२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

द्वन्द्वको उदगमस्थलमा शान्तिको प्रतीक

रुकुम -  तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र १० वर्षे जनयुद्धको क्रममा सबैभन्दा बढी क्षति भएको गाउँ हो महत। साविक रुकुम जिल्ला हुँदा छुट्टै गाविस रहे पनि अहिले महत गाउँ रुकुम (पूर्व)को भुमे गाउँपालिका–५ र ६ नम्बर वडामा पर्छ। द्वन्द्वकालमा महत गाउँँ निकै चर्चामा थियो। २०५२ फागुन १ गतेदेखि सुरु सशस्त्र युद्धको पाँच दिनपछि अर्थात फागुन ५ गते राज्यपक्षको आक्रमणबाट यहाँकी धनमाया श्रेष्ठको मृत्यु भयो। धनमाया यस गाउँकी पहिलो सहिद हुन्।

द्वन्द्वको समयमा धनमाया जस्तै महत गाउँमा ५८ जना सर्वसाधारण सहिद भएका छन्। विभिन्न समयमा भएका आक्रमणमा परी सामूहिक तथा एक÷एक गरेर यहाँका नागरिकलाई राज्य र विद्रोही दुवै पक्षबाट हत्या गर्ने काम भएको थियो। महतवासीले बिर्सन नसक्ने घटना २०५६ साल असोज ५ भएको थियो। सो दिन राति तत्कालीन माओवादीले यहाँको प्रहरीचौकीमा आक्रमण गरी तत्कालीन डीएसपी ठुले राईलाई अपहरण गरेपछि महत सुरक्षाकर्मीको निगरानीमा प¥यो। युद्धको समयमा माओवादीले प्रहरीका उच्च अधिकारीलाई अपहरण गरेको यो नै पहिलो घटना थियो। घटनामा सातजनाको एकै पटक मृत्यु भयो। सो दिन चौकीमा आश्रय लिइरहेका कांग्रेस महासमिति सदस्य पूर्णबहादुर बुढासँगै ६ प्रहरीको मृत्यु भएको थियो।

२०५६ कात्तिक १ गते पनि यहाँ अर्काे ठूलो घटना भयो। सो दिन सुरक्षाकर्मीले माओवादीका कार्यकर्ता भन्दै ६ जनाको एकै ठाउँमा हत्या गरेको थियो। त्यसयता द्वन्द्वकालको अवधिमा कहिल्यै आफूहरूले राम्ररी खान नपाएको यहाँका स्थानीय बताउँछन्। पटकपटक माओवादी र सुरक्षाकर्मीको युद्धस्थलको साक्षीका रूपमा उनीहरू रहेका छन्। महत गाउँमा सुरक्षाकर्मीबाट ५२ र माओवादीबाट ६ गरी ५८ जनाको मृत्यु भएको थियो।

महत गाउँमा सुरक्षाकर्मीबाट ५२ र माओवादीबाट ६ गरी ५८ जनाको मृत्यु भएको थियो ।

द्वन्द्वको समयमा प्रायः दैनिक बारुदको धुलो र गोलीका खोक्रा गाउँमा बर्सने गरेको यहाँका स्थानीय नरबिर बुढा बताउँछन्। कतिबेला कुन ठाउँमा कसको मृत्यु हुन्छ भन्ने कुराको कुनै ठेगान नै नहुने गरेको उनी सम्झन्छन्। प्रहरीद्वारा अन्धाधुन्ध चलाइएको गोली लागि यहाँकी ६ वर्षीया बालिका उर्मिला बुढादेखि ७६ वर्षका वृद्ध कुठु बुढासम्मको हत्या भएको अर्का स्थानीय शिक्षक प्रताप सुनारले बताए।

महतवासीले बिर्सन नसक्ने अर्काे घटना २०६० असोज ६ गते भएको थियो। सो समयमा घरमै बसिरहेका १७ जना सर्वसाधारणलाई सुरक्षाकर्मीले गोली हानी हत्या गरेको थियो। गाउँले सबै जंगलतिर भागेपछि मृत्यु भएकाहरूको शव एक सातासम्म नउठेको उनी सम्झन्छन्।
यसरी द्वन्द्वको समयमा पीडा भोगेको महत गाउँमा पछिल्लो समय भने शान्तिको प्रतीक निर्माण गरिएको छ। महत गाउँबिचमै गौतम बुद्धको सालिक निर्माण गरी शान्तिको विकास गर्न थालिएको हो। यहाँका सहिद परिवारलाई सान्त्वना प्रदान गर्नुका साथै उनीहरूको पीडामा थोरै भए पनि मलमपट्टी लगाउन शान्ति स्मारक स्थापना गरिएको जिल्ला समन्वय समिति रुकुम (पूर्व)का प्रमुख गजेन्द्रबहादुर ओलीले बताए। गौतम बुद्धको सालिकछेउमै सहिद स्मृति पार्क पनि निर्माण गरिएको छ। उक्त स्मृति पार्कमा द्वन्द्वको अवधिभर यहाँ सहिद भएकाहरूको विवरण राखिएको छ।

समाजमा द्वन्द्वको व्यवस्थापन गरी दिगो शान्ति स्थापना गर्न शान्तिका प्रतीक गौतमबुद्धको सालिक निर्माण गरिएको प्रमुख ओलीको भनाइ छ। गौतमबुद्धको सालिकले यहाँको पर्यटन विकासमा समेत महŒवपूर्ण योगदान पु¥याउने उनको विश्वास छ। तत्कालीन जिल्ला विकास समिति र नेपाली सेनाको सहकार्यमा उक्त सालिक स्थापना गरिएको हो। सालिक निर्माणपछि आफूहरूको पीडा केही कम भएको द्वन्द्वपीडितको भनाइ छ।
द्वन्द्वप्रभावित महत गाउँमा निर्माण गरिएको गौतम बुद्धको सालिक। तस्बिर ः लोकेन्द्र÷नागरिक

प्रकाशित: ३ जेष्ठ २०७६ ०२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App