जनकपुर - सोमबार तराई–मधेसमा जुडशीतल र सिरुवा पर्व मनाइएको छ। थारू समुदायमा सिरुवा र मधेसी समुदायमा जुडशीतलको नाम दिइएको यो पर्वको एउटै उद्देश्य हो– गर्मीबाट जोगिने प्रतिरक्षा। ‘जुड’ र ‘शीतल’ दुई शब्द मिलेर ‘जुडशीतल’ बनेको हो। जुडको अर्थ वरदान÷आशीर्वाद हो भने शीतलको अर्थ हो– शीतलता।
वैशाखदेखि भदौसम्म तराईमा हुने असह्य गर्मी छल्न स्थानीयले खानपानसँगै जीवनशैली फेर्छन्। तराईमा जाडोयाममा कठ्यांग्रिने चिसोले सताउँछ भने गर्मीमा छाला डढाउने तातोको सामना गर्नुपर्छ। तराईमा वैशाखबाट सुरु हुने गर्मीको प्रभाव भदौसम्म रहन्छ। यस्तो अवस्थामा शरीरको तापक्रम सन्तुलन राख्न स्थानीयले शरीलाई शीतलता प्रदान गर्ने खानेकुरा खान्छन्। सोहीअनुरूप पहिरन र जीवनशैलीमा पनि परिवर्तन ल्याउँछन्।
यस पर्वका दिन गाउँमा हरेक वृद्ध नागरिकले टोलभरि घुमेर आफूभन्दा कम उमेरका सबैलाई पानी खन्याएर आशीर्वाद दिने चलन अहिले पनि कायम छ।
जुडशीतलमा एकाबिहानै परिवारका ज्येष्ठ नागरिकले सबैको टाउकोमा पानी खन्याएर जुडाउँछन्, शीतलता प्राप्तिको कामनासहित आशीर्वाद दिन्छन्। यस्तो चलन सहरभन्दा तराईको ग्रामीण भेगमा बढी प्रचलित छ। गाउँमा हरेक वृद्ध नागरिकले टोलभरि घुमेर आफूभन्दा कम उमेरका सबैलाई पानी खन्याएर आशीर्वाद दिने चलन अहिले पनि कायम छ।
सोमबार बिहान जनकपुरको गंगासागर (गंगा आरती) घाटमा प्रदेश सांसद तथा स्वच्छता अभियन्ता रामआशिष यादवको अगुवाइमा हिलो छ्यापेर जुडशीतल मनाइयो। माटो भिजाएर बनाइएको हिलोले अनुहारमा दलेर शुभकामना आदानप्रदान गरिएको थियो। उक्त कार्यक्रममा विभिन्न दलका प्रतिनिधि, सामाजिक संघ÷संस्थाका पदाधिकारी, व्यवसायी, युवा र स्वच्छता अभियानसँगै संस्कृतिकर्मीहरूको उल्लेख्य सहभागिता थियो। धनुषाको गंगुली, रुपैठालगायत गाउँमा पनि हिलो छ्यापेर जुडशीतल मनाइएको छ। जनकपुरका विभिन्न चोकमा युवाहरूले माथि घैंटो टाँगेर समूहमा एकमाथि अर्को चढेर फुटाउने घैलाफोड खेल आयोजना गरेका थिए।
कृषिमा आधारित पर्व
तराई–मधेसमा मनाइने अधिकांश लोकपर्व कृषिमा आधारित संस्कृतिअनुसार मनाइने चलन छ। कात्तिकमा मनाइने तराईकै प्रमुख पर्व छठ पनि कृषि परम्परामै आधारित पर्व हो। कात्तिक महिनाबाट यस भेगमा चिसो सुरु हुने भएकाले छठ पर्वमा सूर्य देउताको पूजा गर्ने परम्परा छ। यतिबेला गर्मीको सुरुआत हुने वैशाखमा सूर्यको तापको असर रोक्न जुडशीतल पर्व मनाइन्छ। दुवै पर्वमा कृषि परम्परालाई प्रधानता दिइन्छ।
जुडशीतल पर्व मनाउने दिन बिहान परिवारका कनिष्ठ सदस्यलाई शीतल पानीले जुडाइसकेपछि गाई, भैंसीलगायत जनावर र बारीमा भएका रूखबिरुवासमेतलाई जुडाउने गरिन्छ। भैंसीलाई सधैं नुहाउने गरिए पनि गाई र गोरुलाई तराईमा वर्षभरिमा जुडशीतल र लक्ष्मीपूजाका दिन मात्रै नुहाइदिने चलन छ।
जुडशीतल पर्वका दिन सूर्योदयअघि नै खाना पकाइन्छ। चुलोलाई पनि जुडाउने परम्परा रहेको हँुदा बिहानै खाना पकाइसकेर चोखो र चिसो पानीले जुडाइन्छ। त्यसपछि दिनभर चुलोमा आगो बालिँदैन। साँझ पनि बिहान पकाएकै खानेकुरा खाने चलन छ। खानामा दही, करीबरी, सोइजनको तरकारी समावेश गर्नु अनिवार्य मानिन्छ। यी सबै परिकारले शरीरमा शीतलता प्रदान गर्छ। यसबाहेक तरुल, केरा, भन्टा, फर्सी, आलु, काउली, भिन्डी, पर्बल, हरियो खुर्सानीलगायत उपलब्ध हुने सबै प्रकारका हरिया तरकारीको तरुवा पकाएर खाने चलन छ। यी सबैको विशेषता कृषि परम्परासँग जोडिएको छ।
प्रकाशित: ३ वैशाख २०७६ ०२:०४ मंगलबार