो। ‘अनुसन्धानबाट निवेदकको व्यहोरा पुष्टि हुने कुनै कुरा फेला परेन,’ मकवानपुरका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले भने, ‘हामीले पसल सञ्चालक घिमिरेकै स्व–योजनामा बनावटी चोरी भएको पुष्टि भएपछि पक्राउ गरेका हौं।’

चोरी भएको भनिएको वायरिङको तार काठमाडौंबाट डेलिभरी लिएको भनिए पनि सो विवरण झुटो भएको पाइएको उनले बताए। चोरी भएको भनिएको एलइडी बत्ती, स्विच, पंखा पनि हेटौंडा–४, पारिजातपथस्थित देवेन्द्र सापकोटाको घरमा कोठा लिई घिमिरेले नै लुकाई राखेको भेटिएको थियो। प्रहरी अनुसन्धानका क्रममा नगद तीन लाख १२ हजार रूपैयाँ चोरी भएको नभई काउन्टरमै नभएको खुलेको उनको भनाइ छ।

सनराइज बैंकबाट ५० लाख रूपैयाँ ऋण चाँडै तिर्न बारम्बार दबाब आएपछि घिमिरेले पसलको बिमा गरी चोरीको प्रपञ्च रचेका थिए। चोरीको नाटक रच्नु केही दिनअघि मात्र वैशाख १७ गते घिमिरेले सिद्धार्थ इन्सुरेन्स लिमिटेडमा पसल चोरीको ५० लाख रूपैयाँको बिमा गराएका थिए।

उनलाई अदालतबाट म्याद थपेर प्रहरी र जनतालाई झुक्याई भ्रम छरेको, असुरक्षाको हल्ला फैलाएको आरोपमा सार्वजनिक हितविरुद्धको अपराधअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रकाशित: १८ जेष्ठ २०७६ ०१:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App