६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

‘भाषा र संस्कृतिले समाजलाई जोड्छ’

रौतहट – सांसद डा. अमरेशकुमार सिंहले भाषा र संस्कृतिले समाजलाई जोड्ने बताएका छन्। काका सामुदायिक सिकाइ केन्द्र बलराद्वारा आयोजित ‘बज्जिका भाषा संगोष्ठी,  विगत, वर्तमान र भविष्य’ विषयक कार्यक्रमको उद्घाटन गर्दै सांसद सिंहले बज्जिका भाषाको प्रचारप्रसार अभियानलाई निरन्तर जोडिराख्नुपर्नेमा जोड दिए। सांसद सिंहले आफ्नो मातृभाषा बज्जिका रहेकाले त्यसको संरक्षण र विकासका लागि संसद्मा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे।

नेपाल प्रज्ञा प्रतिष्ठानको मातृभाषा विभागका अध्यक्ष प्रा.डा. योगेन्द्रप्रसाद यादव, त्रिवि भाषा विज्ञान विभागका प्रा.डा. देवनारायण यादव तथा बज्जिका साहित्यकार सञ्जय मित्रद्वारा प्रस्तुत कार्यपत्रमाथि वरिष्ठ पत्रकार चन्द्रकिशोर तथा भारतका बज्जिका साहित्यकार डा. व्रजनन्दन बर्माले टिप्पणी गरे। नेपाल–भारतका दर्जनौं साहित्यकार तथा भाषासेवीको उपस्थिति रहेको कार्यक्रममा जितेन्द्रप्रसाद सिंहद्वारा प्रकाशित तथा सम्पादित बज्जिका साप्ताहिक पत्रिका ‘प्रभात खबर’ र साहित्यकार सञ्जय मित्रद्वारा लिखित मुक्तक कृति ‘बज्जिका जिन्दावाद’को पनि लोकार्पण गरिएको थियो।

मध्यपश्चिमी महोत्तरीदेखि मध्यपूर्वी बारा गरी चार जिल्लाका करिब २५ लाखले मातृभाषाका रूपमा बज्जिका बोल्ने गरेको दाबी कार्यक्रममा गरिएको थियो। २०६८ को जनगणनाअनुसार देशमा करिब ३ प्रतिशतले बज्जिका भाषा बोल्ने गरेको देखिएको छ। प्रदेश २ का प्रमुख तीन भाषामा बज्जिका पनि रहेकाले सरकारी कामकाजको भाषाका रूपमा त्यसलाई कायम गर्नुपर्ने माग सहभागीहरूको थियो।

प्रकाशित: ६ जेष्ठ २०७६ ०२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App