२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

६८ करोड बाँकी राखेर चिनी मिल बन्द

रौतहट- भुक्तानीको लागि करोडौँ रुपैया बाँकी राख्दै उद्योग बन्द भएपछि किसानहरुमा फेरि निरासा बढेको छ। विगतका वर्षहको ८ करोड र चालू क्रसिङ सिजनको ६० करोड रुपैयाँ भुक्तानी दिनुपर्ने रकम बाँकी राख्दै गत हप्ता गरुडास्थित श्रीराम सुगर मिल्स बन्द भएको छ।

गत पुस महिनामा संचालनमा आएको उद्योगले १३ लाख ७७ हजार १ सय ४ क्विन्टल उखु क्रसिङ गरेको छ। गत वर्षको रकम निकै बाँकी रहेको हुनाले किसानले उद्योगलाई उखु बिक्री गर्ला कि नगर्ला भन्ने आशंकाबीच संचालनमा आएको उद्योगले अपेक्षाकृत राम्रो उखु पाएको थियो।

उद्योगले उखु पाउन थालेपछि किसानको भुक्तानीमा उद्योगले चासो दिएको थिएन। समयमा भुक्तानी नदिँदा गत वर्षकै ८ करोड बाँकी छ। उद्योगले १ लाख १३ हजार क्विन्टलभन्दा बढी चिनी उत्पादन गरेको छ। उद्योग बन्द हुनासाथ चिनीको भाउ बढ्ने सम्भावना छ। चालु क्रसिङ सिजनमा नेपालका अधिकांश चिनी उद्योगले राम्रो मुनाफा कमाउने देखिएको विश्लेषकहरु बताउँछन्।

उद्योगले राम्रो मुनाफा कमाउने भए पनि किसानलाई भने निकै दुःख दिएको आरोप किसानहरु लगाउँछन्। छ बिगाहा खेतमा लगाएको उखु चिनी उद्योगलाई बेचे पनि हालसम्म एक रुपैयाँ पनि भुक्तानी नदिँदा आफूलाई घर बनाउन निकै कठिन भएको गढीमाई नगरपालिकाको समनपुरका किसान कामेश्वर सहनीले बताएका छन्। उद्योगले भुक्तानी नदिँदा घरको सामान केही उधारोमा केही ब्याजमा पैसा उठाएर ल्याइरहेको बताउँछन्।

गम्हरियाका उखु किसान रामदेव राउतले छोरीको बिहे नै ऋण काढेर गरेको बताएका छन्। उद्योग संचालन हुँदाको समय उद्योगले उखु किनेको ४५ दिनमा भुक्तानी दिने प्रतिबद्धता व्यक्त गरेको हुनाले विश्वास गरेर उखु बेचेको तर उद्योगले समयमा भुक्तानी नदिँदा व्यवहार धान्न निकै मुस्किल भएको राउतको भनाइ छ।

राउतले उद्योगसित ४ लाख रुपैयाँ भुक्तानी लिन बाँकी रहेको छ। उद्योगले समयमा भुक्तनी नदिँदा राउतजस्ता किसानले निकै समस्या व्यहोर्नु परेको उखु उत्पादक संघका अध्यक्ष अशोकप्रसाद यादवको दाबी रहेको छ।

उद्योगले किसानलाई भुक्तानी दिनुपर्ने करिब ६८ करोड रुपैयाँ बाँकी राखेका आफूहरुको निरन्तर दबाबले गत शुक्रबार दुई करोड रुपैयाँ बैंकमा पठाएको उद्योगले जनाएको अध्यक्ष यादवको दाबी छ। उद्योगको गोदाममा चिनी पर्याप्त रहेको तर किसानलाई अहिले पैसा नदिन उद्योगीपतिले केही महिनापछि चिनीको मूल्य बढेपछि बेचेर दिने दाउमा रहेको आरोप अध्यक्ष यादवको रहेको छ।

उद्योगले किसानलाई तिर्नुपर्नेै रकमको विषयमा जानकारी लिन उद्योग प्रशासनमा बारम्बार सम्पर्क गर्दा पनि हुन सकेन। किसानले उद्योगलाई दिनुपर्ने उखु पु-याइसकेको र अब उद्योगले किसानको कुरा तुरुन्तै नसुन्ने पुरानै रोगले उद्योग फेरि ग्रसित बनेकोमा किसानहरु चिन्तित बनेका छन्।

प्रकाशित: २३ वैशाख २०७६ १३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App