coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नापी कार्यालय जीर्ण, सेवा प्रवाहमा समस्या

बुटवल - जीर्ण भवन। बर्खामा पानी जम्ने कोठाहरू। भत्किएका भित्ता। झयालढोका पनि जीर्ण बनिसकेका। भवनको तीनतिर काँडे झाडी। च्यातिएको फल्स सिलिङ। बिग्रेका पुराना काठे र खिया लागेका टिनका दराज।

साँघुरा र अँध्यारा कोठा। तीनै कोठाको छेउकुनामा मुसा र सर्पका दुला। यो कुनै बेवारिसे भवन नभएर सिद्धार्थनगर नगरपालिकास्थित नापी कार्यालयको वर्षौदेखिको दुर्गति हो। सर्वसाधारणको अर्बौंको सम्पत्ति सुरक्षा दायित्व बोकेको सो सरकारी कार्यालयमा पुग्दा लाग्छ, सम्पत्ति लगत तथा जमिनका नक्सा स्टोर गरेर राख्ने कोठा नभई कवाडखाना हो। त्यही कवाडखानाजस्तो कोठामा सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकासहित रोहिणी, ओमसतियालगायत विभिन्न स्थानीय तहअन्तर्गतको करिब साढे ६ सय वर्ग किलोमिटर जमिनका पुराना दस्तावेज तथा नापनक्सा छन्।

बर्खामा पानी जम्ने साँघुरा कोठामा कपडामा पोको पारेर कागजात राखिएका छन्। विगतमा वर्षाको बेला कोठाभित्रै पानी पसेर कागजात तथा नक्सा भिज्ने गरेको स्वयं कर्मचारीहरू बताउँछन्। वर्षौ पुराना नापजाँचका नक्सा तथा कागजात भविष्यका महŒवपूर्ण दस्तावेज तथा प्रमाण हुन्। तर तिनको सुरक्षित व्यवस्थापन हुन सकेको छैन।

पुस्तैनी जमिनको पुरानो नक्सा खोज्न नापी कार्यालयमा पुग्ने सर्वसाधारण नक्सा सुरक्षित अवस्थामा नराखिएको देख्दा दुःखी हुन्छन्।
कार्यालयका कर्मचारी नेत्र पाण्डेले बर्खामा भुइँतला डुबानमा पर्दा कागजात भिज्नुका साथै सेवा प्रवाहमा समेत समस्या हुने गरेको बताए। माथिल्लो तलाका कोठामा पनि मानिस हिँड्दा थर्किन्छ। भवनको भार थेग्ने बिम पनि मक्किएका छन्। निकै जीर्ण यो भवनले अबको बर्खा धान्नै नसक्ने त्यहाँका कर्मचारीहरू बताउँछन्।

नापी कार्यालय ‘कम्प्युटराइज्ड सिस्टम’मा गएको दुई वर्षजति भयो। मुख्य नक्सा कम्प्युटरमा सुरक्षित राखिएको छ। पछिल्लो समय कित्ताकाट पनि कम्युटरबाटै गरिन्छ। तर प्रमाणका रूपमा सर्वसाधारणलाई दिइने मुख्य नक्साहरू अहिले पनि कपडामा बेरेर राख्नुपर्ने अवस्था छ। कार्यालयका प्रमुख नापी अधिकृत अजित कुँवरले नापजाँचसम्बन्धी महŒवपूर्ण कागजात सुरक्षित राख्नुपर्ने दायित्व कार्यालयको भए पनि साँघुरो भवनमा पर्याप्त कोठा र आवश्यक सामग्री नहुँदा व्यवस्थापनमा समस्या भइरहेको बताए। दुईतले पुरानो भवन यती साँगुरो छ कि सेवाग्राही पालो कुर्दा बस्ने स्थानसमेत छैन। न कोठा ठूला छन् न मैदानमा बस्ने ठाउँ। तीन कोठामा सातवटा फाँट सञ्चालनमा छन्। सेवाग्राहीहरू एकअर्कासँग ठोक्किँदै हिँडनुपर्ने अवस्था छ। गत सोमबार कार्यालय परिसरमा भेटिएका तिलोत्तमाका धर्मराज खनालले नापी कार्यालयमा उभिने ठाउँ समेत नभएको गुनासो गरे। चर्को घाममा सडककिनारमा पत्नीलाई उभ्याएर आफू लाइनमा बसेको खनालको भनाइ थियो।

दैनिक तीन सयको हाराहारीमा सेवाग्राही आउने कार्यालयमा पार्किङको सुविधा पनि छैन। कार्यालय परिसरमा मुस्किलले ८÷१० वटा मोटरसाइकल पार्किङ गर्न मिल्छ। भवनबाहिरको सडकमा पनि सवारीसाधन पार्किङ गर्ने स्थान छैन। वर्षौंदेखि मर्मतसम्भार नगरिँदा शौचालय र स्टोर रुमबाट सर्प निस्केर कार्यालय समयमा भागमभाग हुने गरेको कार्यालयका सर्वेक्षक कृष्णप्रसाद शर्माले बताए। यो कार्यालयमा पूर्वाधारसँगै दरबन्दीअनुरूपका कर्मचारीसमेत छैनन्। ३९ दरबन्दी भएको कार्यालयमा २४ जना कर्मचारी मात्र छन्। त्यसको प्रभाव सेवा प्रवाहमा परेको छ।

प्रमुख नापी अधिकृत कुँवरले विभागमा यसबारे जानकारीसहित बजेट माग गरिएको बताए। ‘यसपालि वर्षा नलाग्दै कार्यालय सार्न र भवन निर्माणका लागि आवश्यक प्रक्रिया थाल्न विभागलाई अनुरोध गरी पत्र पठाइसकेका छौं,’ उनले भने। पछिल्लो समय जमिनकै कारण गाउँसमाजमा ठूला द्वन्द्व निम्तिएका छन्। भूमाफियाको चलखेल बढ्दो छ। यस्तो अवस्थामा जमिनको मुख्य लगत राख्ने कार्यालयले नै नापनक्सा सुरक्षित नबनाउनेतर्फ बेलैमा ध्यान नदिने हो भने त्यसको मारमा आमसर्वसाधारण पर्नेछन्। रूपन्देहीमा पछिल्लो समय सुरु भएको पुनः नापीको काम जिल्लाभर यही कार्यालयले गरिरहेको छ। जसको क्षेत्रफल एक हजार तीन सय ६० वर्गकिलोमिटर छ। कित्ताकाटका लागि भने साढे ६ सय वर्ग किलोमिटर क्षेत्रफल यो कार्यालयको कार्यक्षेत्रभित्र पर्छ। बाँकी जमिनको कित्ताकाटको काम बुटवल र मझगाँवा शाखा कार्यालयले गर्दछ।

प्रकाशित: ५ वैशाख २०७६ ००:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App