८ वैशाख २०८१ शनिबार
समाज

पहिल्यै घर बनाएका भूकम्पपीडित अनुदानबाट वञ्चित

खोटाङ – २०७२ सालको भूकम्पलगत्तै घर बनाएका भूकम्पपीडितले हालसम्म अनुदान पाउन नसकेको भन्दै खोटाङका जनप्रतिनिधिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आलोचना गरेका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सोमबार जिल्ला समन्वय समितिको हलमा आयोजना गरेको गुनासो तथा पुनरवलोकन कार्यविधिसम्बन्धी एकदिने अभिमुखीकरण तथा अन्तक्र्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधिले २०७२ वैशाख १२ गतेको महाभूकम्पलगत्तै घर बनाएर बसिरहेका वास्तविक भूकम्पपीडितले हालसम्म राज्यको अनुदान पाउन नसकेको बताए।

जिल्ला समन्वय समिति खोटाङका सदस्य चर्चबहादुर विश्वकर्माले भूकम्पले घर भत्किएपछि ओत लाग्ने ठाउँ अभावमा तत्कालै घर बनाएर बसिरहेका भूकम्पपीडितलाई अनुदान दिने नाममा आशामात्र देखाइएको बताए। ‘जतिखेर भूकम्पले बस्ने ठाउँ बाँकी रहेन, ओत लाग्ने ठाउँ रहेन।

त्यस्ता भूकम्पपीडितले सकीनसकी ऋणपान गरेर आफैं घर बनाए। उनीहरु वास्तविक पीडित हुन्,’ विश्वकर्माले भने, ‘त्यस्ता भूकम्पपीडितलाई अनुदान दिन्छु भनेर कति वर्ष झुलाइरहने, राज्यले कति दिनसम्म आलटाल गरिरहने ?’ भूकम्पपीडितलाई दिने भनिएको सहुलियतपूर्ण कर्जासमेत जिल्लाका बैंकले दिन अस्वीकार गरिरहेको विश्वकर्माले बताए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठनअघि विपद्का समयमा आफ्नै तरिकाले घर बनाएका भूकम्पपीडितलाई अनुदान दिने घोषणापछि हाल दैनिकजसो फोनमार्फत सोधीखोजी भइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष विकास राईले बताए। ‘भूकम्पलगत्तै कतिपय पीडित घर बनाएर बसिरहेका छन्, बनिसकेको घरको अनुदान कहिले आउँछ भनेर दैनिक फोन आइरहेको छ,’ वडाध्यक्ष राईले भने, ‘भूकम्पपीडितले सोधेको समयमा झट्ट उत्तर दिन जनप्रतिनिधिलाई अप्ठ्यारो परिरहेको छ।’ वडाध्यक्ष राईले दोस्रो किस्ता लिएका कतिपय भूकम्पपीडितले आवास निर्माणको काम नै नगरेको बताए। ‘दोस्रो किस्ता लिएर अन्य काममा रकम खर्च गरेकाले आवास निर्माणको काम अघि बढेको देखिन्न,’ राईले भने, ‘कतिपय ठाउँका भूकम्पपीडित लिएको किस्ता फिर्ता गर्ने तरखरमा पनि बसिरहेको पाइएको छ।’

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका वडाध्यक्ष ललितकुमार राईले चिनजान र पहुँचका आधारमा पुनर्निर्माण प्राधिकरणका इन्जिनियरले आवास अनुदान सिफारिसमा विभेद गरेको आरोप लगाए। कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव मुकुन्द निरौलाले भूकम्पपीडितका समस्या क्रमशः समाधान हुँदै जाने बताए।
२ हजार ३ सय ४८ लाभग्राहीलाई तेस्रो किस्ता

भूकम्प गएको चार वर्ष बित्दा खोटाङमा दुई हजारभन्दा बढी लाभग्राहीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आवास अनुदानबापतको तेस्रो किस्ता प्राप्त गरेका छन्। २०७२ साल वैशाख १२ गतेको महाभूकम्प र पराकम्पनका कारण घरविहीन बनेपछि पहिलो र दोस्रो किस्ता लिएर आवास निर्माणको काम पूरा गरेका लाभग्राहीमध्ये मापदण्ड पूरा गरेका आधारमा २ हजार ३ सय ४८ लाभग्राहीले मात्र तेस्रो किस्ता पाएका हुन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) को कार्यालय खोटाङका इन्जिनियर धर्मेन्द्रकुमार झाका अनुसार कुल लाभग्राहीमध्ये ५ हजार ३ सय २८ लाभग्राहीले दोस्रो र ८ हजार ३ सय २४ लाभग्राहीले पहिलो किस्ता बुझिसकेका छन्। भूकम्पका कुल लाभग्राही ८ हजार ४ सय ४३ मध्ये हालसम्ममा ८ हजार ३ सय ३१ लाभग्राहीले सम्झौता गरेको कार्यालयले जनाएको छ।

२०७४ साल जेठ १९ गतेदेखि पहिलो किस्ता र २०७५ वैशाख ३० गतेदेखि दोस्रो किस्ता वितरण थालेको प्राधिकरणले असोजदेखि तेस्रो किस्ता वितरण थालेको हो। ३ लाख अनुदानमध्ये डिपिसिको काम सकिएपछि दोस्रो किस्ता बुझेर घरलाई छाना हाल्ने अवस्थामा पु-याएका लाभग्राहीलाई ७५ हजार र शौचालय निर्माणपछि २५ हजारका दरले अन्तिम किस्ता दिने प्रावधान छ।  

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बेलामा पर्याप्त इन्जिनियर पठाउन नसक्दा, पठाइएका इन्जिनियर काम छाडेर हिँड्दा, प्राविधिक मूल्यांकनका क्रममा डाटा इन्ट्री गर्ने उपकरण पर्याप्त नहुँदा, जिल्ला आयोजना कार्यान्वयन एकाइ स्थापना नहुँदा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आवास निर्माणको काम प्रभावित भएको हो। भूकम्पका कारण खोटाङमा १३ हजार ७ सय ९९ घरमा क्षति पुगेको तथ्यांक छ। यस्तै एक लाख अनुदान प्राप्त हुने प्रबलीकरणतर्फका २ सय ५३ लाभग्राहीमध्ये सबैले सम्झौता गरेको र १ सय ८० लाभग्राहीले प्रथम किस्ता प्राप्त गरिसकेको इन्जिनियर झाले बताए। जिल्लामा भूकम्पसम्बन्धी ७ हजार ५ सय ७५ गुनासो दर्ता भएकामा १ सय २९ गुनासोको फस्र्योट भएको जनाइएको छ।

प्रकाशित: १७ वैशाख २०७६ ०३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App