६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पूरा भयो वंशज नागरिकता पाउने सपना

नागरिकता सपना पूरा भएपछि खुसी लहान १० का गौरव साह।

लहान - लहान नगरपालिका– १० का गौरब कुमार साह बुधबार वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन्। पाँच वर्षदेखि नागरिकता नपाएर विभिन्न अवसरबाट वञ्चित रहेका उनको सपना पुरा भएपछि उनी खुसी छन्। गौरबका बाबु देवेन्द्र साह जन्मसिद्ध नागरिक हुन। जन्मसिद्ध नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने प्रावधान पहिलो पटक गृहमन्त्रालयले फुकुवा गरेपछि गौरबको अनुहार उज्यालिएको थियो। चैत १९ गत्ते गृहको यस निर्णयपछि गौरब सम्पूर्ण प्रमाण जुटाएर २१ गत्ते इलाका प्रशासन कार्यालय लहान पुगे। सम्पूर्ण कागजी प्रमाण भएकाले उनी नागरिकता पाउनेमा ढुक्क थिए। तर, नागरिकता दिने अधिकारी विदामा बसेका कारण उनी त्यसदिन रित्तो हात फर्किनु पर्यो।

पाँच दिनपछि इलाका प्रशासन कार्यालयका प्रमुख कार्यालयमा फर्किएपछि गौरब पुनः कागज प्रमाण बोकेर अड्डा पुगे। तर, त्यसदिन सर्वोच्च अदालतको आदेशले गृहको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरीसकेको थियो। पाँच वर्षपछि नागरिकता  पाउने सपना पूरा हुने आशा त्यसै दिन सेलायो, उनले भने,‘मेरो सपना पूरा हुने निर्णय आउला कि भनेर समाचारमा ध्यान गाडेर हेर्थे।’ बैशाख ३ गत्तेको सामाचारले उनको ब्याकुलता मेटिदियो। सार्वोच्च अदालतको आदेशले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने गृहको निर्णयलाई कार्यान्वयन गर्न बाटो खोलिदिएको सामाचारले उनमा पुनः खुसी सञ्चार भयो। अबेर नगरि उनी ४ गत्ते इलाका प्रशासन कार्यालय लहानबाट नागरिकता प्राप्त गरी साथीहरुसँग खुसी बाँडे।

वर्षौदेखि नागरिकता पाउने सपना साकार भएको गौरब प्रतिनिधि पात्र मात्र हुन्। इलाका प्रशासन कार्यालय लहानका प्रमुख सोमप्रसाद भट्टराईका अनुसार बैशाख ४ गत्तेदेखि नागरिकता लिन आउनेको चाप ह्वातै बढेको छ। दैनिक ७० जनासम्म नागरिकताका लागि आउने गरेको उनले बताए। फेरी बन्द होलाकि भने शंकाले वंशजको आधारमा नागरिकता लिन आउनेको संख्या बढेको उनको भनाई छ। जिल्ला प्रशासन कार्यालय सिरहामा पनि वंशजको आधारमा नागरिकता लिन आउनेको भिंड पहिलाको तुलनामा दोब्बर बढेको छ। दैनिक करिब एक सयजना नागरिकता लिन आउने गरेको बताइएको छ।

सर्वोच्चको आदेशले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा तत्काल नागरिकता दिने गृह मन्त्रालयको निर्णय कार्यान्वयन हुने बाटो खुलेपछि मधेसमा खुसी सञ्चार भएको छ। न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले मंगलबार जन्मसिद्ध नागरिकको सन्तानलाई वंशजका आधारमा नागरिकता दिन देशभरका जिल्ला प्रशासन कार्यालयलाई गृहले गरेको पत्रचार नरोक्न निर्देशन दिएपछि नागरिकता वितरण गर्न बाटो खुलेको हो।

वंशजका आधारमा नागरिकता प्रदान गर्न गृहमन्त्रालयले चैत १९ गते देशभर परिपत्र गरेको थियो। सो निर्णयको विरुद्धमा अधिवक्ता बालकृष्ण न्यौपानेले जन्मसिद्धलाई वंशज नागरिकता प्रदान गर्नु कानुनसम्मत नभएको उल्लेख गर्दै रिट निवेदन दायर गरेका थिए। न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले चैत २५ गते गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन दिएको परिपत्र तत्काल कार्यान्वयन नगर्न अन्तिरम आदेश दिएको थियो।
अदालतले गृहमन्त्रालयलाई सो निर्णयलाई यथास्थितिमा राख्न भन्दै मंगलबार( ३ बैशाख) छलफलका लागि बोलाएको थियो। मंगलबारको सुनुवाइबाट अदालतले अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि सो परिपत्र कार्यान्वयनका लागि बाटो खुला भएको हो। फोटो क्यापसनः

प्रकाशित: ७ वैशाख २०७६ ०४:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App