८ वैशाख २०८१ शनिबार
समाज

‘गाउँघर क्लिनिक’ भवन उद्घाटन

सोलुखुम्बु - सोलुदुधकुण्ड नगरपालिका–२ फेरामा नेपाल मेड नेपाल गाउँघर क्लिनिकको भवन उद्घाटन गरिएको छ। नेपाल मेड, जर्मनीको करिब ४५ लाख रुपैयाँ लगानीमा निर्मित पाँचकोठे सो भवनको नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति आङगेलु शेर्पा, मेयर नाम्गेल जाङबु शेर्पा, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं र जिल्ला अस्पताल फाप्लुका इन्चार्ज डा. मिङमार छिरिङ शेर्पाले हालै एक कार्यक्रमबीच संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

कार्यक्रममा कांग्रेस नेता शेर्पाले फेरा क्षेत्रको बृहत्तर विकासका लागि धार्मिक पर्यटनमा जोड दिनुपर्ने बताए। उनले रिङमुदेखि सहस्र बेनीसम्म मोटरबाटो पु¥याएपछि दुधकुण्ड पोखरीसम्म जान सहज हुने र धार्मिक पर्यटनको द्वार खुल्ने दाबी गरे। नगरपालिकाले दुधकुण्ड लक्षित सडक योजना बनाएकाले वार्षिक लाखौं धार्मिक पर्यटकको आवागमन सम्भव रहेको बताए। सडक मार्गबाट खुम्बुक्षेत्र प्रवेश गर्ने बाटो फेरा–रिङमु–नुनथला भएकाले पनि यस क्षेत्रमा पर्यटकलाई आकर्षण गर्ने पूर्वाधार, परिकार र सांस्कारिक बानीको आवश्यकतामा नेता शेर्पाको जोड थियो।

मेयर शेर्पाले सोलुदुधकुण्ड नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा संवेदनशील बनेको बताए। ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरघरमै स्वास्थ्य परीक्षण, हरेक वडामा भिडियो एक्सरेसहितको शिविर, जिल्ला अस्पतालको स्तरोन्नतिलगायत कामलाई नगरपालिकाले प्राथमिकतामा राखेको प्रस्ट पारे। उनले एशियाली विकास बैंक (एडिबी) को सहयोगले निकट भविष्यमै ५० किलोमिटर सडक पिच हुने, विभिन्न खोलामाथि निर्माणाधीन पुल र टोलटोलमा सडकको पहुँच पु¥याउनुले नगरपालिका विकासमा अग्रपंक्तिमा रहेको दाबीसमेत गरे। मेयर शेर्पाले गाउँघर क्लिनिक सञ्चालनका लागि जनशक्ति र औषधि व्यवस्थापनमा प्रतिबद्ध रहेको बताए।

उद्घाटन कार्यक्रममा नेपाल मेड जर्मनीका बोर्ड मेम्बर डा. ब्रिगेड क्रिस, नेपाल मेड नेपालका प्रोजेक्ट म्यानेजर दावा शेर्पा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, शिक्षा शाखा प्रमुख मेघनाथ शर्मा, जिल्ला अस्पताल फाप्लुका इन्चार्ज डा. मिङमार छिरिङ शेर्पा, वडा नं १ का वडाअध्यक्ष छाङबा लामा, वडा नं ३ का वडाअध्यक्ष गोपाल मगर, नगर प्रवक्ता शारदामाया तामाङ, कार्यपालिका सदस्य गान्धिमाया तामाङलगायतको उपस्थिति रहेको थियो। क्लिनिक व्यवस्थापन समितिका अध्यक्ष सुङवा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा जग्गादाता काजी शेर्पा र काण्डी शेर्पा तथा आर्थिक सहयोगी संस्था नेपाल मेड जर्मनीलाई सम्मान गरिएको छ। गाउँघर क्लिनिकबाट दन्त सेवासमेत दिइनेछ। भवनका पाँच कोठा ओपिडी, वेयटिङ, डेन्टल, स्टाफ र किचनको रूपमा प्रयोग गरिएको छ। बिरामीलाई स्वच्छ पिउनेपानीको उपलब्ध गराउने हेतुले जर्मनी प्रविधिको एक हजार लिटरको फिल्टर समेत प्रयोगमा ल्याइएको वडा अध्यक्ष मिङमार दोर्जी शेर्पाले बताए। उक्त क्लिनिकबाट वडाको फेरा, रिङमु, चिवाङ र जबमुकका नागरिक लाभान्वित हुनेछन्।

प्रकाशित: १५ वैशाख २०७६ ०१:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App