१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

मार्सी चामल जोगाउन जनप्रतिनिधिको कसरत

जिल्लाको बड्कीमा गरिएको रोपाईः डिबी/नागरिक

जुम्ला–  जुम्लाको हिमा गाउँपालिकाका जनप्रतिनिधि मार्सीधान जोगाउन जुटेका छन्। पछिल्लो समय नेपालमा चर्चित मार्सीधान जोगाउन उनीहरुले किसानको खेतवारीमा गएर मार्सी रोप्ने अभियान थालेका हुन।

हिमा गाउँपालिका वडा नं १ को बड्की सेयरगाउँमा वडापालिकाको अगुवाइमा मार्सीधानको रोपाईं गरिएको छ। सेयर गाउँमा वडाध्यक्ष विरबहादर शाही, वडा सदस्यहरु पदबहादुर शाही, रतिमान कामी र वाटुली शाही, कर्मचारी मानबहादुर शाही सहितको टोलीले आफै खेतमा पसेर मार्सी धानको रोपाई गर्न थालेका हुन्।

‘मार्सीधान जुम्लाको पहिचान हो, अहिलेको आवश्यकता भनेको नै मार्सीधान बचाउनु हो।’  वडाध्यक्ष शाहीले भने, ‘त्यसका लागि यो समयमा हामी खेतवारीमा किसान संगै रमाइरहेका छौँ।’ उनले भने,‘मार्सी जुम्लाबासीको चामल मात्रै होइन्, यहाँको संस्कार र संस्कृतिसंग जोडिएको पहिचान पनि हो। ’

मार्सी चामल हाम्रो पोसिलो खाना  र पहिचान सँग जोडिएको हुनाले सरंक्षण गर्ने दायित्व पनि आफुहरुको भएको जनप्रतिनिधिहरु बताउँछन्। यहाँका सबै वडापालिकामा जनप्रतिनिधिहरुको सहभागितामा रोपाई गरिने हिमा गाउँपालिकाले जनाएको छ। धानमा बिषादी निषेध गर्ने र जैविक मल उत्पादनका जोड दिने र अर्गानिक गाउँपालिका बनाउनको लागि पहल भइरहेको छ।

पछिल्लो समयमा मार्सीधानको चामलले बजार पाएपछि अहिले किसानहरु मार्सि रोप्नमा जोड दिदै आएका छन्। निकै संघर्ष गरेर उत्पादन हुने मार्सी चामलको बजार धेरै छ। जनप्रतिनिधि नै अगुवा लागेर धान रोप्न थालेपछि किसान पनि निकै उत्साह पूर्वक रोपाई गरिरहेका छन्।

  जेठको पहिलो हप्ता देखी धान रोप्न शुरु भएको हो। अग्लो स्थानमा भने जेठको अन्तिममा रोपाई गर्ने चलन रहेको छ।  चिसो मौसमका कारण समयमै धान नरोपेमा समयमा नपाक्ने भएकाले यहाँ जेठको पहिलो साताबाटै रोपाई शुरु गरी असार पहिलो सातामा सक्ने गरिन्छ। यसैगरी कार्तिकको पहिलो साता देखी दोस्रो सातामा रोपेको धान भित्र्याउने चलन रहेकोछ। यहाँको धान उत्पादन कम हुने भएपनि निकै पोषिलो मानिन्छ। 

जिल्लाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङकोट र पानसयमा स्थानीय कालिमार्सी र रातिमार्सी धान रोप्ने काम धमाधम भइरहेकोछ।

 

प्रकाशित: १३ जेष्ठ २०७६ ०९:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App