तिलाठी (सप्तरी) - नेपाल–भारत अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा झन्डै आठ वर्षयता थुनिएको खाँडो नदीको बहाव तत्काल यो वर्षअगाडि नखुल्ने पक्का भएको छ। सो नदीमा सर्भे गरिरहेको भारतीय पक्षले यसपालिको वर्षाअघि नदीको बहाव खुलाउन नसकिने बताएको हो। भारतको बिहार राज्य सरकारमातहत रहेको जल संसाधन विभागले एसडिओ विद्याशंकर बर्माको नेतृत्वमा बुधबारदेखि पुनः नदीमा सर्भे थालेको हो।
बिहीबार सर्भेका क्रममा भेटिएका बर्माले सर्भे गर्न अझै १० देखि १५ दिन लाग्ने बताए। सर्भेपछि पुरिएको मुहान खन्ने कार्य थाल्ने सन्दर्भमा शर्माले तत्कालै सम्भव नरहेको प्रतिक्रिया दिए। ‘चार वर्षअघि पनि सर्भे गरेर दिएका थियांै। त्यस अनुसार बजेट बनाउनेलगायतका कार्य पनि भएको थियो। तर कारणवश काम भने हुन सकेन,’ बर्माले भने, ‘त्यतिबेलाको कामको क्वान्टिटी र अहिलेको क्वान्टिटीमा निकै फरक छ। बजार भाउसमेत बढेकाले दररेट पनि बढाउनुपर्ने हुन्छ। तसर्थ सर्भेपछि सोहीअनुसार बजेटिङलगायत काम पनि गर्नुपर्ने भएकाले तत्कालै काम प्रारम्भ होलान् भने लाग्दैन।’ यसका अतिरिक्त अब केही दिनभित्रै वर्षायाम प्रारम्भ हुने भएकाले वर्षामा नदी खन्ने काम पनि सम्भव नरहेको हुँदा आउने अक्टुबर (असोज÷कात्तिक) तिरबाट मात्रै काम प्रारम्भ हुन सक्ने उनले बताए।
सन् २०१४ यता दुई देशीय विज्ञहरूको टोलीले यस क्षेत्रको संयुक्त अवलोकन गरेको यो तेस्रोपटक थियो। यसअघि सन् २०१४ र २०१६ मा पनि दुवै देशका संयुक्त प्राविधिकहरूको टोलीले उक्त विवादित क्षेत्रको अनुगमन गरेको थियो।
कोसीको सहायक नदीका रूपमा परिचित खाँडो नदी सप्तरीस्थित चुरे क्षेत्रबाट निस्किएर दसगजा हुँदै भारततर्फ बगेको थियो। तर सीमाक्षेत्रमा नदीको प्राकृतिक बहावमा अवरोध हुनेगरी भारतीयहरूले बनाएको सडक, बाँध तथा चिहान क्षेत्रलगायत संरचनाका कारण दसगजा क्षेत्रमा खाँडो नदीको बहाव थुनिएको थियो। दसगजा क्षेत्रमा नदीको बहाव थुनिएपछि वर्षायाममा बर्सेनि सप्तरीको तिलाठीसहितका जिल्लाको दक्षिणी भेगका आधा दर्जनभन्दा बढी गाउँबस्ती डुबानमा पर्दै आएका छन्। यस भेगका बासिन्दाले बहाव क्षेत्रलाई पुरानै अवस्थामा ल्याएर नदीलाई सहज निकास दिनुपर्ने माग दोहो¥याउँदै आएका छन्। तर अन्तर्राष्ट्रिय सीमाक्षेत्रका कारण दुई देशबीचको सहमतिबिनै सो कार्य गर्न सकिने अवस्था नरहेको नेपाली पक्षको भनाइ छ।
बाढीले नेपालसँगसँगै सीमापारि भारतीय गाउँहरूसमेत डुबान हुन थालेपछि पछिल्ला दुई वर्षयता भारतीयहरूले समेत नदी खन्नुपर्ने माग भारतीय पक्षसमक्ष उठाउन थालेका छन्। तर पनि दुवैतिरका स्थानीय प्रशासन एवं सम्बन्धित निकायको उदासीनताले अझै काम थाल्न नसकिएको यस भेगमा बसोबास गर्ने नेपाल तथा भारततिरका गाउँलेहरूको गुनासो छ।
