२ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

गाउँपालिका अध्यक्षले रोके प्रअको तलब

लहान– विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धित विद्यालयले गर्ने प्रावधान छ। तर, सिरहाको लक्ष्मीपुरपत्तारी गाउँपालिकामा अध्यक्षले नै व्यवस्थापन समिति गठन गरेर प्रधानाध्यापकलाई कार्यान्वयन गर्न दबाब दिएको खुलेकोे छ। आफूले गरेको निर्णय कार्यान्वयन नगरेको भन्दै गाउँपालिका अध्यक्षले प्रअको तलबसुविधा नै रोकिदिएका छन्।

आधारभूत विद्यालय धनछवारमा मंसिर १० गते भेलाबाट चार सदस्य विद्यालय व्यवस्थापन गठन भयो। समितिलाई पूर्णता दिन दुई सदस्य मनोनित गर्नुपर्छ। जसका लागि विद्यालयले पुनः पत्राचार गरी भेला बोलाउनुपर्छ। तर, यस विद्यालयको व्यवस्थापन समितिको पूर्णता गाउँपालिकाले दिएको छ। सम्बन्धित वडाका अध्यक्ष, विद्यालयका प्रधानाध्यापकको अनुपस्थितिमा पूर्ण समिति गठन गर्नु अवैधानिक भएको भन्दै प्रधानाध्यापक तारणीप्रसाद चौधरीले कार्यान्वयन गरेनन्। गाउँपालिका अध्यक्ष रामबल्लब साहले पटक पटक समितिलाई सदर गरेर खाता सञ्चालन गर्न दबाब दिए पनि प्रअले टेरेनन्। कानुन मिचेर गरिएको निर्णय म कसरी सदर गरिदिनु ? प्रअ चौधरीले नागरिकसँग भने, ‘विद्यालय नियमले चल्ने हो मनपरीले होइन।’

यो विद्यालय लक्ष्मीपुरपत्तारी–४ मा छ। यस वडाका वडाध्यक्ष विद्यानन्द साह सुडी हुन्। समिति गठनबारे उनी अनविज्ञ छन्। अवैध तरिकाले गठन गरिएको समितिलाई कार्यान्वयन नगर्न वडा अध्यक्ष सुडीले प्रअ चौधरीलाई पत्राचार गरेको छ। ०७५ माघ ६ गते (च नं. ८५६)को पत्रमामार्फत सुडीले अवैध समितिलाई सदर नगर्न भनेको छ।

यता गाउँपालिका अध्यक्ष रामबल्लब साहले ०७५ माघ ८ गते(च नं.३९३) को पत्रमार्फत समितिको नाममा खाला सञ्चालन गराएर कार्यान्वय गर्नु भनेको छ।

प्रअ चौधरी भन्छन्, म बिदामा बसेको बेला गाउँपालिका अध्यक्षले समिति गठन गरिदिएर कार्यान्वयन गर भन्नु न्यायोचित होइन। अध्यक्षले नियमविपरितको कार्यलाई कार्यान्वयन नगरिदिँदा मेरो तलबसुविधा नै रोकिदिनु कहाँको न्याय हो, प्रअ चौधरीले भने।

यस गाउँपालिकाका स्रोत व्यतिm एकलासकुमारी यादवका अनुसार व्यवस्थापन समिति गठन, विस्तार गर्नु विद्यालयको काम हो। समिति गठनका लागि भेला बोलाउने काम पनि विद्यालयकै हो। गाउँपालिकाले भेला बोलाउनु वा समिति गठन गर्नु नियमविपरीत भएको उनले भनिन्। प्रअको तलबसुविधा गाउँपालिकाले रोक्न नमिल्ने उनले बताइन्।

गाउँपालिका अध्यक्ष रामबल्लब साहले भने, ‘विद्यालय व्यवस्थापन समितिलाई सदर नगरेकोले प्रअको तलब रोकिदिएकै हुँ।’ हामीले गरेको निर्णय कार्यान्वयन नगरिदिएपछि उनको तलब रोकिएको हो बाँकी शिक्षक कर्मचारीको तलब निकासा भइसकेको उनले बताए।

मंसिर १० गतेको भेलाबाट अर्जुन मण्डल, हरिप्रसाद सदा, बबिताकुमारी दास, जलासीदेवी सदाय व्यवस्थापन समिति सदस्य चयन भएका थिए। यस समितिमा दुई जना सदस्य मनोनित गरेर यसैमध्येबाट अध्यक्ष चुन्नेर समितिलाई पूर्णता दिन विद्यालयले पुनः अर्को भेला बोलाउनुपर्ने थियो।

खोसिएको हाजिरीपुस्तिका फर्काएनन्
आधारभूत विद्यालय धन्छवारका विद्यालय व्यवस्थापन समिति सदस्य हरिप्रसाद सदायले आफूले भनेको प्रअ तारणी चौधरीले नमानेको भन्दै शिक्षक हाजिरीपुस्तिका खोसेर लगे। शिक्षक हाजिरीपुस्तिका खोस्दै आफूमाथि सदायले अभद्र व्यवहार गरेको भन्दै प्रअ चौधरी इलाका प्रहरी कार्यालय लक्ष्मीपुरपत्तारी पुगे। यहाँ छलफलबाट हाजिरीपुस्तिका फिर्ता गर्ने सहमति बन्यो।

सदाले फागुन ८ गते खोसेर लगेको हाजिरीपुस्तिका अझै विद्यालयलाई फिर्ता गरेको छैन। हाजिरी रजिष्टर खोसेर लगेपछि पठनपाठनमा शिक्षकलाई समस्या भएको छ। १ देखि कक्षा ५ सम्म पढाइ हुने यस विद्यालयमा दुई सय ४ जना बालबालिका अध्ययनरत छन्। विद्यालयमा दरबन्दीमा प्रअ चौधरी र विश्वम्भर शर्मा कार्यरत छन्। बालविकासतर्फ देवकुमारी चौधरी, शिवकुमारी सिंह र विना यादव सहयोगी कार्यकर्ताका रुपमा कार्यरत छन्।

विद्यालयका प्रधानाध्यापक चौधरीले समितिका सदस्य सदाले आफूलाई गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नियुक्ति गरेकोले आफ्नो नाममा खाता सञ्चालन गर्न दिएको दबाब नमान्दा अभद्र व्यवहार गर्दै हाजिरीपुस्तिका खोसेर लगेको बताए।

विद्यालय व्यवस्थापन समितिका सदस्य हरिप्रसाद सदाले प्रअमाथि आफूले अभद्र व्यवहार नगरेको जिकिर गरे। शिक्षक हाजिरीपुस्तिका खोसेर लक्ष्मीपुरपतारी गाउँपालिकामा बुझाएको उनले बताए।

प्रकाशित: २७ वैशाख २०७६ ०५:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App