१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मिक्लाजुङ हत्याकाण्ड: ‘पत्याउनै गाह्रो, सपनाजस्तो’

आरुबोटे (पाँचथर) - मिक्लाजुङ गाउँपालिका–३ स्थित आरुबोटे बजार र आसपास क्षेत्रका बासिन्दाको अनुहार बुधबार दिनभरि मलिन देखियो। गाउँलेमा कुनै उत्साह देखिएन। दुई परिवारका नौजनाको सोमबार राति घरमै भएको हत्याबारे अनेक अडकलबाजी लगाइरहेका उनीहरू त्रसित र हतास देखिन्थे। उनीहरूलाई नौजनाको हत्या सपनाजस्तो लागेको छ। ‘गाउँमा त शान्ति थियो। अलिअलि झैझगडाबाहेक थिएन। त्यसै मान्छे तराई झ¥या हैन रहेछन्’ जस्ता टिप्पणी स्थानीयले गरेको सुनियो।

दुई घरमा रगतका टाटैटाटा थिए। सामान्य आर्थिक अवस्थाका दुई परिवारले घरमा बर्खालाई दाउरा र खाद्यान्नको जोहो गरेको देखियो। दुवै घरलाई प्रहरीले घेरेका थिए। गोठमा बस्तुभाउ कराइरहेका थिए। आफन्त अनेक बिलौना गरेर रुँदा गाउँले निशब्द बने।

‘सपनाजस्तो लागेको छ। काममा फर्किन मनै छैन। खान, काम गर्न, सुत्न मन लागेको छैन। एकतमासको भइएको छ’, स्थानीय व्यवसायी कुमारी माङलाकले भनिन््, ‘यहाँभन्दा भयावह अवस्था के हुन सक्छ र ?’

गाउँमा सुरक्षाकर्मी बाक्लै परिचालित भए पनि मनबाट भय हट्न नसकेको स्थानीयको भनाइ छ। आँखामा मारिएकाको अनुहारमात्र नाचिरहेको स्थानीय जनप्रतिनिधि डुजन फियाकले बताए। मारिएका नौजनामध्ये चार १५ वर्षमुनिका छन्। ‘चपिङबोर्डमा प्याज काटेझै हत्या गरेको देखियो। शरीरका विभिन्न भागमा खुकुरी र छुरी प्रहार भएको देखिन्थ्यो’, अर्का स्थानीय पहलमान फियाकले भने, ‘यो घटनालाई विभिन्न कोणबाट अनुुसन्धान गरिनुपर्छ। यस्तो विरक्तलाग्दो घटना मैले देखेको थिइनँ।’

हत्या गरिएका धनराज सेर्माको घर आरुबोटे बजारदेखि नजिकै पर्छ। धनराजसहित उनको परिवारका पाँचजनाको हत्या भएको हो। त्यस्तै हत्या गरिएका बमबहादुर फियाकको घर धनराजको घरबाट करिब डेढ किलोमीटर दुरीमा छ। बमबहादुर धनराजका ससुरा थिए। बमबहादुरसहित उनकी पत्नी फुर्सिमाया, कान्छी छोरी मनकुमारी र साइँली छोरीतिरकी नातिनी आशिका खजुमको हत्या भएको हो। घटनापछि घरबाट माइती आएका जेठी छोरी दिलमाया फियाक र साइली बुद्धमाया फियाक अलपविलाप गर्दै रोइरेहका थिए।

घरबाट भागेकी आशिकाकी दिदी सीता खजुमको दमकमा उपचार हँुदैछ। भाग्ने क्रममा उनी घाइते भएकी हुन्। उनको स्थास्थ्य अवस्था समान्य रहेको जानकारी दिइएको छ। उनी भागेर छिमेकीको घरमा शरण लिन पुगेकी थिइन्। ‘नानी (सीता) हडबडाउँदै आएपछि डरले ढोका थुनेर बस्यौं’, छिमेकी कान्छीमाया फियाकले भनिन्।

छिमेकी सुनकान्छी फियाकले बमबहादुरका घरका मानिस मंगलबार बिहान किन उठेनन् भनेर हेर्न जाँदा हत्या भएको भेटेको बताइन्। त्यसपछि ज्वाइँ धनराजलाई जानकारी गराउन फोन गर्न खोज्दा नलागेपछि घरमा जाँदा उनको परिवारका सबैको हत्या भएको भेटिएको स्थानीयले बताए। धनराज, उनकी पत्नी जस्मिता, दुई छोरी युहाना र मुना तथा भतिजी इच्छाको हत्या भएको थियो। धनराजको परिवार नै सखाप भएको छ।

विभिन्न कोणबाट अनुसन्धान र प्राप्त विवरणको विश्लेषण गर्ने काम भइरहेको डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए। ‘हामीले विभिन्न किसिमबाट अनुसन्धान गरिरहेका छौं। विभिन्न विश्लेषण भइरहेको छ’, उनले भने, ‘धरानमा शवको पोस्टमार्टम भएको छ। पोस्टमार्टम रिपोर्टले पनि अनुसन्धान गर्न सहयोग मिल्ला।’ प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पनि घटनास्थलमा आएर अनुसन्धान थालेको छ। ब्युरोबाट एसपी उमाप्रसाद चतुर्वेदी नेतृत्वको टोली घटनास्थल आएको छ।

