११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

काभ्रेमा पुनर्निर्माण सुस्त

भूकम्पपछि भत्केको चण्डेश्वर महादेव मन्दिरको पुनर्निर्माण नहुँदा टहरामै महादेव राखेर पूजाआजा हुँदै आएको छ। तस्बिर : मभुसुदन/नागरिक

बनेपा - २०७२ को भूकम्पले काभ्रे जिल्लामा क्षति पु¥याएका संरचनाहरुको पुनर्निर्माणमा चार वर्ष बित्दासमेत उल्लेख्य प्रगति हुन सकेको छैन। खासगरी निजी आवास, सम्पदा र विद्यालय पुनर्निर्माणमा प्रगति हुन सकेको छैन्।

भूकम्पपछिको अवधिमा टहराबाट पक्की घरमा सर्ने लाभग्राहीको संख्या ४० प्रतिशत पनि नपुगेको जिल्ला अयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली) को तथ्यांकले देखाउँछ। ‘पहिचान भएका लाभग्राही साढे ८३ हजार ३ सय ४३ जना रहेकोमा ५० हजार रुपैयाँको प्रथम किस्ता रकम अनुदान बुझ्ने लाभग्राही ७४ हजार जनामात्रै छन्। दोस्रो किस्ता बुझ्नेको संख्या ५१ हजार ६ सय ६५ मात्रै छ’, जिमालीका लेखा अधिकृत गणेशप्रसाद घिमिरेले भने।

निजी आवास पुनर्निर्माण सम्पन्न भएर अन्तिम अनुदान लिने लाभग्राही जम्मा ३२ हजार ६ सय ७३ मात्रै रहेबाट समेत भूकम्प प्रभावितले घर बनाउनमा कमै चासो राखेको बताउँदै उनले भने, ‘पछिल्लो समय किस्ता माग भई आएका निवेदनहरु छिटो फस्र्योट गर्दै कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाइरहेका छौं। त्यहाँबाट पनि लाभग्राहीको खातामा जम्म हुने गरी चेक जारी भइरहेको छ। तै पनि सोचेअनुसार पुनर्निर्माण कार्य अघि बढ्न सकेको छैन’, घिमिरेले भने। पुनर्निर्माणमा भइरहेको ढिलाइको कारण पत्ता लगाउने उद्देश्यले चाँडै नै जिमालीको आयोजनमा काभ्रेका १३ वटै स्थानीय तहमा लाभग्राहीसँग सार्वजनिक सुनुवाई गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिए।

पटक–पटकको गुनासो दर्ता गर्दासमेत पूर्ण लाभग्राहीको सूचीमा नाम ननिस्केको भन्दै पनौती–६, सुन्थान रातमाटेका पीडितले नगरपालिकामा गुनासो गरिरहेका छन्। ‘भूकम्पलगत्तैको टोलीले पूर्ण क्षति भनेर प्रमाणित गरेका ३२ घरधुरीले सुरुका १५ हजार र १० हजार रुपैयाँ राहत रकम पाए। तर, पछि इन्जिनियरको टोली जाँदा ती सबै घर छुटेका छन्। पटक–पटकको गुनासोपछि सात घरको नामा संशोधन भएर आयो। अझै २५ घरधुरी छुटेका छन्’, वडाध्यक्ष सुधीर सापकोटाले भने। यस्तै, जिल्लालाई चिनाउने सम्पदाहरुको पुनर्निर्माण पनि सुस्त गतिमा अघि बढेको छ। पाँचखाल–९ स्थित प्रसिद्ध पलाञ्चोक भगवतीको मन्दिर बल्ल निर्माण सकिए पनि त्यसमा गजूर हाल्न बाँकी छ। पुरातत्व विभागमातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले २ करोड ५२ लाख रुपैयाँँको लागतमा ठेक्कामार्फ मन्दिरको पुनर्निर्माण भइरहेको हो।

