१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

फोन गर्न ३ घन्टा पैदल!

एक वर्ष देखि सञ्चार अवरुद्ध भएको जुनीचाँदेको वस्ती। तस्बिरः जनक/नागरिक

जाजरकोट– जुनीचाँदे गाउँपालिका ८ मैनपाखाका लालबहादुर बस्नेतलाई कतै फोन गर्नु प-यो भने ३ घन्टा पैदल हिड्नु पर्छ। गाउँमा  कुनै पनि फोनको नेटवर्कले काम नगर्ने भएपछि बस्नेत टावर खोज्दै अग्लो डाँडा जान्छन्। ‘कसैलाई फोन गर्नु परे तीन घन्टा जति हिडेपछि टावर टिप्ने ठाउँ पुगिन्छ, अनि कुरा गर्छु।’ बस्नेतले भने।

गत वर्षको असार महिनामा  जुनीचाँदे गाउँपालिका  २ मजकोटमा रहेको  नेपाल टेलिकमको टेलिफोन टावर बिग्रिएपछि गाउँपालिकाको ९ वटा  वडाका अधिकांश बस्तीका सर्वसाधारण सञ्चारबाट बञ्चित छन्।

स्थानीय सरकार, जनप्रतिनिधि र अन्य सरोकारवाला निकायमा  बारम्बार  समस्या दर्शाउदा पनि कुनै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ।  ‘फोनको टावर विग्रिएको  ११ महिना भयो, अझै बनेको छैन। हाम्रो कुरा कोही सरकारले सुनेन।’  जुनीचाँदे  ८ मैनापाखाका  लालवहादुर वस्नेतले भने।

फोनको नेटवर्क खोज्नै आधा दिन लाग्ने गरेपछि आफुहरु निकै पीडित भएको स्थानीय बताउँछन्। चुनावका वेला हाम्रा समस्या पुरा गर्छु भन्ने नेताले आज  एक वर्ष सम्म फोन टावर बन्द हुदा पनि केहि गरेनन्’ स्थानीय रुपा दमाइले आक्रोस पोख्दै भनिन्।

जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले  यस वारेमा आफुले  नेपाल टेलिकम, वन तथा वातावरण मन्त्री शक्तिवहादुर  वस्नेत र अन्य निकायमा पटक पटक  गम्भीर ढंगले  कुरा पु-याए पनि काम नभएको  बताए।  ‘यो विषयमा मैले गाउँ सभा र जिल्ला सभाको वैठकमा निकै गम्भीर भएर कुरा उठाएको छु  तर  गतिलो सुनुवाइ भएको छैन,’ उनले थपे  ‘फोनको टावर बिग्रिएको  एक वर्षसम्म गाउँपालिकाका जनता सन्चार सम्पर्क विहीन छन्, तर सरोकारवाला निकायले राज्यलाई गन्दैन।’

प्रकाशित: १० जेष्ठ २०७६ ११:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App