१६ मंसिर २०७८ बिहीबार
समाज

पुराना टायरबाट आकर्षक घरायसी सामान

टायरबाट बनेका फर्निचरका सामग्री।तस्बिरः नागरिक

पर्वत– सामान एउटा प्रयोजनका लागि ल्याइन्छ। तर, त्यसको उपयोगपछि फ्याँकिन्छ। फ्याँक्ने अवस्थामा पुगेको वस्तु अर्को प्रयोजनका लागि उपयोग हुन्छ भन्ने कमैलाई मात्र थाहा हुन्छ। यहाँका एक युवाले एउटा प्रयोजनमा प्रयोग भएर फ्याँकिएका सामानबाट अन्य सामान उत्पादन गरेर राम्रो कमाइ गर्दै आएका छन्।

गाडी, ट्र्याक्टर, बस, ट्रकलगायतका सवारी साधनको टायरको उपभोग अवधि सकिएपछि सडकमा बाल्न, लास पोल्न र इँटा पोल्न प्रयोग हुँदै आए पनि यहाँका एक युवाले तिनै पुराना टायरबाट घर सजावट र फर्निसिङका आकर्षक सामग्री उत्पादन गरेका छन्। जलजला गाउँपालिका–३ मल्लाजका ३२ वर्षीय दिपेश केसीले जलजला गाउँपालिका–८ नाङ्लीवाङमा पुराना टायरको फर्निसिङ उद्योग सञ्चालनमा ल्याएर राम्रो कमाइ गर्न सफल भएका हुन्।

साढे दुई वर्षअघि उनले स्थापना गरेको ‘ढिकीजाँतो हस्तकला उद्योग’ मा साइकलदेखि ट्र्याक्टरसम्मका पुराना टायरबाट बनेका आकर्षक सामग्री देख्न सकिन्छ। पुराना टायर संकलन गरेर टायरबाटै ऐना, मुढा, फूल रोप्ने विभिन्न प्रकारका गमला, कुर्सी र टेबल, विभिन्न प्रकारका सोफा सेट, लाइटलगायतका दुई दर्जन बढी प्रकारका सामग्री उक्त उद्योगले उत्पादन गर्दै आएको छ।

केसीले पुराना टायरको २० रुपैयाँदेखि १०० रुयैयाँमा खरिद गर्छन्। त्यो टायरबाट कलात्मक सामग्री तयार गरेपछि १० गुणासम्म फाइदा हुन्छ।


विद्यार्थी भिसामा २०६७ सालमा जापान पुगेका केसीले त्यहाँ चार वर्ष बस्दाको सीप आफ्नै गाउँमा लगानी गरेका हुन्। जापानको हेन्डिक्राफ्ट र गाडीको सिट बनाउने कम्पनीमा उनले काम गरेका थिए। ‘मैले काम गरेको कम्पनीमा पुराना टायरको एक टुक्रा पनि खेर जाँदैनथ्यो,’ उनले भने, ‘त्यहाँ काम गर्दा यहाँ यत्रतत्र छरिएका थोत्रा टायरको निकै याद आउँथ्यो।’ उनले आफ्नो सीपको सदुपयोग गर्नकै लागि घर फर्किएर साढे दुई वर्षदेखि यो उद्योग सञ्चालनमा ल्याएको बताए। साढे दुई वर्षको संघर्षपछि सन्तुष्टि मिलेको पनि उनले बताए।

नेपाल फर्किएपछि उनले २०७२ मा उद्योगका लागि जग्गा खोज्नमै केही महिना बिताए। तत्कालीन नाङ्लीवाङ गाविसमा मालढुंगा–बेनीको छेवैमा १० रोपनी जग्गा भाडामा लिएर कच्चा पदार्थ प्रशोधनका लागि भवन बनाए। एक वर्षमा भवन तयार भयो। अनि थोत्रा टायर संकलनमा उनी जुटे। बेनीदेखि पोखरासम्मका थोत्रा टायर संकलनमै केही महिना बित्यो। सबै तयारी गर्दा उनले १८ महिना बिताए। नियमित रूपमा उत्पादन सुरु गरेको अहिले झन्डै डेढ वर्ष हुन थालेको छ।

दिपेशलाई यो व्यवसाय गर्न दाजु दिलीप केसीले प्रेरणा दिएका हुन्। उद्योगमा हालसम्म भएको करिब ६० लाख लगानी जुटाउनेदेखि पुराना टायर खोज्ने, कामदार खोज्ने र उत्पादित सामानको बजारीकरण गर्नेसम्मको काममा दाजु दिलीपले नै सघाउँदै आएका छन्। दुई वर्षको अवधिमा उनको उद्योगबाट सन्तोषजनक रूपमा फर्निसिङ सामग्री उत्पादन भइरहेको छ। उनले हाल बेनी र कुश्मामा आफ्नो उत्पादनको सो–रुम सञ्चालनमा ल्याएका छन्।

उनका उत्पादन पछिल्लो समय आकर्षक घर सजावटका माध्यम बनेका छन्। विदेशी पर्यटकको भीड हुने र नयाँ व्यवस्थापन चाहने ग्राहकका लागि सन्तुष्टि मेटाउन होटलहरूमा बढी माग हुने गरेको दिपेशले सुनाए। ‘लञ्च र डाइनिङ टेबल सेटको माग धेरै छ,’ उनले भने, ‘हिजोआज ह्याङ्गिङ लाइट (भित्तामा झुन्ड्याउने) र किरिङको पनि अर्डर आउन थालेको छ। केसीले पुराना टायरको २० रुपैयाँदेखि १०० रुयैयाँमा खरिद गर्छन्। त्यो टायरबाट कलात्मक सामग्री तयार गरेपछि १० गुणासम्म फाइदा हुन्छ।

‘एउटा टेबुल सेट बनाउँदा १० वटा टायर खर्च हुन्छ। त्यो सेट १८–२० हजारमा बिक्री हुन्छ,’ उनले भने। उद्योगमा अहिले आफूसहित पाँच जना कामदार छन्। नेपालमा यसको उत्पादन अन्यत्र कतै नभएकाले यो सम्बन्धी दक्ष कामदार पाउन मुस्किल छ। कोरा कामदार ल्याएर आफैंले काम सिकाएर सामग्री उत्पादन गर्दै आएको उनले बताए। ‘अब माग धान्न पनि कम्तीमा १० जना थप कामदार बढाउनुपर्नेछ,’ उनले भने, ‘टिकेर काम गर्ने मान्छे खोजिरहेको छु।’

उनले अब बाँसका सामग्री उत्पादन पनि सुरु गर्ने भएका छन्। ‘बाँसबाट टायरको भन्दा बढी फाइदा लिन सकिन्छ,’ उनले भने। पछिल्लो समय कुश्माका होटल, रेस्टुरेन्ट, कार्यालय, संघसंस्थामा टायरबाटै निर्माण भएका फर्निसिङका सामग्री देखिन थालेको छ। विशेषगरी त्यस्ता सामग्रीमा पर्यटकहरू आकर्षित हुने गरेका छन्।

प्रकाशित: ९ जेष्ठ २०७६ १३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App