तनहुँको शुक्लागण्डकी नगरपालिका-२ सुन्दरी गाउँस्थित एक कच्ची घरको धुरीबाट सोमबार साँझ १८ किलो तौल भएको अजिङ्गरको सकुशल उद्धार गरिएको छ।
स्थानीय नेत्रबहादुर रानाको कच्ची घरको धुरीमा अजिङ्गर देखिएपछि इलाका प्रहरी कार्यालय बेलचौतारामा खबर गरिएको थियो। करिब २.५ मिटर लामो र १८ किलोग्राम तौल भएको उक्त अजिङ्गरलाई साँझ ६ बजेतिर नियन्त्रणमा लिइएको हो।
घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोष्ट कोत्रेबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) रामचन्द्र पौडेलको कमान्डमा खटिएको प्रहरी टोली र डिभिजन वन कार्यालय तनहुँका सशस्त्र वनरक्षकहरूको संयुक्त टोलीले अजिङ्गरको उद्धार गरेको थियो।
उद्धार गरिएको अजिङ्गरलाई सुरक्षित व्यवस्थापनका लागि डिभिजन वन कार्यालय तनहुँ पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: १६ कार्तिक २०८३ २१:२४ सोमबार