बर्सेनि सर्भे र अनुगमन
खाँडो नदीमा बाह्रै महिना पानीको बहाव रहँदैन। चुरे क्षेत्रबाट निस्किने भएकाले वर्षायाममा मात्रै देखिने यो नदीको बाढीले गाउँबस्ती डुबानमा पार्न थालेपछि सर्वसाधारणको आक्रोश न्यूनीकरणका लागि वर्षैपिच्छै नेपाल र भारतको संयुक्त टोली यस भेगमा सर्भे गर्न आउने गरेको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीका अध्यक्ष दिनेश्वर मिश्रको भनाइ छ। उनका अनुसार गत वर्ष असारको दोस्रो सातातिर पनि नेपाल र भारतका जलस्रोतका विभागका ठूला अधिकारीहरूको संयुक्त टोली यस भेगको अनुगमन गरेर फर्केका थिए। त्यतिबेला उनीहरूले आगामी वर्ष जसरी पनि समस्या समाधानको प्रतिबद्धता जनाएका थिए। तर यो वर्ष अहिलेसम्म काम नथालिएकोमा सर्वसाधारण बाढीको भयले चिन्तित रहेको मिश्र बताउँछन्।
गत वर्ष नेपालतर्फबाट जल उत्पन्न प्रकोप व्यवस्थापन विभागका उपमहानिर्देशक प्रदीप थापा तथा भारततर्फबाट केन्द्रीय जल संशाधन विभागका निर्देशक अजयकुमार सहभागी थिए। सन् २०१४ यता दुई देशीय विज्ञहरूको टोलीले यस क्षेत्रको संयुक्त अवलोकन गरेको यो तेस्रोपटक थियो। यसअघि सन २०१४ र २०१६ मा पनि दुवै देशका संयुक्त प्राविधिकहरूको टोलीले उक्त विवादित क्षेत्रको अनुगमन गरेको थियो। तर हालसम्म पनि समस्या समाधानतर्फ दुवै तिरका जिम्मेवार निकाय मौन रहेको स्थानीयहरूको आरोप छ। सीमाक्षेत्रमा भारतीयहरूले बनाएको बाँधका कारण खाँडो नदीको निकास थुनिएपछि उक्त क्षेत्रका बासिन्दा बर्सेनि बाढी र डुबानको समस्या झेल्न बाध्य भएका छन्। भारतीय पक्षको उदासीनताका कारण खाँडो नदी नियन्त्रणको काम प्रभावकारी हुन सकिरहेको छैन। खाँडो नदी नियन्त्रण आयोजनामार्फत नेपाली पक्षले खाँडो नियन्त्रणका लागि जतिसुकै लगानी गरे पनि दसगजा क्षेत्रमा थुनिएको खाँडो नदीको बहावलाई निकास दिन नसक्दा यस वर्ष पनि जिल्लाको दक्षिणी भेग डुबानमै रहने प्रायः निश्चित छ।
२०७४ असार तथा साउनको अन्तिम सातातिर खाँडो नदीमा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका तथा राजविराज नगरपालिकामा ठूलो पारेको थियो। जिल्ला विपद व्यवस्थापन समितिको तथ्यांकअनुसार तिलाठीसहित उक्त गाउँपालिकामा उक्त बाढीका कारण १४ करोड ६४ लाख बढीको व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति क्षतिग्रस्त भएको थियो। बाढीकै कारण तिलाठी कोइलाडी–४ का एक बालकको मृत्युसमेत भएको थियो भने तीन हजार नौ सय ९७ घर बाढीले क्षतिग्रस्त भएका थिए। त्यस्तै सदरमुकाम राजविराज नगरपालिकामा भने खाँडो नदीकै बाढीका कारण दुईजनाको मृत्यु भएको थियो भने २८ करोड २७ लाख ५९ हजारको धनमालको क्षति भएको थियो। यहाँका आठ हजारभन्दा बढी घरलाई बाढीले क्षति पु¥याएको थियो। दसगजामा नदीको प्राकृतिक बहावलाई निकास नदिइए जतिसुकै तटबन्ध बनाए पनि त्यसको सार्थकता केही पनि स्थानीय नागरिक समाजका अगुवा कृपानन्द झा बताउँछन्।
