९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

अझै उठ्न सकेन हिमाली गाउँ लप्ची

दोलखास्थित तिब्बती सीमासँग जोडिएको हिमाली गाउँ लप्चीमा २०७२ सालको भूकम्पले भत्काएको घर। तस्बिर: नागरिक

दोलखा - २०७२ सालको भूकम्पले तहसनहस पारेको सीमावर्ती हिमाली गाउँ लप्ची अझै उठ्न सकेको छैन। घर बनाउन आवश्यक जनशक्ति र निर्माण सामग्री लैजाने बाटोको अभावले लप्चीमा पुनर्निर्माण सुरु हुन नसकेको हो। सदरमुकाम चरिकोटदेखि ६७ किलोमिटरको दूरीमा रहेको लामाबगर गाउँबाट उता दुई दिनको पैदलयात्रापछि मात्र बिगु गाउँपालिका–१ स्थित लप्ची गाउँ पुगिन्छ। लामाबगरभन्दा उता लुम्नाङ र लप्ची गरस् दुईवटा मात्र बस्ती छन्। जाडो याममा लुम्नाङ झर्ने र गर्मी चढेपछि लप्ची उक्लिने भएकाले दुवै बस्तीका मानिसहरू उही नै हुन्।

गत साता मात्र बस्ती निरीक्षण गरेर फर्किएका गाउँपालिकाका उपाध्यक्ष सञ्जीव ओलीले ३४ घरधुरीमध्ये एउटाको पनि पुनर्निर्माण हुन नसकेको जानकारी दिए। गाउँ पुग्ने बाटो अप्ठ्यारो भएकाले निर्माण सामग्री ओसार्न समस्या परेको र घर बनाउने जनशक्तिको अभाव भएको हुँदा पुनर्निर्माण अघि बढ्न नसकेको उनको भनाइ छ। ‘लामाबगरबाटै त्यहाँ पुग्न पहाडैपहाड छिचोलेर दुई दिन हिँड्नुपर्छ,’ उनले भने, ‘मान्छे मात्र हिँडेर पुग्नै त सकस पर्छ, त्यस्तो ठाउँमा निर्माण सामग्री बोकाएर पु-याउनु त झनै कठिन हुन्छ।’ लाभाग्राही सूचीमा परिवारबाट छुट्टिएर घुरधुरी कायम भएका केहीले लुम्नाङमा घर बनाए पनि लप्चीमै चाहिँ एउटा पनि घर बन्न नसकेको उनले सुनाए। अघिल्लो वर्ष गाउँभरिका सबै मिलेर घर बनाउन खोज्दा काठ नपाइएको र सदरमुकामबाट निर्माण सामग्री ल्याउन नसकिएको स्थानीय ज्येष्ठ नारिक आङदुक्टुप शेर्पाले बताए।

‘गाउँका केहीले तल लुम्नाङमा घर बनाए,’ उनले भने, ‘हिउँ परिरहेका कारण हामीले माथि घर बनाउन सकेनौं।’ निर्माण सामग्री ओसार्न लामाबगरबाट लुम्नाङसम्म भरिया र लुम्नाङबाट लप्चीसम्म जोप्के र घोडा प्रयोग गरिन्छ। पुनर्निर्माण हुन नसकेका कारण लप्चीका बासिन्दा कटेरोमै छन्। भुइँचालोका बखत गाउँमा एकजनाको मृत्यु भएको थियो भने बाटो बिग्रेका कारण झन्डै एक वर्ष सिंगै गाउँ नाकाबन्दीमा परेजस्तै भएको थियो। घर निर्माणका लागि गाउँलेसँग समन्वय गरेर आगामी साता ४० जनाजति मजदुर लप्ची पठाउन लागिएको ओलीले सुनाए।

‘लामाबगरमा निर्माण भइरहेको माथिल्लो तामाकोसीसहित उत्तरी भेगमा बनेका आयोजनाहरूमा काम खोज्न आएका मजदुरलाई स्थानीय सरकारसँगको समन्वयमा लप्चीको पुनर्निर्माणका लागि त्यसतर्फ पठाउने तयारी गरिरहेका छौं,’ ओलीले भने। यो गाउँ बैंकिङ पहुँचबाट समेत टाढा भएका कारण सरकारी अनुदान एकैपटक दिने व्यवस्था गर्न लागिएको ओली बताए। ‘किस्ता–किस्तामा अनुदान रकम लिन जान गाह्रो हुने भएकाले घर बनाइसकेर एकैपटक तीन लाख रुपैयाँ लिन पाउनेगरी गाउँपालिकाको तर्फबाट व्यवस्था गर्न लागेका हौं,’ ओलीले भने।

लप्चीको जनसंख्या तीन सय १४ मात्र हो। उनीहरूमध्ये आधाको आउजाउ तिब्बती बजार र आधाको नेपालतर्फ हुन्छ। तिब्बतको टिंग्रीस्थित भोट बजार केही दिन हिँडेपछि पुगिन्छ भने नेपालतर्फ सदरमुकाम चरिकोट आइपुग्न दुई दिन पैदलयात्रा गर्नुपर्छ। गाडीबाट भने ६ घन्टामै चरिकोट आइपुगिन्छ। लामाबगरबाट लप्ची हुँदै तिब्बतसम्म सडक पु-याउने नारा सरकारले बर्सेनि लागाउने गरे पनि बजेट अभाव देखाउँदै वर्षांैदेखि सडक आयोजना अलपत्र पार्दै आएको छ।

प्रकाशित: ५ जेष्ठ २०७६ ००:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App