७ वैशाख २०८१ शुक्रबार
समाज

संयुक्त राष्ट्रसंघमा नेपाली चेलीले भनिन् – 'हामी नरहे रोजगारको चिन्ता बेकार हो'

काठमाडौं– चैतको अन्तिम हप्ता नेपाल नयाँ वर्षको स्वागतमा व्यस्त थियो। त्यति नै बेला एक नेपाली चेली भने संयुक्त राष्ट्र संघको महासभामा विश्वभरका युवा र बालबालिकाको तर्फबाट सम्बोधन गर्दै थिइन्। 

उनी थिइन् – पाटनकी जोली अमात्य। 

यही चैत २७ र २८ गते संयुक्त राष्ट्र संघको ७३ औं महासभाले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) स्थापनाको सय वर्ष पुगेको उपलक्ष्यमा आयोजित उच्चस्तरीय बैठकमा उनले सम्बोधन गरेकी हुन्। 

उक्त बैठकको मुख्य विषय ‘कामको भविष्य’ थियो। 

उच्चस्तरीय बैठकमा उच्च तहका राजनीतिक नेता, संयुक्त राष्ट्र संघका लागि विभिन्न मुलुकका स्थायी प्रतिनिधि, संयुक्त राष्ट्र संघका विभिन्न अंगका प्रमुख, निजी क्षेत्रका प्रमुख, मजदुर संगठनहरु, युवा प्रतिनिधीहरु, प्राज्ञिक जगत र नागरिक समाजका प्रतिनिधि उपस्थित थिए।

युनाइटेड नेसन्स मेजर ग्रुप फर चिल्डर्न एन्ड युथ (युएन एमजिसिवाई)को प्रतिनिधित्व गर्दै जोलीले सम्बोधन गरेकी हुन्। युएन एमजिसिवाई संयुक्त राष्ट्र संघको महासभाले स्थापना गरेको संस्था हो। सन् १९९२ मा स्थापित यो संस्थाका सात हजार युवा नेतामध्येबाट २१ जनाले संयुक्त राष्ट्र संघमा प्रतिनिधित्व गर्छन्। ती सात हजार युवा १७० वटा देशबाट छनौट भएका हुन्छन्। 

के भनिन् जोलीले ? 

जोलीले इमेलमार्फत् आफूले आफूले सम्बोधन गरेको विषयबारे जानकारी गराएकी छन्। उनले बताए अनुसार सो उच्च स्तरीय बैठकमा उनले युवा रोजगारमा राजनीतिक व्यवस्थाले पारेको प्रभावबारे टिप्पणी गरेकी थिइन्। 

‘संसारभर सैन्य क्षेत्रमा मात्र बर्सेनि १७० खर्ब अमेरिकी डलर खर्च हुन्छ। तर व्यापक आर्थिक वृद्धि हुँदा पनि मजदुरले पाउने ज्याला भन स्थिर छ। यदि आर्थिक वृद्धिलाई यस्तै छोडिदिने हो भने अस्तित्वमै समस्या आउनेछ।’ – उनले भनेकी थिइन्। 

उनले कुल गार्हस्थ उत्पादन (जिडिपी)का आंकडाबाट पर पुगेर आम मानिसको वास्तविक जीवनस्तरमा ध्यान दिन आह्वान गरिन्। 

मानव जातिको समृद्धिका लागि अप्रजातान्त्रिक देशहरु समावेशी प्रजातन्त्रमा जानुको विकल्प छैन’ जोलीले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएअनुसार उनले भनेकी थिइन् , ‘समता र सार्वभौमिकतामा आधारित सामूहिक प्रयत्न हामीलाई आवश्यक छ।’

कामको सुन्दर भविष्यका लागि कामको वर्तमान अवस्थाको इमानदार मुल्यांकनको विकल्प नरहेको उनको जिकिर थियो।

त्यस्तै उनले विश्वव्यापी जलवायु परिवर्तनले पारेको प्रभावबारे पनि उल्लेख गरेकी थिइन्। जलवायु परिवर्तनले मानव अस्तित्व नै संकटमा पारेकोमा जोड दिँदै उनले भनेकी थिइन् –

‘जलवायु परिवर्तन रोकथामका लागि तत्काल प्रभावकारी कदम नचालेमा हामीले आइएलओको २००औं स्थापना दिवस मनाउन पाउनेछैनौं। हामी सबै रहेनौं भने रोजगारको चिन्ता गर्नु बेकार हुनेछ। 

को हुन् जोली ?

पाटनकी जोली अमात्य अहिले युएन एमजिसीवाईको सचिवालयमा कार्यरत छिन्। यसको साटो उनले संयुक्त राष्ट्र संघका महिलाहरुको अमेरिकी राष्ट्रिय समितिको निर्देशक बोर्डमा पनि काम गर्छिन्। यसअघि उनले ‘संयुक्त राष्ट्र संघको युवा सम्मेलन’को युवा अध्यक्षको भूमिका पनि पूरा गरेकी थिइन्। 

यो स्थानसम्म पुग्न जोलीले एउटा निश्चित यात्रा पूरा गरेकी छन्। 

पाटनकै सेन्ट मेरिज उच्च माध्यमिक विद्यालयबाट विज्ञान संकायमा प्लस टु सकेर सन् २०१३ मा जोली अमेरिका पुगेकी हुन्। उनी त्यहाँ संयुक्त राष्ट्र संघको युवा सम्मेलनमा सहभागी हुन पुगेकी थिइन्। त्यो पनि साथीले भनेपछि आवेदन दिएर, छनौटको लामो प्रक्रियाबाट गुज्रिएर। 

२०१३ को सम्मेलन सकिए लगत्तै उनले इन्टर्नसिपको लागि संयुक्त राष्ट्र संघमा आवेदन दिएकी थिइन्। अन्र्तर्वातामा छनौट भएपछि इन्टर्नसिप शुरु गरिन्। २०१३ र २०१४ को समर सेसनमा काम गरेपछि सम्मेलनको तौरतरिका र मर्म बुझ्ने भइन्। २०१४ मा केही प्यानल सञ्चालन गरेकी थिइन्। २०१५ मा प्रशिक्षक नै बन्न पुगिन्। 

 

 

प्रकाशित: ३ वैशाख २०७६ १२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App