३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

ढाँका बुनेर आत्मनिर्भर बन्ने सपना

ढाँकाको कपडा बुन्ने सिकेपछि : डिबी /नागरिक

जुम्ला - तिला गाउँपालिका २ की कुसु परियार गाउँका महिला ढाँकाको कपडामा सजिएको देख्दा आश्चर्य मान्थिन्। यो कपडा कहाँ बुनिन्छ होला? कस्ले बुनेको होला? उनको मनमा आउँथे यस्तै प्रश्न। यस्तै मैले पनि बनाउन पाए हुने। उनको मनमा सोच आउँथ्यो।

तर उनीसंग त्यो मनको सपना पुरा गर्ने न सिप थियो। न त ज्ञान। मनमै सपना थन्काएर बसेकी थिईन्। तिल गाउँपालिकाले युवा महिला स्वरोजगार कार्यक्रम अन्तर्गत सञ्चालन गरेको ढाँका बुनाइमा सहभागी छनौट भएपछि उनको सपना साकार बन्यो। अहिले सहजै रुपमा ढाँकाको कपडा आफैले बुन्न सक्ने भएकी छिन्।  उनले भनिन्,‘ अब ढाँका घरमै बुनेर बजारमा लैजान सक्षम भएकी छु। पुर्वको धागो ल्याएर तिलामै ढाँका उत्पादन गरेर मनग्गे आम्दानी गर्न सक्ने भएकी छु। केबल आर्थिक सहायताको खाँचो छ। ’

उनी ढाकाको कपडा बुन्न सिकेपछि गाउँमै व्यवसाय सञ्चालन गर्ने सोचमा छिन्। उनले भनिन्,“पछिल्लो समयमा ढाकाको कपडाको अत्याधिक माग बढ्दो छ। माग अनुसारको ढाका गाउँमै उत्पादन गर्न सके मनग्गे आम्दानी गर्न सकिनेमा दुईमत छैन्।  म यो कार्यक्रम अन्र्तगत ढाका बुन्न सिकेर गाउँमै राम्रो ब्यवसायका रुपमा अघि बढाउँछु। ’

स्थानीय सरकारले गाउँमै ढाकाको कपडा उत्पादनका लागि तीन महिनाको तालिम सिर्जना गरेपछि उनी ढाँका उत्पादन गर्न सक्षम भएको बताउँछिन्। उनले भनिन्,“ढाकाको कपडा बुनेर गाउँमै बिक्रि गरि स्वरोजगार बन्न चाहान्छौँ। यसका लागि स्थानीय सरकारले अनुदान दिनुपर्छ। अनुदानको सहि सदुपयोेग गर्छौँ। ’

हामी ढाका बुन्न सक्ने भएका छौँ। व्यवसायीक बनेर आत्मनिर्भर बन्छौँ। गाउँमा कपडा खपत गछौँ। बजार सम्म लैजानको लागि अधिकतम प्रयास गर्छौँ, उनले भनिन्,“तर स्थानीय सरकारले ढाँका उत्पादनका लागि उद्योग स्थापना गर्नुपर्छ। जुम्ला जस्तो दुर्गम क्षेत्रमा पनि ढाँकाको नमुना उद्योग छ भन्ने प्रमाणित गर्न चाहान्छौँ। ”

जुम्लाको तिला गाउँपालिकाले ढाका कपडाको उद्योग सञ्चालनका लागि युवा महिला स्वरोजगार कार्यक्रम सञ्चालन गरेको छ ।  ढाका उद्योगमार्फत आयआर्जनमा टेवा पुगोस भन्नका लागि यो कार्यक्रम शुरु भएको तिला गाउँपालिकाका प्रवत्ता सन्तविर रावतले जानकारी दिए। उनकाअनुसार गाउँपालिका भित्रका ९ वटै वडाका महिलाले अहिले ढाकाको कपडा बुन्ने तालिम सिकिरहेका छन्।

उनले गाउँपालिकामा आउने महिला लक्षित बजेटबाट ढाकाको कपडा बुन्ने तालिम दिइरहेको जानकारी दिए। पहिले ठेटुवाको कपडा बुन्ने गरेका स्थानीय पछिल्लो समयमा ठेटुवा बुन्न छाडेका थिए। अहिले परिवर्तित समयक्रम संगै ढाकाको कपडाको माग बढेकोले गाउँपालिकाले युवा महिला स्वरोजगार कार्यक्रम सञ्चालन गरिएको हो।

पहिले महिला लक्षित कार्यक्रमले बाटोघाटो, पुलपुलेसा,सामुदायिक भवन, धारापधेरा बन्ने गरेका थिए।  तिला गाउँपालिकाकी भुमिका परियारले भनिन्,“   ढाँका उत्पादन गरेर पारिवारिक समृद्धिका साथै गाउँपालिकाको पहिचानका रुपमा स्थापित गर्छौँ। ” उनले भनिन्,“हाम्रा पुर्खाले पहिले ठेटुवाका कपडा बुनेर स्थानीय उत्पादनलाई प्राथमकिता दिन्थे, अहिले हामी ढाँका उत्पादन गरेर स्वरोजगार बन्ने बाटो तर्फ अघि बढ्छौँ। ’

अहिले गाउँपालिका भरीका १० जनाले ढाकाको कपडा उत्पादन गर्ने तालिम लिएका छन्। गाउँपालिका उपाध्यक्ष बिष्णुमाया बुढा ग्रामिण क्षेत्रबाटै समृद्धिको सन्देश दिन युवा महिला स्वरोजगार कार्यक्रम सञ्चालन गरेको बताउँछिन्। उनले भनिन्,“यो क्षेत्रमा अहिले पनि महिलाले चुलो, चौकौ, घाँस दाउरा र धारो पधेरोमै सिमित हुनु परेको छ।  आफ्नो श्रीमानको कमाईको भरमा जीवन चलाउन बाध्य हुनु परेको छ ।’

यो कार्यक्रमका लागि महिला लक्षित १५ लाख रुपैया छुट्याइएको छ। दैलेखको डुंगेश्वर देखि मसान्ती भण्डारी ढाँका कपडा बुन्ने तालिम दिन जुम्ला आइपुगेकी थिईन्। उनी ढाका उद्योग सञ्चालनका लागि गाउँपालिकाले गरेको यो कार्यक्रम समय  सान्दर्भिक भएको बताउँछिन्। उनले भनिन्,“यहाँका महिला ढाँका कपडा बुन्नको लागि जागरुक छन्। छोटो समयमै राम्रो बुन्न थालिसकेका छन्। उनीहरुलाई अवसरको खाँचो छ। गाउँपालिकाले लगानी गरिदिएपछि गाउँमै ढाँका बुनेर लगाउने उनीहरुको सपना साकार हुन्छ।

प्रकाशित: १७ जेष्ठ २०७६ ०६:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App