८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

सुत्केरी उकास्दै ‘सुत्केरी भेट'

कोसेली लिएर सुत्केरी भेट्न पुगेका ज्यामिरेको आमा समूहका सदस्यहरू।

खोटाङ - जिल्लाको ऐंसेलुखर्क गाउँपालिका–६ ज्यामिरे माथिल्लो सल्लेकी सुत्केरी निर्मला शर्माको घरमा गाउँभरिका महिला कोसेली लिएर भेला भए। शर्मा सुत्केरी भएपछि स्थानीय सुरक्षित मातृत्व आमा समूहको अगुवाइमा गाउँका महिला भाले, घ्यू, नवजात शिशुलाई कपडा, सुत्केरीका लागि ज्वानो, चामललगायत सामग्री लिएर सुत्केरी भेटमा पुगेका हुन्। सुरक्षित मातृत्व आमा समूहले गरेको यो सुत्केरी भेट चैत १७ गतेको हो। समूहमा आबद्ध गाउँका महिला आ–आफ्नो घरबाट संकलन गरेको चामल ढोक्रोमा जम्मा गरेर सुत्केरीलाई भेट्न पुगेका थिए।

साबिकको ज्यामिरे–१ माथिल्लो सल्लेमा क्रियाशील सुरक्षित मातृत्व आमा समूहले डेढ वर्षअघि सुरु गरेको सुत्केरी भेट कार्यक्रम गाउँमा दिनानुदिन लोकप्रिय बन्दै गएको स्थानीय बताउँछन्। सुत्केरी आमाका लागि आवश्यक पोषणयुक्त खानेकुराको अभाव पूर्ति गर्दै आमा र बच्चाको स्वास्थ्यका लागि सुत्केरीलाई पोसिला खानेकुरा लिएर भेट गर्ने चलन सुरु गरिएको सुरक्षित मातृत्व आमा समूहकी सदस्य उर्मिला लम्सालले बताइन्। ‘आमा र बच्चाको पोषणको मात्रा पूरा गर्न सुत्केरी भेट कार्यक्रम सुरु गरिएको हो। गाउँमा यसको महत्व झन्–झ्न बढिरहेको छ,’ सदस्य लम्सालले भनिन्, ‘यसबाट सुत्केरीलाई आफैं पोसिलो खानेकुरा जोहो गरेर खुवाउन नसक्ने परिवार लाभान्वित भएका छन्।’

सुरक्षित मातृत्व आमा समूहले माथिल्लो सल्लेमा २०७३ सालको दसैंदेखि गाउँमा सुत्केरी भेट कार्यक्रम सुरु गरेको हो। माथिल्लो सल्लेमा हाल ३७ घर परिवारको बसोबास छ। यसबीचमा सो गाउँमा कैयौं आमा गर्भवती भए, कैयौं सुत्केरी भए। त्यी सबै गर्भवती आमालाई गाउँका महिलाले कोसेलीसहित भेट गर्दै आएका छन्। कोसेली बोकेर सुत्केरीको घरमा ताँती लागेर गएको दृश्य कुनै विवाहको जन्तीभन्दा कम देखिन्न। महिलाको समूह कोसेली बोकेर हल्लीखल्ली र हाँसखेल गर्दै भेट्न आउँदा सुत्केरी आमा र उनका परिवारमा थप उमंग जगाउने गरेको स्थानीय ललित लम्साल बताउँछन्।

सुत्केरीलाई पोषणमा उकास्न आमा समूहले आफ्नो कोषबाट बढीमा तीन हजार रुपैयाँबराबरको पोषणसम्बन्धी खानेकुरा खरिद गरेर लैजाने गरेका छन्। समूहको पैसाले एउटा भाले, एक कुरुवा घ्यू, बच्चालाई न्यानो कपडा, ज्वानो मसला खरिद गर्ने गरिएको छ। चामल भने हरेक घरबाट एक मानादेखि दुई मानाका दरले संकलन गर्ने गरिएको उर्मिलाले बताइन्। ‘हाम्रो समुहको मासिक बैठक हरेक महिनाको १० गते बस्छ। त्यसबीचमा गाउँमा कोही सुत्केरी भएका छन् भने समूहको कोषबाट तीन हजारको पोसिलो खानेकुरा खरिद गर्न खर्च गर्ने निर्णय गर्छौं,’ उनले भनिन्।

गाउँघरमा सबै परिवारको आर्थिक अवस्था समान छैन। ‘हुनेखाने’ परिवारका सुत्केरीलाई पोसिला खानेकुरा जुटाउन समस्या हुन्न। तर वर्षभरि हातमुख जोर्न धौ–धौ पर्ने परिवारका सुत्केरीलाई त्यस्ता खानेकुरा जुटाउन सहज छैन। आमा समूहको सुत्केरी भेटले आर्थिक अवस्था नाजुक भएका परिवारका सुत्केरी सबैभन्दा बढी लाभान्वित भएका छन्। सुत्केरी अवस्थामा पोषणको मात्रा नपुगे आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भएकाले माथिल्लो सल्लेमा सुत्केरी भेटको अवधारणा विकास गरिएको हो। ‘सुत्केरी भए पनि पेटभरि खान नपाउँदा कतिपय सुत्केरी महिला पीडित छन्।

खाई–नखाई बिहानदेखि बेलुकासम्म काममा धसिनु उनीहरूको बाध्यता बनेको छ,’ लम्सालले भनिन्, ‘एउटा सहयोगले सुत्केरीलाई सधैं पुग्ने कुरो त होइन तर पनि हौसला र प्रोत्साहनका लागि हामीले भेट गर्ने थिति बसाएका हौं। सुत्केरीलाई हरेक बार खाना चारको व्यवस्था गर्नुपर्छ भन्ने सन्देश दिन खोजेका हौं।’ सुत्केरी भेटलाई प्रभावकारी बनाउन समूहकी अध्यक्ष निशादेवी राई, सचिव प्रतीका राई, कोषाध्यक्ष निरुता राई, महिला स्वास्थ्य स्वयंसेविका मुगामाया राईलाई अन्य महिलाले साथ दिँदै आएका छन्।

गर्भवती र सुत्केरी जनाउन पहेंलो र हरियो झन्डा
ज्यामिरेस्थित माथिल्लो सल्लेका सुरक्षित मातृत्व आमा समूहले घरमा गर्भवती भएको वा नवजात शिशु रहेको सूचना दिन घरमा पहेंलो र हरियो झन्डा गाड्ने गरेकोे छ। घरमा ६ महिनासम्मको गर्भवती महिला रहेको जनाउन पहेंलो र सात महिनाको गर्भवतीदेखि ४२ दिनसम्मको सुत्केरी र नवजात शिशु रहेको जानकारी दिन हरियो झन्डा राख्ने गरिएको छ। गर्भ रहेको थाहा हुनेबित्तिकै गर्भवतीको सम्मानमा सो घरमा पहेंलो झन्डा राख्ने गरिएको छ। हाल गाउँमा लक्ष्मी राईको घरमा पहेंलो र निर्मला शर्माको घरमा हरियो झन्डा राखिएको छ।

प्रकाशित: ५ वैशाख २०७६ ०३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App