coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सगरमाथा आधारशिविरबाट डेढ दर्जन टेन्ट उडायो

सोलुखुम्बु - हावाहुरीले सगरमाथाको आधारशिविरबाट डेढ दर्जन पाल उडाएको छ। समुद्री चक्रवात फानी र पश्चिमी वायुका कारण बिहीबार बेलुका र शुक्रबार बिहान आएको हावाहुरीले क्याम्प टु र थ्रीमा रहेका पाल उडाएको नाम्चेबजारबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए। क्याम्प टुमा हुरीले केही पाल उडाए पनि मानवीय क्षति भने नभएको उनको भनाइ छ। झन्डै ६ हजार दुई सय मिटरको उचाइमा रहेको क्याम्प टुमा चुचुरोमा पुग्ने बेलाका लागि आवश्यक खाद्यान्न, अक्सिजन सिलिन्डर र अन्य बन्दोबस्तीका सामान भण्डारण गरिएको हुन्छ। सामाग्री राखिएको टेन्ट उडाएकाले मानवीय क्षति हुन नपाएको सम्पर्क अधिकृत श्रेष्ठले बताए।

माथिल्ला क्याम्पमा हिउँमाथि नै टेन्टहरू राखिने हुँदा ढुंगाले थिचेर राख्ने गरिन्छ। आधार शिविरमा अहिले सगरमाथासहित लोत्से र नुप्से हिमाल चढ्न पाँच सयभन्दा बढी आरोही छन्। उनीहरूलाई सघाउने शेर्पा सरदार, आधार शिविर व्यवस्थापन गर्नेहरूलगायत अहिले झन्डै दुई हजारजना टेन्टको साहारामा आधार शिविरमै छन्।
तेन्जिङ हिलारी र फाप्लु विमानस्थल बन्द

फानीको प्रभावले हिमाली भेगमा भारी हिमपात हुने सम्भावनाको पूर्वानुमान गरिएपछि जिल्लाका अति व्यस्त तेन्जिङ हिलारी र फाप्लु विमानस्थल बन्द गरिएका छन्। राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रले आज र भोलि पूर्वी हिमाली क्षेत्रमा हेलिकोप्टर र जहाज नउडाउन अनुरोध गरेपछि विश्वकै १० जोखिममध्येको एक विमानस्थल तेन्जिङ हिलारी विमानस्थल बन्द गरिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीले बताए। मध्यान्न १२ बजेसम्म उडान गरिएको थियो। ‘आज (शुक्रबार) को उडानमध्ये करिब ६० प्रतिशत सकिएको छ,’ उनले भने, ‘भोलि (शनिबार) उडान गर्ने÷नगर्ने विषय मौसममा भर पर्ने अधिकारीले बताए।

पदयात्रा र हिमाल आरोहणमा निस्किएकालाई सुरक्षित स्थानमा बस्न पनि राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले आग्रह गरेको छ। फानी आँधीको प्रभाव पर्ने सम्भावनाकै कारण फाप्लु विमानस्थलमा आजका दुई उडान रद्द गरिएका छन्। मौसम प्रतिकूल रहे भोलि पनि विमानस्थल बन्द रहने नागरिक उड्डयन कार्यालय फाप्लुका प्रमुख प्रकाश शर्माले बताए। उडान बन्द भएपछि जिल्ला अस्पतालबाट रेफर गरिएका विरामी अन्यौलमा परेका छन्।

प्रकाशित: २१ वैशाख २०७६ ०२:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App