२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

हुलाकी सडकमा सरकारी लापरबाही

मानमत–कलैया–मटिआर्वा हुलाकी सडकअन्तर्गत सखुईखण्डको बिचमा पहिलादेखि गाडिएको विद्युतीय पोल र तार। तस्बिर : नागरिक

बारा - सरकारी निकायबाट समयमै सडक निर्माणका लागि आवश्यक जग्गा उलब्ध नगराउँदा दुई लेनको मानमत–कलैया –मटिआर्वा हुलाकी सडकखण्डको निर्माण कार्यमा ढिला गएको छ। पूर्व–पश्चिम राजमार्गलाई मटिआर्वा भन्सारसम्म जोड्ने उद्देश्यले निर्माण सुरु गरिएको मानमट–कलैया–मटिआर्वा हुलाकी सडकका लागि अधिग्रहण गरिएको जग्गा खाली गराउन नसक्दा निर्माण कार्यमा ढिलाइ भएको हो।

साविक सडकको मध्य भागदेखि दायाँ–बायाँ १५–१५ मिटर जग्गा अधिग्रहण गरी त्यसमा रहेको भौतिक संरचना, विद्युतीय पोल र तारहरू खाली नगराउँदा सडक निर्माण कार्यमा ढिलाइ भएको निर्माण कम्पनीका अधिकारीहरूले बताएका छन्। मानमत–कलैया–मटिआर्वा सडकखण्ड काठमाडौंको आशीष र डिएस जेभी निर्माण कम्पनी मिलेर २०७३ कात्तिक ३ गते हुलाकी राजमार्ग निर्देशनालयसँग २०७६ वैशाख महिनासम्ममा निर्माण सम्पन्न गर्न सम्झौता गरेको हुलाकी राजमार्ग आयोजना कार्यालयले जनाएको छ। कार्यालयका अनुसार यो सडक २०७६ वैशाखसम्म निर्माण सम्पन्न गर्न दुई खण्डमा विभाजन गरी निर्माण कम्पनीले ४८ करोड ५८ लाखमा ठेक्का स्वीकार गरेका छन्। सडकलाई मधनी टोलदेखि नेपाल–भारत सीमासम्म पहिलो र मधनी टोलदेखि राजमार्गसम्म दोस्रो खण्डमा विभाजन गरिएको छ। २७ किलोमिटर लामो सो सडकको १८ किलोमिटरभन्दा बढी भाग कलैया उपमहानगरपालिकाभित्र पर्छ।

ठेक्का स्वीकार गरेको निर्माण कम्पनी आशीष–डिएस जेभीका प्रतिनिधि निपेन्द्र कार्कीले मानमत–कलैया–मटिआर्वा हुलाकी सडकखण्डमा पर्ने घरहरू र विद्युतीय पोलहरूलाई अहिले खाली नगरिएको कारणले सडक निर्माण कार्यमा ढिलाइ भइरहेको बताए। उनका अनुसार सडकभित्र घर र पोलहरू नपरेका स्थानमा मात्रै सडक निर्माण कार्य अघि बढाइएको छ। कार्कीले मानमत–कलैया–मटिआर्वा हुलाकी सडकखण्डमा रहेको तार र पोलहरूलाई नयाँ डिजाइनमा बन्ने सडकको दुवै छेउमा व्यवस्थित तरिकाले राख्न सम्बन्धित निकायलाई पटक–पटक आग्रह गर्दा पनि विद्युतीय तार र पोललाई व्यवस्थित गर्न ध्यान नदिएको गुनासो पनि गरे।

सडकको निर्माण सम्पन्न गर्न पाएको म्याद २०७६ वैशाखसम्म रहे पनि सडकखण्डमा पर्ने कलैया बजार क्षेत्रको चार किलोमिटर क्षेत्रको भौतिक संरचना खाली नहुँदा काम गर्न बाँकी रहेकाले निर्धारित समयमा काम सम्पन्न हुन नसक्ने कार्कीले बताए। ‘सुरुमा मानमत–कलैया–मटिआर्वा सडकखण्डलाई कुन तरिकाले निर्माण गर्ने भन्नेबारे सम्बन्धित निकायबाट डिजाइन उलब्ध गराउनमा ढिलाइ गरिएको थियो,’ कार्कीले भने, ‘डिजाइन उलब्ध गराइएपछि पनि सडक निर्माण हुने जग्गाको भौतिक संरचना खाली गराइएन।’

सडकको मध्य भागदेखि दायाँ–बायाँ १५–१५ मिटरभित्र पर्ने घर र पोलहरूलाई हटाउन अझै ढिलो गरियो भने कामलाई बिचमै छोडनुपर्ने बाध्यता हुने कार्कीले बताए। तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले २०७३ पुस अन्तिम हप्ता यस सडकखण्डको मटिआर्वामा शिलान्यास गरेका थिए। यसको निर्माणमा भएको ढिलाइले कलैया बजार क्षेत्रलाई नै कुरूप बनाएको उल्लेख गर्दै कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले सडकमा पर्ने भौतिक संरचना खाली गराउन स्थानीयलाई दिनुपर्ने मुआब्जा रकम उलब्ध गराउन, विद्युतीय पोल र तार व्यवस्थित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको बताए।

कलैया बजार क्षेत्रका स्थानीय अधिग्रहण गरिएको जग्गाको मुआब्जा भौतिक संरचना हटाउन तयार रहे पनि संघीय सरकारबाट समयमै मुआब्जा नदिइएकाले काममा ढिलाइ भइरहेको प्रमुख यादवको गुनासो छ। मानमत–कलैया–मटिआर्वा सडक निर्माणमा ढिलाइ हुनुमा निर्माण कम्पनीभन्दा पनि प्राविधिक कारण रहेको हुलाकी राजमार्ग निर्देशनालय प्रमुख अशोक तिवारीले बताए। सडकका लागि अधिग्रहण गरिएको जग्गा र त्यसमा रहेका भौतिक संरचनाका लागि स्थानीयलाई मुआब्जा दिने रकम दुई–चार दिनमै आउने भएकाले मुआब्जा वितरण गरेर बाँकी रहेको सडकको निर्माण कार्य पूरा गराउने तिवारीले बताए।

भारत सरकारको सहयोग अनुदान रकमबाट बन्ने सो हुलाकी सडकको भारतीय पक्षबाट अनुगमन र निगरानी हुने तथा नेपाली पक्षबाट सडकको ठेक्का लगाउने र समयमै काम पूरा हुने वातावरण बनाउने सर्त भारतीय र नेपालीबीच भएको सोसम्बन्धी सम्झौतामा उल्लेख छ।

प्रकाशित: २ वैशाख २०७६ ०२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App