११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

नयाँ वर्षमा प्रकृतिको ‘फूल’ उपहार!

लहान– नयाँ वर्षमा एकले अर्कोलाई शुभकामना दिनु नौलो होइन। तर, सिरहामामा भने नववर्षमा प्रकृति स्वयंले शुभकामनासँगै ‘फूल’ उपहार दिने गर्छ। 

प्रत्येक वर्ष बैशाख १ गते लहान नगरपालिकास्थित सलहेस फूलवारीमा फुल्ने माला आकृत फूललाई प्रकृतिद्वारा प्रदान गरिएको नववर्षको उपहार मान्छन्, मिथिलावासी।

सलहेस फूलवारीमा फुल्ने उक्त फूल मिथिलाका लोकनायक सलहेस गाथासँग सम्बन्धित छ। स्थानीय लोकआस्थासँग जोडिएको यस स्थानमा दशकौंदेखि फुल्दै आएको अलौकिक फूल हेर्न भव्य मेला लाग्ने गर्छ, जहाँ लाखौैं दर्शनार्थी पुग्ने गर्छन्।
लहान बजारदेखि ३ किलोमिटर पश्चिम दक्षिणमा अवस्थित सलहेस फूलवारीमा रहेको हारमको रूखमा ‘माला आकृत फूल’ हरेक वर्ष झैं यस वर्ष पनि अकर्षण बनेको छ।

यस फूलवारीको असंख्य रूखमध्ये मालिनी मन्दिर दक्षिण टाँसिएको हारमको दुईवटा रूखमा प्रत्येक नयाँ वर्ष (बैशाख १ गते) माला आकृत फूल फुल्छ। यही दिन लाग्ने फूलवारी मेला भर्न आउने दर्शनार्थीको मुख्य आकर्षण यही फूल बन्ने गर्छ। नयाँ वर्षको दिन मिथिलावासीको मन फूलवारीमा तानिन्छ। सलहेसको गाथासँग जोडिएको माला आकृति फूल ‘सुनाखरी’को विशेष प्रजाति भएको लहानका वन तथा वातावरण सम्बन्धि जानकार दिनेश यादव बताउँछन्।

मन्दिरका पूजारी नागेश्वर धामीका अनुसार नयाँ वर्षको दिन फुल्ने यो फूल राजा सलहेश र कुसमा मालिनीको ‘प्रेम प्रतिक’ हो। दशौं पुस्ताका पूजारी धामी भन्छन्, ‘सुरुवातदेखि जुन रूखमा यो फूल फुल्यो अहिलेसम्म उही रूखमा उस्तै स्वरूपमा फुल्दै आएकोे छ।’ अरू फूल मुर्झाएर तिनका पात भूँइमा झर्छन तर, यो फूलको एउटै पत्र भूँइंमा नझर्ने पूजारी धामी बताउँछन्।

फूलवारीको आकर्षण नयाँ वर्षमा मात्र फुल्ने ‘फूल’ हेर्न मिथिलाञ्चल, पूर्वी तराई र भारतको विहार राज्यसँगै देशभित्रका अन्य जिल्लाबाट समेत आउने गर्छन्। भारत विहारबाट आउनेहरूमा ‘दुसाद’ जातिको संख्या उल्लेख्य रहेको पूजारी बताउँछन्। राजा सलहेश ‘दुसाद’ जातिका कुल देवता भएकोले पूजा गर्न र मेला भर्न आउने भारतीयमा यो जातिको संख्या उल्लेख्य हुन्छ।

भारत दरभंगाबाट मेला भर्न आएका झरी पासवानले फूलवारीको पहिलो अनुभूति यसरी सुनाए। ‘वर्षौंदेखि सुन्दै आएको गाथाभन्दा यहाँको वास्तविकता हेर्न पाउँदा अलौकिक अनुभूति भयो।

यस्तो आलौकिक फूल ६० वर्षको उमेरमा पहिलो पटक देख्न पाएँ’ पासवानले भने,‘रूखकोबीचमा माला आकृत फूल, आश्चर्य!’। फूलवारीमा फूल श्रृंगार्ने ‘दौना मालिनी’ जो राजा सलहेसँंग औधी प्रेम गर्थिन्, नयाँ वर्षको दिन सहलेश राजासँग भेट्न फूलको रूपमा प्रकट हुने लोकविश्वास छ। 

नयाँ वर्षमा मात्र फुल्ने यो फूल द्वैविक शक्तिको प्रतिक हो,  धार्मिक उपज हो, वा कुनै वनस्पतिक विशेषता यसबारेमा ठोस अनुसन्धान भएको छैन। यो फूल बैशाख १ गते पूर्णरूपमा फुल्छ भने बैशाख २ गतेदेखि विस्तारै हराउँदै जान्छ।

 

प्रकाशित: १ वैशाख २०७६ ०६:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App