काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नवनियुक्त उच्च अदालतका मुख्य न्यायाधीशद्वय कुमारप्रसाद पोखरेल र रमेश पोखरेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।
सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा मुख्य न्यायाधीश पोखरेलद्वयलाई शपथग्रहण गराए। प्रधानन्यायाधीश जबराले न्यायाधीश कुमारप्रसाद पोखरेल उच्च अदालत दिपायल र न्यायाधीश पोखरेललाई उच्च अदालत सुर्खेतको मख्य न्यायाधीशका लागि पदस्थापना गर्ने निर्णय गरेका थिए।
न्याय परिषद्को यही जेठ १४ गते बसेको बैठकले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा कार्यरत न्यायाधीश कुमारप्रसाद पोखरेल र उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश रमेश पोखरेललाई उच्च अदालत मुख्य न्यायाधीशमा नियुक्तिका लागि प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको थियो। सो समारोहमा सर्वोच्च अदालतका न्यायाधीशहरु, न्याय परिषद्का सदस्यहरु, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारलगायतको उपस्थित रहेको छ। रासस
प्रकाशित: १६ जेष्ठ २०७६ १२:५३ बिहीबार