बारा - गत चैत १७ गतेको विनाशकारी हुरीबाट क्षति भएका घरहरूको पुनर्निर्माण कार्य शनिबार सुरु भएको छ। संघीय सरकारका उपप्रधानमन्त्री, मन्त्रीहरू र प्रदेश २ का मुख्यमन्त्रीले बाराका १० स्थानमा पुगेर जनता आवास निर्माण योजनाको शिलान्यास गरेपछि पुनर्निर्माण सुरु भएको हो। वर्षायामअघि नै आवास बनाइसक्ने गरी तीन चरणमा निर्माण कार्य अगाडि बढाइएको र त्यसमा सेनाले समन्वय गरिरहेको चन्दन गणका गणपति कर्णेल पारसविक्रम शाहले जानकारी दिए। पहिलो चरणमा एक महिनाभित्र सकिने गरी चार सय ८२ घर तथा दोस्रो–तेस्रो चरणअन्तर्गत साउनभित्र पूर्ण क्षति भएका घरहरूको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको उनले बताए।
निर्माण गर्न लागिएका घरमा दुई कोठा, एउटा बरन्डा र एउटा बाथरुम रहेको जनता आवास कार्यदलका सदस्यसमेत रहेका नेपाली सेनाका इन्जिनियर महेन्द्र सिजापति थापाले बताए। उनका अनुसार सेनाले निर्माण गर्न जिम्मा पाएको एउटा घरको निर्माणमा मूल्य अभिवृद्धि करसहित पाँच लाख ४५ हजार रुपैयाँ खर्च हुनेछ। हुरीबाट बाराका आठवटा स्थानीय तहका विभिन्न गाउँमा गरी पूर्णरूपमा क्षति भएका एक हजार तीन सय ६२ घरलाई पहिलो प्राथमिकतामा राखेर निर्माण कार्य अघि बढाइएको सेनाले जनाएको छ। निर्माण गर्न लागिएका घरमा परिवारलाई राख्न समस्या हुने पीडितले बताएका छन्। कलैया उपमहानगरपालिका–१३ फुलबरियामा शिलान्यास गरिएका दुईकोठे घरमा परिवारका सबै सदस्य रहन नसक्ने भन्दै हुरीपीडित जोखु बैठाले गुनासो गरे। पहिलाका भत्किएका चारकोठे घरमा परिवारका १२ जना बस्ने गरेको उनले जानकारी दिए। पहिला चारकोठे घर र बरन्डा रहेकोमा त्यसैअनुसार नयाँ घर निर्माण गर्नुपर्ने उनको माग छ।
मुख्यमन्त्री लालबाबु राउत गद्दी, कलैया उपमहानगरपालिका प्रमुख राजेशराय यादव र वडा अध्यक्ष राजन पटेलले संयुक्त रूपमा बैठाको घरको शिलान्यास गरेका थिए। शिलान्यास गरिएपछि फेटा गाउँपालिका–१ को भलुही भरवलियामा एक सय ७४, वडा नम्बर ६ को पुरैनियामा ६८, कलैया उपमहागनरपालिका–१८ मनगढवामा एक सय ८८, वडा नम्बर १२ धर्मनगरमा एक, वडा नम्बर १३ फुलबरियामा १५, सुवर्ण गाउँपालिका–४ हर्दियामा एक सय ४३, वडा नम्बर ८ पशरामपुरमा ६५, वडा नम्बर ५ को औरहिया र पशरामपुरमा २०, प्रसौनी गाउँपालिका–४ को खुटवामा एक सय ५६, महागढिमाई नगरपालिका–७ तेलगाईमा ५७, देवताल गाउँपालिका–७ को रामपुर्वामा ७७, पचरौता नगरपालिका–७ बेनौलीमा २८, वडा नम्बर २ बैरियामा सात र परवानीपुर गाउँपालिका–४ र ७ को शिवपुर, रामटोल र विर्ताटोलमा दुई सय ७२ गरी पहिलो चरणमा १३ सय ६२ घर निर्माण कार्य अगाडि बढेको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताएका छन्।
फेटाको पुरैनियामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परवानीपुरको चैनपुरमा उपप्रधान, स्थास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, प्रसौनीको खुटवा जब्दीमा गृहमन्त्री रामबहादुर थापा, कलैया उपमहानगरपालिका फुलबरिया र देवतालको रमपुर्वामा मुख्यमन्त्री लालबाबु राउत गद्दी, सुवर्णको हर्दियामा भौतिक पूर्वाधार तथा यातयातमन्त्री रघुवीर महासेठलगायतले १० स्थानका घरको शिलान्यास गरेको नेपाली सेनाले जनाएको छ। शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले हुरीबाट घरविहीन बनेकाहरूको साउनअघि नै घर बनाइदिनुपर्ने भएकाले निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएको बताए। सेनाले निर्माण गर्न लागेका घर समयमै पूरा गराउन प्रदेश र स्थानीय सरकारको पनि सहयोगी भूमिका रहनुपर्ने सुझाव पोखरेलले दिए। वर्षा सुरु हुनुअगाडि नै निर्माण सम्पन्न गर्ने उद्देश्यले सेनालाई निर्माणको जिम्मा दिएकोमा सेनाका लागि चुनौती र अवसर दुवै थपिएको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सेनाका रथी गौरव टण्डनले बताए। साउनअघि नै घर निर्माण गर्नका लागि निर्माण सामग्री र मौसम चुनौती रहेको रथी टण्डनले बताए।
प्रकाशित: २२ वैशाख २०७६ ०२:२२ आइतबार