१२ कार्तिक २०८१ सोमबार
image/svg+xml
समाज

विवाहमा भेदभाव प्रकरण संसद् प्रवेश

रूपन्देही - रूपन्देहीको शुद्धोदन गाउँपालिकामा दलित परिवारको विवाहमा समाजका अगुवाहरुले दक्षिणा दिएर भोजमा सहभागी नभएको घटनाका विषयमा प्रदेश ५ संसद्मा प्रश्न उठेको छ। मंगलबार बसेको प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै नेकपा रूपन्देहीका सांसद कमलादेवी विश्वकर्माले विवाहमा समाजकै अगुवाहरुले भोज नखाएर जातीय रूपमा भेदभाव र अपमान गरेको भन्दै सरकारको ध्यानआकर्षण गराइन्।

उनले समाजमा ‘बुढापाकाले नमान्ने गरेको’ बाहानामा भेदभाव हुने क्रम भइरहेको भन्दै संविधानविपरीत भएका यस्ता घटनामा जिम्मेबार बन्नुपर्ने बताइन्। ‘मान्छे एक छाक नखाएर बस्न सक्छ तर अपमानित भएर बस्न सक्दैन,’ उनले भनिन्, ‘शिक्षित व्यक्तिबाट हुने यसप्रकारका घटनाको निक्र्योल गर्नुपर्छ।’

उनले दलित समुदाय झन्झन् पीडित बन्दै गएकाले दलित समुदायका लागि विशेष सामाजिक अभियान चलाउन आग्रह पनि गरिन्। उनले लक्षित समुदायको बजेटलाई तोडमोड गरेको भन्दै सरकारको ध्यानार्षणसमेत गराइन्। उनले जातीय छुवाछुत र भेदभावका घटना बढ्दै गएकाले शक्तिशाली दलित आयोग बनाउन संघीय सरकारको ध्यानाकर्षणसमेत गराएकी छन्।

शुद्धोदन गाउँपालिकामा विवाह समारोहमा भेदभाव भएको समाचार नागरिक दैनिकमा प्रकाशित भएपछि जिल्लाका अधिकारकर्मीहरूले कारबाहीको माग गरेका छन्। विशेष समयमा उठाइएको विषयको जवाफ एक साताभित्र संसद्मा दिने व्यवस्था छ।
शुद्धोदन–४, फर्साटिकर हाटबजारका रामबहादुर विकको छोरी २२ वर्षीया आरती विकको विवाहमा निम्तो मान्न आएका गैरदलित समुदायका केही व्यक्तिहरू भोजमा सहभागी नभई जातीय भेदभाव गरेका थिए। पीडित परिवारले भोजमा सहभागी नहुने गैरदलित समुदायका व्यक्तिहरूबाट दक्षिणाबापत प्राप्त छ हजार तीन सय ५० रूपैयाँ वडाध्यक्ष राजेन्द्र कँडेलमार्फत फिर्ता गरेका थिए। वडा कार्यालयले दुवै पक्षलाई राखेर छलफल गर्ने तयारी भइरहेको जनाएको छ।

प्रकाशित: ११ वैशाख २०७६ ०३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App