१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

वन कार्यालयले आगो निभाउन ध्यान दिएन

चुरेक्षेत्रमा बाँकी रहेको ठाउँमा फैलिँदै डढेलो। तस्बिर : दिलबहादुर/नागरिक

बुढीतोला (कैलाली) - कैलालीको गोदावरी–४ मा पर्ने चुरेक्षेत्रमा भीषण आगजनी भएको छ। आगजनीका कारण दुईवटा सामुदायिक वन र राष्ट्रिय वनमा डढेलो फैलिएर पूरै जंगल सखाप भएको छ। स्थानुसार सो वनमा यसरी भीषण डढेलो फैलिएको १० वर्षयताको पहिलो घटना हो। ‘घना जंगल, ठूलाठूला झाडी, पातको थुप्रो भएकाले लागेको आगो हामीले नियन्त्रण गर्न सकेनौं,’ वाड सदस्य शेरबहादुर घर्तिमगरले भने, ‘डढेलो जंगलभरि फैलिएर सबै सखाप पार्‍यो।’

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीदेखि २२ किलोमिटर दूरीमा रहेको गोदावरी पुल पार गरेपछि उकालो सुरु हुन्छ। यसको केही माथिको भागबाट खानडाँडासम्मको २३ किलोमिटर क्षेत्र डढेलोका कारण धुवाँमय बनेको छ। शनिबार वनक्षेत्रमा लागेको डढेलो चारैतिर फैलिएपछि सेरोफेरोको बस्तीका दुई सयभन्दा बढी परिवार प्रभावित भएका छन्। गोदावरी–४ मा १२ वटा टोल छन्। ‘डढेलो फैलिएपछि १२ वटै टोलका गरेर दुई सयभन्दाब बढी परिवार प्रभावित छन्,’ वडा सदस्य घर्तीमगरले भने, ‘डढेलोले खानेपानीको पाइप जलेकाले बस्तीमा खानेपानीको हाहाकार भएको छ।’

स्थानीय कविता शाहीका अनुसार डढेलोले गाउँको च्याउ खेतीलगायत तरकारी बालीमा ठूलो क्षति भएको छ। चुरेको डाँडोमा सबैतिर ढडेलो फैलिएकाले पूरै क्षेत्र धुवाँमय बनेको छ। ‘१० वर्षयता सामुदायिक वनमा यस्तो आगो लागेको थिएन,’ स्थानीय ८० वर्षीय हरिबहादुर खनालले भने, ‘कुन अपराधीले आगो लगाउँदा सबै जंगल सखाप भयो, सबैतिर आगो फैलिएको छ।’ सेती सामुदायिक वनका पाँच ब्लकमध्ये चार ब्लक आगोले सखाप भएको खनालले बताए। डढेलो जनजागरण सामुदायिक वन र राष्ट्रिय वनमा पनि फैलिएको छ। ‘डढेलोको धुवाँले घरभित्रसमेत आँखा पोलिरहेको छ,’ उनले भने।

चोरीशिकारी गर्नेले आगो लगाएको आशंका

यहाँको वनक्षेत्रमा ठूलाठूला झाडी, घना जंगल भएकाले वनयजन्तु धेरै थिए। जंगलको झाडीमा चितुवासमेत बस्ने गथ्र्यो। केही दिनअघि ठूलो झाडीभित्र एउटा माउ चितुवा र दुईवटा बच्चा देखिएको स्थानीय तुलसी भट्टराई बताउँछन्। ‘म जंगलमा गएको बेला झाडीभित्र दुई बच्चासहित माउ चितुवा देखेको थिएँ, चितुवा देखेपछि भागेर आएँ,’ उनले भने। जंगलमा बँदेलको संख्या पनि उल्लेख्य रहेको स्थानीय बताउँछन्। हरिण, मृग, रतुवालगायत जंगली जनावर पनि यो जंगलमा बस्थे। डढेलो लागेपछि दुई बच्चासहितको चितुृवा सुरक्षित स्थानमा जान सक्यो वा त्यहीं मर्‍यो भन्ने थाहा हुन सकेको छैन। सडकभन्दा तीन सय मिटरभित्र जंगलमा गएर कुनै व्यक्तिले नियतवश आगो लगाएको स्थानीय बताउँछन्।