स्थानीयको आशंका

दुई परिवारका नौजनाको हत्या मिक्लाजुङ–७ का ३१ वर्र्षीय मानबहादुर माखिमले गरेको प्रहरीको प्रारम्भिक अड्कल छ। माखिम मंगलबार दिउँसो धनराज र बमबहादुरको घरदेखि करिब २५ किलोमिटर टाढा झुन्डिएर मरेको अवस्थामा फेलापरेका थिए। प्रारम्भिक रुपमा माखिमले नौजनाको हत्या गरेको अनुमान गरिएको डिएसपी कुँवरले बताए। माखिम धनराजका कान्छा ज्वाइँ थिए। उनी पत्नी मनकुमारी (बमबहादुरकी छोरी) सँगको सम्बन्धमा दरार आएर सम्बन्ध विछोडको चरणमा पुगेको स्थानीयले बताए। पाँच वर्ष विदेशमा बसेर आएका माखिम गाउँमै मजदुरी गर्थे। उनी झुन्डिएको स्थाननजिक खुकुरी र केही कपडा भेटिएको छ।

स्थानीयले भने माखिम एक्लैले नौजनाको हत्या गरेको पत्याउन सकिरहेका छैनन्। मारिएकाको शरीरमा खुकुरी र छुरी प्रहार गरेको देखिएकाले एकजना भन्दा बढी यो घटनामा संलग्न भएको पहलमान फियाकको आशंका छ। यस्तै किसिमको आशंका अन्य स्थानीयको पनि छ। दुवै घटनास्थल करिब डेढ किलोमिटरको दुरीमा भएकाले एकजनाबाट नौजनाको हत्या कसरी सम्भव होला भन्ने आशंका पैदा भएको पुष्प फियाकले बताए।

विद्यार्थी तनावमा
‘हत्या गरिएकी युहाना कक्षा तीनमा पढ्थिन्। उनी मज्जाकी थिइन्। मेरी त भान्जी पनि पर्थिन्। मारेछन्। माया लाग्छ। स्कुल जान पनि डर लागेको छ’, सहपाठी विवेक फियाकले भने। उनले घटनापछि विद्यालय जान डर लागेको बताए। त्यस्तै घटनापछि स्कुल जान डर लागेको कक्षा ८ मा पढ्ने विशेक फियाकले बताए। स्थानीय आरुबोटे मावि बुधबार पनि सञ्चालन हुन सकेन। विद्यार्थी त्रसित्र अवस्थामा देखिन्थे। हत्या गरिएका मध्ये मुना कक्षा ४, इच्छा कक्षा–१, आशिका कक्षा–७ मा पढ्थे।

वडा कार्यालय सुनसान

घटनास्थल छेउमै रहेको वडा कार्यालयमा बुधबार सेवाग्राही देखिएनन्। जहिले कामको चाप हुने वडा कार्यालय सुनसान जस्तै थियो। वडासचिव सञ्जय राईले पनि अफिसमा बसेर काम गर्न मन नलागेको बताए।

नुनमा सिसा
एक साताअघि धनराजको घरमा नुनमा सिसा पिनेर मिसाइएको पाइएको थियो। धनराजको घरमा थुक्पा खाएपछि एक गैरसरकारी संस्थाको तालिममा सहभागी आठजना बिरामी परेका थिए। बिरामी परेपछि खोजी गर्दा नुनमा सिसा पिनेर मिसाइएको पाइएको थियो। थुक्पा खाएका आठजनाको सदरमुकाम फिदिममा उपचार भएको थियो। यो घटना पनि नौजना हत्याकाण्डमा जोडिन सक्ने आंशका स्थानीयको छ। नुनमा कसले सिसा पिनेर मिसायो भन्ने खुल्न सकेको छैन। यस विषयमा पनि अनुसन्धान हुनुपर्ने स्थानीयको माग छ।

पोस्टमार्टमपछि शव आफन्तको जिम्मा

धरान - पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा हत्या गरिएका नौजना र झुन्डिएर आत्महत्या गरेका एकजनाको पोस्टमार्टम भएको छ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा बुधबार पोस्टमार्टम गरिएको हो। इलाका प्रहरी कार्यालय, धरानका डिएसपी ढुण्डीराज न्यौपानेले भने, ‘१० वटा शवको पोस्टमार्टम गरियो। आफन्तले शव जिम्मा लिएका छन्।’

आरुबोटेमा सोमबार राति ७४ वर्षीय बमबहादुर फियाकको परिवारका चार र उनका माहिला ज्वाइँ धनराज सेर्माको परिवारका पाँचैजनाको हत्या गरिएको थियो। ससुरा–ज्वाइँको घर करिब एक किलोमिटर दुरीमा छ। हत्यामा संलग्न भएको आशंका गरिएका मानबहादुर माखिम मंगलबार दिउँसो मिक्लाजुङकै लिम्बामा झुन्डिएर मरेको अवस्थामा फेलापरेका थिए। उनी बमबहादुरका कान्छा ज्वाइँ थिए। पत्नी (बमबहादुरकी कान्छी छोरी मनकुमारी) पति माखिमसँग सम्बन्ध बिग्रिएपछि माइतै बस्दै आएकी थिइन्।

घरमै सुतेको अवस्थामा बमबहादुर, उनकी पत्नी ७१ वर्षीया फर्सिमाया, कान्छी छोरी ३१ वर्षीया मनकुमारी र नातिनी १३ वर्षीया आशिकाको हत्या भएको थियो। त्यस्तै ४१ वर्षीय धनराज, उनकी पत्नी ३६ वर्षीया जस्मिता, छोरीहरु १३ वर्षीया युहाना, ६ वर्षीया मुना र भतिजी ८ वर्षकी इञ्छाको पनि घरमै हत्या भएको थियो।

पोस्टमार्टमपछि आफन्तले बमबहादुरको परिवारका चारजनाको शव मिक्लाजुङ र धनराजको परिवारका पाँचजनाको शव माङजाबुङ लगेर गएका छन्।

प्रकाशित: ९ जेष्ठ २०७६ ००:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App