७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

अझै बनेन भोजपुरमा अस्पताल, भुइँमै राखेर उपचार

निर्माणाधीन भोजपुर अस्पताल ।

भोजपुर – समयमै भवन निर्माण नहुँदा भोजपुर जिल्ला अस्पतालका बिरामी सास्ती खेप्न बाध्य छन्। भुइँमै बसेर उपचार गर्नुपर्ने बाध्यता छ। बन्दै गरेको सुविधासम्पन्न भवन हेर्दै पुरानो भवनमा बिरामीको उपचार गर्नुपर्ने बाध्यता छ। बिरामीको चाप बढ्दा भुइँमा राखेर पनि उपचार गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ।

सम्झौताअनुसार एक वर्षअघि नै सकिनुपर्ने ५० शैयाको भवन निर्माणको काम अहिलेसम्म ९० प्रतिशत त सकियो तर, पूर्णत पाउने ठेगान छैन। १० करोडमा ठेक्का सम्झौता भएको भवनको जिम्मा डाँफे सिद्धबाबा सगरमाथा जेभीले लिएको थियो। तर, ठेकेदार कम्पनीको लापरवाहीले एक वर्षअघि सकिनुपर्ने भवन अझै अधुरो छ।

अस्पतालले ट्रस्ट बनाएर बिरामीको उपचार गर्दै आएको छ। सबै किसिमका बिरामीलाई एकै ठाउँमा राखिएको छ।

प्रसूतिगृह समेत छुट्टै छैन।

सबै खाले बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्नुपर्दा संक्रमण फैलिने भन्ने त्रास उत्तिकै रहेको उपचारका लागि आएकी भोजपुर ४ सिद्धेश्वरकी बिरामी कुरुवा रञ्जु पाण्डेले बताइन्। भोजपुर नगरप्रमुख कैलाशकुमार आलेले समयमै भवन निर्माण कार्य सम्पन्न गर्न र स्वास्थ्यजस्तो कुरामा खेलाँची नगर्न ठेकेदार कम्पनीलाई दबाब दिइरहेको बताएका छन्।

भूकम्प, नाकाबन्दीलगायत असर देखाएर समयमा निर्माण काय सम्पन्न गर्न नसकेको ठेकेदार कम्पनीले बताएको छ। कम्पनीले पछिल्लोपटक चैत मसान्तसम्ममा निर्माण सक्ने जनाएको थियो।

 

 

प्रकाशित: १२ वैशाख २०७६ ०९:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App