‘सडकमा ओहोरदोहोर गर्ने व्यक्तिले फालेको चुरोटको ठुटो वा अन्य वस्तुले वनमा आगो लागेको भए सडक छेउबाट लाग्नुपथ्र्यो,’ वडा सदस्य घर्तीमगर भन्छन्, ‘सडकभन्दा तीन सयमिटरभित्र जंगलवाट आगलागी सुरु भएकाले कुनै व्यक्तिले जंगलभरि गएर लगाएको देखिन्छ।’ विगतका वर्षमा चोरी शिकारी गर्ने व्यक्तिले जंगलमा आगो लगाउने गरेकाले अहिले पनि त्यसै भएको हुनसक्ने स्थानीयको आशंका छ। ‘जंगलभित्र पसेर आगो लगाउनुपर्ने अरू कारण देखिँदैन,’ घर्तीमगरले भने, ‘चोरी शिकारी गर्ने समूहले आगो लगाएको हुनुपर्छ।’ सबैतिर भीषण आगजनी भएकाले आगो निभाउने प्रयास सफल हुन नसकेको स्थानीयले बताए। आगो निभाउने कार्यमा सहयोग गर्न वन कार्यालय, सुरक्षा निकाय सबैलाई जानकारी गराएको तर पूरै जंगल सखाप हुँदा पनि सहयोग गर्न कोही नआएको स्थानीय बताउँछन्। ‘पूरै जंगल सखाप हुँदा पनि सरकारी निकायले निभाउन कुनै चासो दिएनन्’ स्थानीय दिलिपबहादुर सिंहले भने। डढेलोले जंगलमा रहेका काफल, लालीगुराँस, अम्रिसो, साल, सल्लालगायत बोटबिरुवा नष्ट गरेको छ। सामुदायिक वनको जंगलमा रहेका तीन हजार क्युबिक फिट काठ पनि नष्ट भएको छ।

वन कार्यालयले आगो निभाउन ध्यान दिएन

वरपरको जंगलमा एकाएक डढेलो फैलिएपछि यहाँका केही टोलका घर पनि जोखिममा परे। आफ्नो घर तथा गाईवस्तु डढेलोबाट जोगाउन स्थानीयलाई हम्मेहम्मे पर्‍यो। चिन्ता र डरले उनीहरू शनिबार र आइतबारको रातभरि सुतेनन्। घर तथा गाईगोरु बचाउन आगो बस्तीतिर फैलिन नदिने प्रयासमा उनीहरू रातभरि लागिरहे। ‘१२ परिवारको हाम्रो टोल छ, डढेलो फैलिएपछि रातभरि पानी र गोबर छ्यापेर घर जोगायौं’ स्थानीय मुक्त अधिकारीले भने, ‘आगो निभाउँदा मेरो हात पोल्यो, लुगा जले।’ घरलाई पालले छोपेर त्यसमाथी पानी, गोबर राखेर घर जोगाएको स्थानीय कविता शाहीले बताइन्। घरवरपर आएको डढेलो भोलिपल्ट बिहान चार बजे बल्लतल्ल नियन्त्रणमा लिएको स्थानीयले बताए। वनमा लागेको डढेलोले वन्यजन्तु, वन पैदावर तथा जैविक विविधतामा ठूलो क्षति हुने भएकाले सरकारले आगजनी नियन्त्रण गर्न वन कार्यालयमार्फत बजेट विनियोजन गरेको हुन्छ। तर विनियोजित रकम तथा वन कार्यालयका जनशक्तिको उपयोग डढेलो नियन्त्रणका लागि हुनेगरेको पाइँदैन। दुई दिनदेखि फैलिएको आगोले जंगल सखाप पारे पनि वन कार्यालयको फायर फाइरिङ टोली घटनास्थलमा पुगेको छैन।

‘वन कार्यालयमा फायर फाइटिङ टिम भए पनि यति भीषण आगलागीको सूचना पाउँदा वन कार्यालयले समयमा फायर फाइटिङ टिम किन परिचालन गरेन भन्ने प्रश्न उठेको छ,’ वनविज्ञ तथा पूर्व वनअधिकृत रमेश चन्दले भने, ‘यस्तै हो भने सरकारले आगलागी नियन्त्रण गर्न भनी छुट्याएको बजेटको के अर्थ भो ?’ कैलाली वन कार्यालय प्रमुख रामचन्द्र कँडेलले चुरेमा लागेको आगजनीको विषयमा वन कार्यालय चुप लागेर बसेको भन्ने कुरा सत्य नभएको र आगो निभाउने प्रयास भइरहेको बताए। ‘सो क्षेत्रमा सधैं आगो लाग्थ्यो, यो वर्ष अलि बढी लागेको हो,’ उनले भने, ‘आगो नियन्त्रण गर्ने विषयमा सुरक्षा निकायसँग समन्वय गर्दैछौं।’

प्रकाशित: ३१ वैशाख २०७६ ०१:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App