‘धेरै अगाडि बन्नुपर्ने थियो तर ढिलो भएको छ। साइत नआएर गजूर नहालिएको हो। अझै पनि मन्दिरको दक्षिण र पश्चिमतर्फका सत्तल बनेका छैनन्’, पाँचखाल–९ का वडाध्यक्ष किरण श्रेष्ठले भने। सोही स्थानमा रहेको पलाञ्चोक माताको दिदी मानिएको कालिका मन्दिर आधामात्रै पुनर्निर्माण भएको उनले भने, ‘एउटा देउता घर सम्पन्न भएको छ। सत्तलहरु बनेका छैनन्। पुरातत्व विभागबाट समयमा प्राविधिक नआइदिने र हामी जनप्रतिनिधिलाई जिम्मेवारी पनि नदिने प्रवृत्तिले सम्पदा निर्माणमा धेरै ढिलो भइरहेको हो’, श्रेष्ठले भने।

उता, चण्डेश्वर महादेव मन्दिर संरक्षण योजनाअन्तर्गत गत चैतमसान्तमै पुनर्निर्माण सम्पन्न हुनुपर्ने बनेपा–५ चण्डेश्वरीस्थित महादेव मन्दिरमा भर्खरै काठको थाम ठड््याइएको छ। ‘महादेवलाई टहरामा राखेर पूजाआजा चलाइरहेको ४ वर्ष प्ररा हुन आँट्यो। सम्पदाको पुनर्निर्माणमा सरकारी ढिलाइ त भइरहेको हो। बनेपाका स्थानीय पनि किन ढिलो हुँदैछ भनेर सम्बन्धित निकायलाई घच्घच्याउँदैनन्, अचम्म लागेको छ’, मन्दिरका पुजारी श्यामप्रसाद शिवाचार्यले भने।

पुरातत्व विभागकी इन्जिनियर प्रेमलक्ष्मी शाक्य काभ्रे जिल्लामा पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण अन्यत्रभन्दा धेरै भएको दाबी गर्छिन्। उनले भनिन्, ‘केही समस्या आएबाहेकका सम्पदाहरुको पुनर्निर्माण चाँडो भइरहेको छ। काभ्रेमा सञ्चालित पुनर्निमाणमा प्रगति ६० प्रतिशतभन्दा बढी नै छ। बजेट अभावलगायतले केही ढिलो भएको हो, अब चाँडो पुनर्निर्माण कार्य अगाडि बढ्छ।’\

भूकम्पबाट काभ्रेमा क्षतिग्रस्त भएका बौद्ध सम्पदाको पुनर्निर्माण अझै सुरु हुन सकेको छैन्। जिमालीमा समेत गुम्बाहरुको पुनर्निर्माणको अवस्थाबारेमा जानकारी दिने कोही भेटिँदैनन्, ‘एक पटक सिएलपिआइयूबाट पुनर्निर्माण गर्नुपर्ने गुम्बाहरुको लिस्ट आएको थियो। केही गुम्बाको डिजाइन पनि बनाइएको थियो। पछि गुम्बाको काम स्थानीय तहलाई जाने भनिएपछि यसबारेमा केही भएको छैन’, जिमालीका एक कर्मचारीले भने।

सुरुका अढाई वर्ष विद्यालय भवनहरुको पुनर्निर्माणमा सुस्तता आए पनि यतिखेर विद्यालयको पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ। केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) बाट दुईकोठे विद्यालय भवनहरु ६६ वटा, तीन कोठाका भवन ५१ वटा, चार कोठेभवन ५४ पटा र छ कोठे भवनहरु १० वटा र आठ कोठाको भवनहरु १२ वटा निर्माण सम्पन्न भई समुदायलाई हस्तान्तरण भएका छन्। जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) बाट एक सय ८६ विद्यालयका ३ सय २६ वटा कक्षा कोठा निर्माण सम्पन्न भई पठनपाठन सुरु भइसकेको छ।

गैैरसरकारी संस्थाहरुमार्फत काभ्रेमा तीन सय ७४ वटा कक्षा कोठा निर्र्माण भएका छन्। एकाइका इन्जिनियर गणेश मैनालीका अनुसार अब भारतीय दूतावासको सहयोगमा १० वटा र एसियाली विकास बैंकको सहयोगमा २० गरी ३० वटा धेरै कक्षा कोठा भएका ठूला विद्यालय पुनर्निर्माणका क्रममा छन्।

प्रकाशित: १२ वैशाख २०७६ ०४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App