लोकेन्द्र खनाल
रुकुम - वर्गविहीन समाज निर्माण गर्न भन्दै रुकुमबाट सशस्त्र १० वर्षे जनयुद्ध सुरु भएको थियो। देशका विभिन्न चार स्थानका प्रहरी चौकीमा एकसाथ आक्रमण गरी तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ गते जनयुद्धको घोषणा गरेको थियो। त्यही युद्धकै कारण नेपालमा गणतन्त्र स्थापना भएको नेताहरू बताउँदै आएका छन्।
सर्वप्रथम २०५२ फागुन १ गते रुकुमको राडी बजारस्थित प्रहरी चौकीमा आक्रमण भयो। त्यसपछि समान अवसर र अधिकारका लागि यहाँका हजारौं युवा १० वर्षसम्म युद्धमा होमिए। तर अहिले भने पुरानै अवस्थामा फर्कन बाध्य भएको उनीहरूले बताउने गरेका छन्।
जनयुद्धकै कारण नेपालमा गणतन्त्र स्थापना भएको एक दशक पुग्दा पनि त्यस बेलाका सपना पूरा हुने कुनै संकेत नदेखिएको पूर्वलडाकुको भनाइ छ। जुन सपना र नाराका साथ युद्ध भएको थियो त्यो अहिले नेताहरूले सबै छोडेको राडी प्रहरी चौकी आक्रमण गर्ने माओवादीका एक सदस्ंह घर्तीको आरोप छ। वर्गविहीन समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ युद्ध लडेको भए पनि नेताहरूले गणतन्त्र स्थापनासँगै बिर्सन थालेको उनको भनाइ छ। नेताहरू आफ्नो स्वार्थमा रमाउँदा गणतन्त्रको भावना नै संकटमा पर्ने हो कि भन्ने चिन्ता लाग्न थालेको उनी बताउँछन्।
अहिलेको व्यवस्था हेर्दा नेपालमा गणतन्त्र सफल भएको मान्न नसकिने पूर्वलडाकु घर्तीको जिकिर छ। द्वन्द्वपीडितको व्यवस्थापन हुन नसक्दा गणतन्त्रलाई संस्थागत गर्न थप चुनौती बन्दै गएको उनले बताए। गणतन्त्रका कारण नेपालमा संघीय शासन व्यवस्था, धर्मनिरपेक्षता, समानुपातिक समावेशितालगायत उपलब्धि हासिल भए पनि नागरिकलाई प्रत्यक्ष अनुभूति हुने गरी अझै पनि काम हुन नसकेको अर्का पूर्वलडाकु जनक खत्रीको भनाइ छ। राज्य सञ्चालक राजनीतिक दलका नेताको इच्छाशक्तिको कमीका कारण जनतामा निराशा पैदा हुँदै गएको उनले बताए।
द्वन्द्वकालीन समस्या समाधान गर्न बनेका सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले समेत कुनै काम गर्न नसक्दा थप समस्या भएको छ।
द्वन्द्वको अवशेष बाँकी रहँदासम्म गणतन्त्रलाई संस्थागत गर्ने चुनौती रहिरहने बुद्धिजीवीको भनाइ छ। यहाँका सयौं द्वन्द्वपीडित अहिले पनि न्याय, राहत र क्षतिपूर्तिको पर्खाइमा रहेकाले यसलाई समाधान नगर्दासम्म गणतन्त्रको उपलब्धि मान्न नसकिने स्थानीय शिक्षक प्रेमलाल केसी बताउँछन्। युद्धका कारण समाजमा द्वन्द्व बढिरहेको अवस्थामा यहाँका नागरिकले गणतन्त्रको अनुभूतिसमेत गर्ने मौका नपाएकाले यसलाई छिटो टुंगोमा पु¥याउनुपर्ने उनको सुझाव छ। उनले भने, ‘द्वन्द्वकालीन समस्या समाधान गर्न बनेका सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले समेत कुनै काम गर्न नसक्दा थप समस्या भएको छ।’ ती आयोगले निवेदन मात्र लिएर झन् बढी गाउँमा द्वन्द्व सिर्जना गरेको भन्दै पीडितहरूको गुनासो आइरहेको उनले बताए।
त्यस्तै पार्टीका नेताहरू अवसर र सुविधाभोगी भएकाले गाउँमा गणतन्त्रको अनुभूति गर्न नसकिएको पूर्वलडाकु तप्तबहादुर खत्रीको आरोप छ। ‘जनयुद्धकै कारण अहिले पनि हामीलाई समाजमा सहज रूपमा बस्ने वातावरण छैन,’ उनले भने, ‘तर नेताहरू भने आफ्नो स्वार्थका लागि युद्धका सबै एजेन्डा छोडेर आफ्ना आफन्त र भ्रष्टाचारीको संरक्षणमा लागेका छन्।’ सबैको धनसम्पत्ति बराबर हुने सपना देखाएर हामीजस्ता गरिबका छोराछोरीलाई युद्धमा लाग्न बाध्य बनाइएको भए पनि अहिले नेताहरू नै अकुत सम्पत्ति आर्जन गर्न लागेको खत्रीले जिकिर गरे।
१० वर्षे जनयुद्ध र २०६२/६३ सालको जनआन्दोलनका कारण देशमा राजतन्त्र अन्त्य भई व्यवस्था परिवर्तन भए पनि आफ्नो जीवनस्तरमा परिवर्तन हुन नसकेको यहाँका स्थानीयले बताउने गरेका छन्। नेपालमा गणतन्त्र ल्याउन आफूहरूले ठूलो योगदान गरेको भए पनि अहिले पार्टी र सरकारले बिर्सिंदै गएको भन्दै पूर्वलडाकु खत्रीले असन्तुष्टि व्यक्त गरे। व्यवस्था परिवर्तनसँगै जिल्लाको विकासनिर्माण सामान्य रूपमा भए पनि समाजमा रहेको विभेद र द्वन्द्वको अवशेषका कारण गणतन्त्रको संस्थागत विकास हुन नसकेको बुझाइ नेताहरूको छ।
२०५२ साल फागनु १ गते तत्कालीन माओवादीले आक्रमण गरेको राडी प्रहरी चौकी रहेको ठाउँ आठबीसकोट राडी बजार। तस्बिर ः लोकेन्द्र÷नागरिक
प्रकाशित: १५ जेष्ठ २०७६ ०२:२३ बुधबार