३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

आमाको काजकिरियामा दुई छोरी

आमाको मृत्युपछि काजकिरिया गर्दै दुई छोरी संगीता र सरला। तस्बिरः नागरिक

धादिङ– हिन्दु संस्कार अनुसार आमाबुवा र अन्य परिवारका सदस्यको मृत्यु भएमा छोरीले किरिया बस्नु हुदैन भन्ने चलन छ। प्रायः बाबुआमाको मृत्युपछि छोराले नै काजकिरिया गर्छन्। तर धादिङमा भने आफ्नी आमाको मृत्युपछि दुई छोरीहरुले नै काजकिरिया गरेका छन्। धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ ढोला घर भइ हाल नीलकण्ठ नगरपालिका वडा नम्बर ३ धादिङबेसीमा बस्दै आएका २१ वर्षीया संगीता र १७ वर्षीया सरला दुवाडीले आमाको काजकिरिया गरेका हुन्।

उनीहरुकी आमा ४१ वर्षीया भगवती दुवाडीको क्यान्सर कारण यहि वैशाख १७ गते मृत्यु भएको थियो। आमाको मृत्यु भएपछि दुई छोरीहरु काजकिरियामा बसेका हुन्। दुवाडी परिवारमा पनि छोरीहरुले आमाको किरिया बस्ने अठोट लिए पछि पारिवारिक सल्लाहमै मृत्यु पश्चातको संस्कार पुरा गर्ने जिम्मेवारी छोरीहरुलाई दिइएको हो।

बुबा विश्वराम दुवाडीले सामाजिक सञ्जाल फेसबुकमा कोरा बसेकी दुई छोरीहरुको फोटो सहित आफ्नो छोरीहरुको आँट, साहसलाई सम्मान गर्दै प्रशंसा गरेका छन्। उनले फोटो सहित यस्तो लेखेका छन् –‘धन्यवाद मेरो प्यारी छोरीहरुलाई, आँट र साहस गर्दै समाजमा रहेको अन्धविस्वासको अन्त्य गरी आफ्नो ममीको मृत्यु पश्चात गरिने सम्पुर्ण कार्यहरु आँफै गर्ने निर्णय गरेकोमा, छोरीहरु पनि छोरा भन्दा कम छैनन भन्ने सबैलाई उदाहरण बनोस।’ सामाजिक सन्जालमा किरिया बसेका छोरीहरुलाई धेरैले प्रशंसा गरेका छन्।

समाजमा छोरा र छोरीबीच हुने विभेदलाई चुनौती दिँदै आफूहरू किरिया बसेको जेठी छोरी संगीता दुवाडीले बताइन्। ‘छोरासरहको कर्म बुबाआमाले हामी छोरीलाई पनि दिनुभएको छ’, उनले भनिन्, ‘त्यसैले छोराहरुले गर्न सक्ने काम हामीहरु पनि गर्न सक्छौँ भन्ने लागेर किरिया बसेका हौँ।’ उनीहरूले किरिया गर्दा कपाल खौरनेबाहेक अरु सबै विधि पु-याएका छन्। समाजमा अझै पनि छोरीहरू किरिया बस्ने चलनलाई अस्वाभाविक मानिँदै आएको छ।

 घरमा आमाको किरिया गर्नका लागि छोरा नभएपछि छोरीहरूले नै दागबत्ती दिएर काजकिरिया गरेका हुन्। संगिता र सरलाले किरिया गर्दा कपाल खौरनेबाहेक अरु सबै विधि पुरा गरिरहेका छन्। जेठी छोरी संगीता स्नातक तह र कान्छी सरला कक्षा ११ मा पढ्दै छिन्। पछिल्लो समय छोराले मात्र काजकिरिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै छोरीहरुले पनि काजकिरिया गर्न थालेका छन्।

प्रकाशित: २३ वैशाख २०७६ ११:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App