अन्तर्राष्ट्रिय मान्यताअनुरूप दसगजा क्षेत्रमा कुनै काम गर्दा दुई देशकै सहमतिअनुरूप गर्नुपर्ने हुन्छ। तर सो समस्या समाधानका लागि भारतीय पक्षले अझै पनि चिन्ता र चासो देखाउन नसकेको खाँडो नदी नियन्त्रण आयोजना कार्यालय राजविराजको भनाइ छ। २०६७ सालदेखि नै भारतीय र नेपाली पक्षबीच अनौपचारिक रूपमा यसबारे छलफल भइरहेको छ। त्यतिबेलै भएको ® दुई पक्षीय छलफलपछि सप्तरीको सकरपुरादेखि भारत बिहारको डगमारासम्म संयुक्त सर्भेसमेत गरिएको थियो, जसमा दुवैतिरका केही स्थानीय अगुवासमेत सहभागी थिए। सन् २०१४ मार्चमा भारत बिहारको पटनामा भएको दुई देशका जलस्रोत अधिकारीहरूको बैठकमा सप्तरीको तिलाठी तथा रम्पुरा मल्हनियाँ भई दसगजा हुँदै भारततर्फ बग्ने खाँडो तथा जिता नदीको निकासका लागि विस्तृत योजनासहित काम अघि बढाउने सहमति भएको थियो। भारत सरकारले उक्त योजनालाई स्वीकृति नदिँदा अझै समस्या समाधान गर्न नसकिएको नेपाली पक्षको आरोप छ।
डुबानकै कारण सीमाक्षेत्रमा विवाद
विवादित भारतीय बाँधकै कारण २०७३ साउन १४ मा तिलाठीस्थित दसगजा क्षेत्रमा नेपाल–भारतका स्थानीयबीच झडपसमेत भएको थियो। कुनौली बोर्डरस्थित कोसीको पश्चिमी तटबन्धदेखि सप्तरीको तिलाठीस्थित खाँडो नदीसम्मको झन्डै तीन किलोमिटर भूभागमा भारतीयहरूले सन् १९७४ देखि नै निर्माण थालेको स्थानीयको भनाइ छ। त्यतिबेला उनीहरूकै बाँधका कारण उत्तर दक्षिण भएर नेपालबाट भारततर्फ बग्ने तीन नदी खाँडो, महुली र जिता आफ्नो प्राकृतिक बहाव परिवर्तन गरी पूर्व–पश्चिम हुँदै पूर्ण रूपमा नेपालतर्फ बग्न लागेको स्थानीय अञ्जनीकुमार दास बताउँछन्।
जिल्लाको दक्षिणी सिमानामा पर्ने तिलाठी, लौनियाँ, बेल्ही, सकरपुरा, कोइलाडी, बनरझुला, कुसहा, तोपा, मन्सापुर, बभनगामा कट्टीसहितका बस्तीहरूलाई मिलाएर हाल बनाइएको तिलाठी–कोइलाडी गाउँपालिका भारतीय बाँधले दशकौंदेखि प्रभावित बन्दै आएका छन्। बाढी, डुबानको दृष्टिले यी गाउँहरु बाढीको उच्च जोखिममा पर्ने गर्दछन्। ‘मूल समस्या भनेको दक्षिणतर्फ नदीको सहज निकास नहुनु हो,’ तिलाठीका पूर्वगाविस उपाध्यक्ष अमिर झा भन्छन्, ‘उत्तर दक्षिण भएर वग्ने खोलाको प्राकृति बहाव थुन्नेगरी बीचमै बाँध बनाइदिएर डुबानको समस्या भएको हो।’
प्रकाशित: ३ जेष्ठ २०७६ ०१:१८ शुक्रबार