३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

चक्रवातको प्रभाव आजसम्म

काठमाडौं – शुक्रबारदेखि सुरु भएको चक्रवात फानीको प्रभाव शनिबारसम्म रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाले उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना नरहे पनि यसको प्रभाव नेपालको पूर्वी र मध्यभागमा शनिबारसम्म रहने जनाएको छ।महाशाखाका अनुसार चक्रवातको प्रभावबाट मौसम प्रभावित भई पूर्वी र मध्यका स्थानहरूमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना रहेको छ। यसको प्रभावबाट हिमाली भूभागमा पनि मध्यमदेखि भारी हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार चक्रवात फानी हाल बंगालको खाडीमा ओडिसाको तटीय क्षेत्रनजिकै अवस्थित छ। सो प्रणाली उत्तर–पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जानेछ। आइतबारदेखि भने देशभर मौसममा क्रमिक रूपमा सुधार आउने महाशाखाले जनाएको छ। शनिबार देशको पूर्वी भूभागमा पूर्ण बदली हुने बताइएको छ। मध्य र पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भूभागका अधिकांश स्थानमा मध्यम र पश्चिमका केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। पूर्वका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको पनि जनाइएको छ।

महाशाखाका अनुसार शनिबार उच्च हाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपात हुने सम्भावना छ। शनिबार राति देशको पूर्वी भूभागमा पूर्ण बदली, मध्य र पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। यसैगरी शनिबार राती पूर्वी भूभागलगायत मध्य तथा पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ। महाशाखाले आइतबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली हुने जनाएको छ।

प्रकाशित: २१ वैशाख २०७६ ०२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App