२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

तीन वडा सम्मानित

नुवाकोट - चौथो भूकम्प स्मृति दिवसमा निजी आवास पुनर्निर्माणमा अधिकतम प्रगति हासिल गर्ने नुवाकोटका तीनवटा वडा सम्मानित भएका छन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) नुवाकोटले बिहीबार एक कार्यक्रमबीच निजी आवास पुनर्निर्माणमा उत्कृष्टता हासिल गर्ने (तेस्रो किस्ता बढी वितरण गरेको आधारमा) तीन वडालाई सम्मान गरेको हो। सम्मानित हुने वडामा म्यागङ गाउँपालिका–१ र २ तथा दुप्चेश्वर गाउँपालिका–२ रहेका छन्। भूकम्प प्रभावित लाभग्राहीको सूचीमा समेटिएकामध्ये म्यागङ गाउँपालिका–२ का ९० प्रतिशत, म्यागङ–१ का ८९ प्रतिशत र दुप्चेश्वर–२ का ८५ प्रतिशत परिवारले निजी आवास सम्पन्न गरेर तेस्रो किस्ताको रकम बुझेका छन्।

समग्र जिल्लालाई हेर्ने हो भने घर निर्माण कार्य सकेर तेस्रो किस्ता लिनेको संख्या ४४ हजार ८९ लाभग्राही रहेका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का निमित्त एकाइ प्रमुख बिकी लाखाका अनुसार ७६ हजार ५ सय ५१ लाभग्राही रहेकामा ७१ हजार ९ सय ६३ ले पहिलो किस्ता र ६४ हजार १ सय ७६ लाभग्राहीले दोस्रो किस्ता बुझेका छन्।

विनासकारी भूकम्प गएको चार वर्षसम्म पनि गाउँगाउँमा इन्जिनियर पठाएर सर्वेक्षण गर्दा नक्कली भूकम्पपीडित बढ्ने आशंका रहेको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले बताए। ‘२०७२ वैशाख १२ गतेसम्म एकै परिवारमा बसेकाहरू सरकारी अनुदानको लोभमा भिन्न भएका छन्। भिन्न भएकाहरूले गुनासो गरिरहेका छन्,’ तामाङले भने, ‘गुनासो भर्नेहरू वास्तविक पीडित हो या होइन भन्नेमा अब वडाअध्यक्षहरू चनाखो हुनुपर्छ। भोट दिएर जिताएको छ, मेरा आफन्त जस्ता ट्याग लगाएर वडाबाट सिफारिस गर्ने काम रोक्नुपर्छ। होइन भने भूकम्पपीडित थपिइरहन्छन्। निजी आवास पुनर्निर्माणको काम सकाउन गाह्रो पर्छ।’

 

प्रकाशित: १३ वैशाख २०७६ ०३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App